‘जन्मभूमिको सम्मान र हिन्दु धर्मको रक्षा परम कर्तव्य’ : स्वामी कमलनयनाचार्य

‘जन्मभूमिको सम्मान र हिन्दु धर्मको रक्षा परम कर्तव्य’ : स्वामी कमलनयनाचार्य


  • आरपी उपाध्याय, लुम्बिनी

मुक्तिनाथ पिठाधीश स्वामी कमलनयनाचार्यले पुण्यको प्रभावबाट मानव जीवन पाइएकोमा प्राप्त मानव जीवनलाई सार्थक बनाउन थप पुण्य कार्य गर्नुपर्ने बताउनुभएको छ । पिठाधीश नयनाचार्यले जलसम्पदा संस्कृतिको जीवन भएकोले जलसम्पदालाई बचाउने अभियानमा सबैको सक्रिय सहभागिताको लागि अपिल गर्नुभयो । उहाँले योग अभ्यासको माध्यमबाट मानव जीवनलाइ सुस्वास्थ्य र आरोग्यता बनाउन सकिने धारणा पनि राख्नुभयो ।

पतन्जली योग समिति लुम्बिनी प्रदेश ओम जप ध्यान समितिको आयोजनामा विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष धाममा कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी नयनाचार्यले जो जहाँ रहे वा यात्रा गरेपनि जननी जन्मभूमिलाई सम्मान गर्दै हिन्दु धर्मको रक्षा गर्नु सबैको परम कर्तव्य रहने जिकिर गर्नुभयो । उहाँले आगामी दिनमा जलसम्पदाको रक्षाको लागि बाग्लुङको पन्चकोटमा अनन्त श्री ब्रह्माण्डिय महायज्ञ गरिने जानकारी पनि दिनुभयो ।

लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौं, बाग्लुङ, दाङ, रुपन्देहीलगायत जिल्लाबाट सयको सङ्ख्यामा सहभागीहरुको उपस्थिति रहेको थियो । तीन दिवसीय शिविरमा मानव जीवनमा योग अभ्यासको महत्व र हिन्दु धर्मको रक्षाको लागि ओमकार परिवारले गर्नुपर्ने जिम्मेवारी र कर्तव्यबारे जानकारी गराइएको थियो।

पुर्वी नवलपरासीको त्रिवेणीस्थित गजेन्द्र मोक्ष धाममा रहेको गजेन्द्र मोक्ष नारायण भगवानको मन्दिर, राधाकृष्णको मुर्तिजडित सिसमहल, विशाल काय घण्टा र गौवंशको रक्षाको लागि २०५८ सालदेखि सन्चालनमा आएको गजेन्द्र मोक्ष कामधेनु गौशालाको पनि योग शिविरमा आएका सहभागीहरुले अवलोकन गरेको पतन्जली योग समिति कपिलवस्तुका प्रभारी कृष्ण मुरारीले जानकारी दिनुभयो ।

नेपाल अधिराज्यअन्तर्गत रहेका विभिन्न मठ मन्दिर, तीर्थस्थलहरु मापदण्डविपरीत सन्चालन भइरहेको अवस्थामा मापदण्डसहितका तीर्थस्थलको रूपमा विकास र विस्तार गर्न सके हिन्दु धर्मको रक्षा र सम्मुन्नत समाजको निर्माण गर्ने अभियानले मुर्त रुप पाउने कुरामा दुई मत नरहने भ्रमण टोलीले अपेक्षा गरेको छ । कार्यक्रममा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्य लगायत आश्रमका विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।