नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरिएको छ । डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत लागिपरेकी अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला तारिफयोग्य रहँदै आएको ‘निफ’ अध्यक्ष केपी पाठकको भनाइ छ ।
आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अयोजना हुने छ । यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।
‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ । यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने विश्वास ‘निफ’ले लिएको अध्यक्ष पाठकले जनाएका छन् ।
स्मरण रहोस्, ‘निफ’को प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन् भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकारको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया