‘मृत्यु भोज’

‘मृत्यु भोज’


✍ पुरुषोत्तम ढकाल

दुनियाँ के चाहन्छ
हेक्कै रहेन
मेरो समयमा
दुनियादारी
र, तावेदारी
ल्याकत नै भएन
भन्न सक्छु निर्धक्क-
मनलाई सोध्ने मेरो आदत
र अन्तर्मनले डोऱ्याउने मेरो पाइला
जहाँ-जहाँ पुग्यो
झरनाको सँगीत जस्तै
सुन्थेँ त्यतै कतै
कालो पहाडको कर–कर ताना
तर छङ-छङ सर्केर म
त्यो ठाडो उकालोपछि
त्यही पहाडको शिखर चुम्थेँ ।

अचेल
अवचेतन मेरो मनले
मलाई सोधिरहन्छ
म ढिलो छु
वा समय छिटो
यो शहरको भिडमा
वा छेवैको समुन्द्रमा
मछुवारा र मैले देखेको माछाजस्तै
लुकाछिपी चियाउने यो जिन्दगी
पलभरमै डुबाइदिन्छ
र ज्ञांत नभएको
तर ज्ञान भएको जिज्ञासाले
हल्ला नगरी
सुटुक्क भन्छ
डुब न जिन्दगी
त्यो समुद्रको गहिरो गहिरो छालभित्र ।

म चाहन्नँ
चित्कार र दुत्कारलाई
सँगीत भरेर गाएको सायरी
दुःखीहरूले सुनेर बजाएको ताली
वाह, वाह… !
सँगै सजिएको मञ्च
मुस्कुराएर
मग्न मस्त
नायक बन्नुको
एउटा अर्को नाटक ।

म कल्पिन्नँ
शिर छेदन गर्नेहरू
रक्ताम्य मर्नेहरू
र तिनका जिजीविषा
राजनीति घोलेर
खुसीको सपना बाँड्दै
एक हुल जङ्गली जनावर जस्तै
रंगहीन तर मिसाइएको
हिंसा र चाप्लुसी
प्रतिहिंसा र घृणा
दुत्कार र दुराचार
दण्डहीनता र चाकडी
लखनौ लुट र नीतिहीनताको
सभ्यताले आर्जित
शिर कटुवा कसाइहरूको
नायकत्वमा चलेको मेरो देश जस्तो ।

म दाबी पनि गर्दिनँ
त्यो दिन र यो दिन पनि
तुलना पनि गर्दिनँ
हाम्रा लागि पनि थियो भनेर
मलाई हेक्का छ
शिर काटिएको निर्दोष मित्र
मर्नुको नियति
उसले भनेको हुनुपर्छ अन्तिम वाक्य
मेरो छिमेकीलाई प्यास लाग्यो
पानी देउ
न्यास्रो लाग्यो
सखा र सन्तानसँग अन्तिम भेट देउ
मलाइ तृप्त हुनेगरी भात देउ
मेरो मृत्युको यो घडीमा
बिन्ती छ, मेरो परिवारको भोक भर्ने
मेरो कलम र पाखुरीले
कसौँडी भरिने भोज कमाउन देउ
रक्ताम्य यो मृत्यु स्वीकार छ
म नाजवाफ र आजित
अचेल अर्कै दुनियाँमा छु ।

उसको भागमा
सहज मृत्यु थिएन
पानी पानी भन्दै मर्ने विष खोज्यो
सायद शिर छेदनपछि
बगेको गर्दनको रक्तधारा
दर्दनाक थियो, छ र रहिरहनेछ
जहाँ जन्मे म, सायद, हो भने त्यो मेरो देश ।

म चिच्याउन चाहन्न
गाली पनि गर्न सक्तिनँ
वस ! मृत्युको भयानक सामुन्ने
मर्दै गरेको मेरो मित्रको
मधुर आवाजसहितको शुभ आशीर्वाद
अन्तिम हेराइपछि
मुस्कुराएको त्यो दृश्य
जरुरी छैन भनिरहन
मैले भेट्टाएको
अनमोल खजाना
जिन्दगी जिउन
अनवरत
अन्तर्मनले सुनेर
प्रेमिल मुस्कुराउ ।।

  • हाल : अमेरिका