डेटिङका लागि समय छैन

डेटिङका लागि समय छैन


राम्रो अभिनय गर्ने कलाकारको रूपमा परिचय बनाएका छन् दिलीप रायमाझीले । विशेष गरेर नृत्य विधामा निपुण मानिने दिलीप रायमाझी यतिबेला सिनेमा अभिनय र निर्माण दुवै विधालाई एकसाथ अङ्गीकार गर्दै अगाडि बढिरहेका छन् । उनले निर्माण गरेको चलचित्र मिस यु यतिबेला प्रदर्शन भइरहेको छ ।
० फिल्ममा प्रशस्त अफर आउँदाआउँदै पनि किन आफैं सिनेमा निर्माणतिर लाग्नुभो ?
– कुरा त्यसो होइन । अरूको फिल्म खेल्दा भनेजस्तो भूमिका र सोचअनुरूप काम गर्ने अवसर खासै पाइँदैन । एउटा फरक किसिमको काम गरौँ भनेर नै मैले ‘मिस यु’को निर्माण गरेको हुँ ।
० अरूको फिल्म खेल्न सजिलो कि आफैं बनाउन सजिलो ?
– यसमा त आकाश-पाताल नै फरक छ । अरूको फिल्म खेल्दा सुटिङमा गएर अभिनय गरिदिए पुग्थ्यो तर आफैं फिल्म बनाउँदा भने सुटिङदेखि रिलिजसम्म दौडनुपर्ने अनि हलहरूको पनि चाकडी गर्नुपर्ने अवस्था आउँछ ।
० भनेपछि निकै दुःख पाइँदोरहेछ ?
– त्यसको त कुरै नगरौँ । दौडधुप र टेन्सन त कतिकति !
० भनेपछि रिलिजको तनावले गर्दा महिला-मित्रहरूसँगको उठबस कम हुँदै छ ?
– तनावले गर्दा आफ्नो नाम बिर्सने बेला भइसक्यो कहाँ महिला मित्रसँगको उठबस !- डेटिङका लागि समय छैन अहिले । अहिले त ‘मिस यु’को रिलिजमा दौडिरहेको छु ।
० कस्तो चलिरहेको छ त मिस यु ?
– ‘मिस यु’कै रिलिजमा अन्य थप दुई चलचित्र पनि रिलिज भए । तर, ती चलचित्रभन्दा व्यापारमा ‘मिस यु’ नै अगाडि रहेको छ ।
० हेर्नेहरूले किन हेरे होलान् मिस यु ?
– एक त दर्शकहरूले माया गरेको कलाकारले बनाएको र अर्को कुरा फरक प्रस्तुति पनि छ नि त यसमा ।
० यो फिल्मबाट पैसा कमाइएला त ?
– पैसा कमाउनभन्दा पनि दर्शकहरूको माया पाउनका लागि ‘मिस यु’ बनाइएको हो । तै पनि लगानी डुब्ने त कुरा छैन ।
० रिलिजको समयमा यसकी नायिका नम्रता श्रेष्ठसँगको लफडा के हो नि ?
– बजारमा हल्ला चलेजस्तो लफाडा होइन । कार्यव्यस्तताले गर्दा उहाँले सिनेमाको प्रचारप्रसारमा समय दिन नपाउनुभएको हो, अरू खासै होइन ।
० यत्रो टेन्सन सहँदा सिनेमा बेक्कार बनाएजस्तो लागेन ?
– सुरुमा त लाग्यो । तर, दर्शकबाट राम्रो फिल्म बनाउनुभएछ भनेर स्यावासी पाएपछि भने त्यो टेन्सन नै बिर्सियो ।
० भनेपछि सिनेमा बनाउनभन्दा अरूको सिनेमा खेल्नमा नै आनन्द होइन त ?
– अहिले त्यै देखियो ।

