छक्कापञ्जाका दीपकराज र छड्केका अनमोलको एकअर्कालाइ शुभकामना

छक्कापञ्जाका दीपकराज र छड्केका अनमोलको एकअर्कालाइ शुभकामना


नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सधैं लफडाबाजी चलिरहेको हुन्छ, तर यसपटक आजबाट रिलिज हुन लागेको छक्कापञ्जा-४ र छड्के-२ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।

छक्कापञ्जा-४ र छडके-२ का कलाकारले एकअर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन्, जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्यमध्ये एक रहन पुगेको छ । फिल्म रिलिज हुन एक दिनअघि छक्कापञ्जाका दीपकराज गिरीले छड्केलाई शुभकामना दिए भने छड्केका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामन दिएका छन् । बिहीबार साँझ दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिएपछि धेरैले उनीहरु विश्वास र सम्मान प्रकट गरेका छन् ।

गिरी र अनमोल दुवैले दुवै फिल्मको पोस्टर पनि राखेर एक अर्कोप्रति सम्मान प्रकट गरेका छन् र दुवैले एक अर्कालाई शुभकामना पनि दिएका छन् ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्-

‘सानैदेखि मेरो यो मान्यता छ कि नेपाली फिल्मीक्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र, यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलिदेखि तपाईंहरु समक्ष प्रर्दशनमा आइरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाइ दिदीहरुको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु । हजुरहरूको साथ र आशीर्वाद नै हाम्रो लागि काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो ।
जय छड्के !
जय छक्कापन्जा !
जय नेपाल ।

त्यस्तै, दीपकराजले दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्-

अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ,
भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुँदैछ,
धेरैले किन जुधेको भनेर पनि सोधे,
यो साँढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने,
यहाँ दुवै टिमले जित्न सक्छ,
प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना
जय नेपाली चलचित्र !!