सरकारसँग एउटा आग्रह- ‘ध्यान दिवस’ घोषणा गरौँ

सरकारसँग एउटा आग्रह- ‘ध्यान दिवस’ घोषणा गरौँ


गौतम बुद्ध र ध्यानको महत्व

कृष्णले महाभारत युद्धमा अर्जुनलाई कर्म र प्रारब्धको विषयमा बताउँदै भन्नुभएको छ- हामीले गर्ने राम्रो/नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कामको फल नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । अघि या पछिको कुरा हो, तर मानिसले प्रारम्ब्ध भोग्नैपर्छ ।
✍ बबिता बस्नेत

यो संसारमा सबैभन्दा प्रभावी मानव को हो भनेर कसैले सोध्यो भने यो पङ्क्तिकारको जवाफ हुन्छ- सिद्धार्थ गौतम, जो आफ्नै प्रयासले बुद्ध बन्नुभयो । गौतम बुद्धको बारेमा गहिरिएर नबुझ्दासम्म उक्त प्रश्नको जवाफ अरु नै दिइयो । कसैको साहसले प्रभाव पाऱ्यो, कसैको बौद्धिकताले त कसैको इमान्दारीले ! तर गौतम बुद्ध यस्ता महान् ब्यक्तित्व हुनुहुन्छ जो मानवबाट ‘महामानव’ या असल आत्मा भएकाले महात्मा बन्नुभन्दा धेरै माथि भगवानको रूपमा पुजिन थालिनुभयो । स्वामी आनन्द अरुणले बुद्धजयन्तीलाई ध्यान दिवसको रूपमा मनाउनुपर्छ भन्दै आउनुभएको छ । हो, ध्यानमार्फत नै बुद्धको सम्झना गर्नुपर्छ । ध्यान नै बुद्धले छोडेर गएको सबैभन्दा वैज्ञानिक ‘जीवन-बुटी’ हो, जसले मानिसलाई आत्मैदेखि स्वतन्त्र बनाउँछ । ध्यानले मानिसलाई हेर्ने दृष्टिकोणलाई समान बनाउँछ जसले गर्दा को आफ्नो को पराइ, बिना कित्ताकाट मुलुकमा नागरिक मात्र देखिन्छन् । सबै जनताप्रति समभाव राखी समान ब्यवहार गर्ने नेतृत्व मुलुकलाई चाहिएको छ । ध्यानले मानिसलाई सकारात्मक बनाउँछ, जसको प्रत्यक्ष सम्बन्ध शारीरिक र मानसिक स्वास्थ्यसँग छ । सर्वसाधारण जीवन बाँचिरहेकाहरूदेखि राज्य संरचनाको महत्वपूर्ण भूमिकामा रहेकाहरूसम्मले तनावरहित जीवन बाँच्न र इमान्दारीपूर्वक काम गर्नका लागि ध्यानलाई जीवनको हिस्सा बनाउनु जरुरी छ ।

गौतम बुद्ध यस्तो अनुसन्धानकर्ता हुनुहुन्छ जसले आफूभित्रको संसारलाई पत्ता लगाउनुभयो । कठिनभन्दा कठिन समय गुजारेर गौतम बुद्धले जीवनको सत्य पत्ता लगाउनुभएको हो, जसलाई बुद्धको आर्य सत्य पनि भनिन्छ । जीवनमा दुःख छ, दुःखको कारण छ, निराकरणका उपायहरू छन् । जिन्दगीमा सुख र दुःख आफैभित्र छ, राम्रो/नराम्रो आफैमा निहीत छ । बुद्धत्व प्राप्तिपछि बुद्धलाई जस-जसले ‘तिमी को हौ ?’ भनेर सोधे, जवाफमा एउटै कुरा भन्नुभयो- ‘म कोही पनि होइन !’ जब मानिस आफू सबै थोकको अवस्थामा पुग्छ अनि उसले भन्छ, म कोही होइन, केही होइन । ध्यानले मानिसलाई हेर्ने दृष्टिकोणलाई समान बनाउँछ जसले गर्दा को आफ्नो को पराई, बिना कित्ताकाट मुलुकमा नागरिक मात्र देखिन्छन् । सबै जनताप्रति समभाव राखी समान ब्यवहार गर्ने नेतृत्व मुलुकलाई चाहिएको छ ।

बुद्धको सन्देश मध्येको एक विनम्रता हो । अहम्ले मानिसलाई मान्छे बन्न दिँदैन । हामी प्रायः आफूले आफैलाई ‘म यस्तो’बाट सुरु गर्छौं । को कस्तो भन्ने कुरा मानिसको बोली, ब्यवहार र विनम्रताबाट थाहा हुन्छ, म यस्तो भनेर आफ्नो बारेमा जानकारी दिइरहनै पर्दैन । पहिला-पहिला मानिसलाई चिन्नका लागि भेट्नैपर्थ्यो । भेटेर उसँग कुराकानी गर्नु पर्थ्यो । तर, अहिले सोसियल मिडियाले सहज बनाइदिएको छ । कसले के कुरा लेख्छ ? कस्ता सन्देश र तस्बिरहरू पोष्ट गर्छ, कस्तो प्रतिक्रिया दिन्छ, त्यसबाट सम्बन्धित मान्छे कस्तो होला भनेर मोटामोटी अन्दाज गर्न सकिन्छ । सम्पूर्ण रूपमा चिन्न त मानिसलाई गाह्रै हुन्छ । यो यस्तो हो भनेर किटानका साथ एउटै परिभाषामा बाँध्न नसक्ने संसारमा कुनै प्राणी छ भने त्यो मानिस नै हो । वर्षौैं सङ्गत गरेको मानिस पनि एकाएक आफूले सोचेभन्दा फरक भइदिन सक्छ । त्यसैले मानिसका बारेमा यसै हो भन्नै सकिन्न । त्यही भएर सायद बुद्धले भन्नुभएको हुन सक्छ- तिमी अरुलाई चिन्न सक्दैनौ, आफैलाई चिन ।