लफडामा मिस यु
आफ्नो सिनेमाको रिलिजको डेट नजिकिँदा कलाकारहरू दिलोज्यानले सिनेमाको प्रचारप्रसारमा लाग्छन् । यो उनीहरूको धर्म पनि हो । निकै उत्साहपूर्ण कलाकारहरूको सहभागिता भइदिँदा दर्शकहरूमा पनि त्यो सिनेमाप्रति सकारात्मक प्रभाव पर्न जान्छ । तर, एउटा सिनेमाको प्रचारप्रसारको क्रममा भने एउटी नायिकाको नाकमुख नै देखिएन । उनको यो चाला देखेपछि सबैको प्रश्नको जवाफ दिँदादिँदा निर्माता-निर्देशकहरू पनि दिक्क भए । आफूले अभिनय गरेको चलचित्रको सपोर्ट गर्नुभन्दा यस उल्टै त्यो सिनेमाविरुद्ध मुद्दा हाल्ने सोचसम्म पुगिन् ती सिनेमाकी नायिका । प्रसङ्ग हो चलचित्र मिस यु र नायिका नम्रता श्रेष्ठको ।
चलचित्र ‘मिस यु’मा राखिएको एक दृश्यप्रति आपत्ति जनाउँदै नम्रता चलचित्रसँग आबद्ध सङ्घ-संस्थाको ढोका पनि ढकढक्याउन पुगिन् । यदि ‘मिस यु’का निर्देशक सुरेशदर्पण पोखरेलले नम्रताको सो दृश्यमाथि कैंची नचलाएको भए ‘मिस यु’ अन्ततः रिलिज हुनबाट वञ्चित हुन्थ्यो । ‘नम्रताजीले हामीलाई भनेको भए हामी समझदारीका साथ काम गर्दथ्यौँ तर उहाँले घरभित्रको कुरालाई बाहिर लैजानुभयो । रिलिजको मुखमा पुगेको सिनेमाविरुद्ध बोल्दा सिनेमालाई असर पर्ने कुरा उहाँले बुफ्नुभएन,’निर्देशकको गुनासो छ ।
आफ्नो युनिटले नम्रतालाई ठूलो जोखिम उठाएर ‘मिस यु’मा नायिका बनाएको कुरा बताउँछन् यो सिनेमाका निर्देशक सुरेश । यता सुरेशले ‘मिस यु’ बनाउनुभन्दा अगाडि यति दुःख पाइन्छ भन्ने कुरा बुझेको भए यो सिनेमा नै बनाइँदैनथ्यो भनेर ‘फेसबुक’मा लेखेपछि साँच्चै उनले कलाकर्मीबाट असहयोग पाएको कुरा छर्लङ्ग भएको थियो । भिडियो सार्वजनिक भएपछि ग्ल्यामर क्षेत्रबाट हराएकी नम्रता ‘मिस यु’बाट पर्दामा पुनरागमन भएकी थिइन् भने चलचित्रकर्मीहरू नम्रताले राम्रो अवसर गुमाएको कुरा बताउन थालेका छन् ।
चलचित्र ‘मिस यु’मा नम्रताले काम पनि राम्रो नै गरेकी छिन् तर सिनेमाबाहिरको उनको व्यवहार पाको कलाकारको जस्तो ‘सुझबुझ’ नहुँदा उनलाई अन्य चलचित्रमा अफर गर्न तयार भएका सिनेमावाला पनि झस्किन थालेका छन् । ‘भोलि सिनेमाको रिलिजको अवसरमा नम्रताले यो सिन काट वा यो सिन राख भनेर निर्देशन दिइन् भने बेक्कार लफडामा परिन्छ,’ यसै भन्छन् अन्य सिनेकर्मीहरू आजभोलि ।
उता चलचित्र ‘मिस यु’बाटै डेब्यु गरेका नवनायक वरुण राणा पनि ‘झुरै’ भएर देखापरे । आफूले अभिनय गरेको पहिलो चलचित्र रिलिज हुँदा पनि उनको उपस्थिति गुमनाम छ । ‘मिस यु’का लागि वरुण चाहिएको हो वरुणका लागि ‘मिस यु’ होइन भन्ने जस्ता व्यवहार उनबाट देखेपछि रहरेहरूलाई सिनेमामा अवसर दिन नहुने आभाष यतिबेला सिनेमाकर्मीलाई हुन थालेको छ । बरु वरुणको ठाउँमा अर्का कलाकारलाई राखेको भए एउटा नयाँ नायकले नेपाली सिनेमामा प्रवेश पाउने थियो भन्ने कुरा उनीहरूले बताउन थालेका छन् ।

साडीपसलमा समेत सिनेमाका कुरा
के तपाईं कुनै कार्यक्रम वा समारोहको आयोजना गर्दै हुनुहुन्छ ? हुनुहुन्छ र, यदि तपाईंलाई सो समारोहको प्रचारप्रसार राम्रै होस् भन्ने लाग्छ भने कुनै चर्चित सेलिबे्रटीको आवश्यकता पनि पर्ने नै भयो । उसो भए अब तपाईंले सेलिबे्रटीलाई आफ्नो कार्यक्रमको अतिथि बनाउनका लागि धेरै चहार्नुपर्दैन । किनकि तपाईंले जति नै समय जहाँ र जहिले भने पनि दिन अभिनेता भुवन केसी तयार छन् । अरूको सिनेमामा काम गर्दा सुटिङका लागि ढिला जाने भुवन केसी आजभोलि अतिथि बनेर जस्तोसुकै कार्यक्रममा जान पनि तयार देखिन्छन् किनकि फागुन १९ गतेदेखि रिलिज हुन लागेको आफ्नो चलचित्र ‘साथी म तिम्रो’को प्रचारप्रसार हुने विश्वास उनमा छ । यस्ता समारोहमा पुग्दा कार्यक्रम र आफ्नो सिनेमाबीच तालमेल नमिले तापनि भुवन ‘साथी म तिम्रो’को बारेमा बोलि हाल्छन् ।
उनलाई अतिथि बनाएर कार्यक्रम प्रचार गर्ने हो भने फागुन १९ गतेभित्र सर्म्पर्क गरिहाल्नुपर्द किनकि फागुन १९ पछि उनी फेरि भेटिँदैनन्, किनकि त्यसपछि उनको सिनेमा रिलिज हुन्छ । ‘यो मामिलामा भुवन निकै बाठा मानिन्छन् । आफ्नो सिनेमाबारे एक शब्द बोल्न पाइन्छ भने उनी जे पनि तयार हुन्छन् । यो उनको पुरानै विशेषता हो,’ चलचित्रकर्मीहरूको यस्तै भनाइ छ । अहिले भुवन सिनेमाको मात्र होइन साडी पसलको उद्घाटन पनि गर्न पुग्छन् । यस्तै गरे शनिबार उनले । काठमाडौंको बागबजारमा रहेको कुर्ता तथा साडीहरूको बृहत पसल सिटी स्क्वायरको उद्घाटन गरे उनले । शनिबार मात्र उनले थप अर्को कार्यक्रम पनि भ्याए भने शुक्रबार उनी बुटवलमा एक कार्यक्रममा सहभागी भएर फर्किएका थिए । यतिबेला भ्याइनभ्याइएको अवस्थामा रहेका भुवनलाई सोधियो । सबै काम गर्ने ? उनले जवाफ दिए- केही समय त आएको बात छैन । के गर्ने साथी म तिम्रोका लागि त केही गर्नुपर्‍यो नि ।