सन्दीप लामिछाने युएई पुगे, आज नेपालले युएईसँग खेल्ने

सन्दीप लामिछाने युएई पुगे, आज नेपालले युएईसँग खेल्ने


नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न बुधबार युएई प्रस्थान गरेका छन् ।

नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । मंगलबार भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो ।

युएईमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ ।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो । नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन् ।

युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । नेपालले आफ्नो दोस्रो खेल आज युएईसँग खेल्नेछ ।