बुद्धत्व प्राप्तिपछि बुद्धलाई जस-जसले ‘तिमी को हौ ?’ भनेर सोधे, जवाफमा एउटै कुरा भन्नुभयो- ‘म कोही पनि होइन !’ जब मानिस आफू सबै थोकको अवस्थामा पुग्छ अनि उसले भन्छ, म कोही होइन, केही होइन ।

ओशोले भन्नुभएको छ- ‘बुद्धले भन्दा बढी र बुद्धले भन्दा कम बोल्ने यो संसारमा अहिलेसम्म कोही छैन । जहाँ बोल्नु पर्दैनथ्यो त्यहाँ उहाँ बोल्नुभएन, जहाँ बोल्नुपथ्र्यो त्यहाँ बोल्नुभयो ।’ वर्षौंवर्ष मौन रहनुभएका बुद्धले जे-जति बोल्नुभयो ती सबै उपयोगी र ब्यवहारिक ज्ञान बन्न पुग्यो । उहाँले ब्यक्त गर्नुभएका हरेक शब्द मननयोग्य छन् । हामी वर्षौंदेखि बोलेका बोल्यै छौँ, मानिसले सम्झनलायक शब्द, वाक्यहरू भेटिँदैनन् । कतिलाई बुद्धप्रति गलत बुझाइ पनि छ । बुद्ध बन्नु भनेको जीवनप्रतिको विरक्ति होइन, जीवनको गहिराइलाई बुझ्न सक्नु हो । बुद्धको जिन्दगीप्रतिको खोजसँगै मानव जीवनको नयाँ अध्याय सुरु भएको हो भन्ने छ ।

बुद्धले कर्मसँगै सोचलाई पनि त्यत्तिकै महत्व दिनुभएको छ । जुन कुरा कृष्णले गीतामा पहिल्यै भन्नुभएको थियो । कृष्णले महाभारत युद्धमा अर्जुनलाई कर्म र प्रारब्धको विषयमा बताउँदै भन्नुभएको छ- हामीले गर्ने राम्रो/नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कामको फल नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । अघि या पछिको कुरा हो, तर मानिसले प्रारम्ब्ध भोग्नैपर्छ ।

यता बुद्धले तिमीले कस्तो सोच्छौ त्यसले तिम्रो कर्ममा प्रभाव पार्छ भन्नुभएको छ । तिम्रो कर्म नै हो जसले तिमीलाई सुखी या दुःखी बनाउँछ । त्यो कर्म बोलेर, सोचेर, गरेर जे पनि हुन सक्छ । कसैलाई नराम्रो गर्नुपहिला नराम्रो सोच्नुपऱ्यो । नकरात्मक सोचको असर शरीर र मष्तिष्कमा पर्छ जसले मानिसलाई विषाक्त बनाउँछ । जुन कुरा कृष्णले भन्नुभएको प्रारब्ध अर्थात् परिणाम हो । कर्म र प्रारब्धको सवालमा कृष्ण र बुद्धको कुरा जस्ताको तस्तै मिल्न गएको छ । बुद्धले मनलाई शान्त राख्न भन्नुभएको छ । मनको अवस्था अशान्त भएका बेला कुनै पनि कुरा बोल्न हुँदैन, कुनै निर्णय गर्न हुँदैन भन्ने उहाँको सन्देश छ । तर हामीले बुद्ध नेपालमा जन्मिनुभएको भनी गर्व गरे पनि उहाँका सन्देशलाई आफ्नो जीवनमा लागु भने गर्न सकिरहेका छैनौँ ।

बुद्धले भन्नुभएको छ- तिमी कस्तो काम गर्छौ त्यो तिम्रो हातमा छ । परिस्थितिलाई कता मोड्ने तिमीमै निहीत हुन्छ । जीवनका बारेमा मैले भनेको पनि विश्वास नगर, अनुभवले विश्वस्त होउ, अभ्यास गर, आफूभित्रको संसारलाई हेर । आत्मसात गर कि मृत्यु परम सत्य हो । सिद्धार्थ गौतमदेखि गौतम बुद्धसम्मको यात्रा त्यति सहज थिएन, तर उहाँले गर्नुभयो । उहाँले जिन्दगीभर लगाएर गरेको खोज, अनुसन्धान, अभ्यासबाट निस्किएको निष्कर्ष या भनौँ बनिबनाउ ‘रेसिपी’ दिँदा पनि हामीले महत्व दिएका छैनौँ । जतिले दिएका छौँ, तिनको जिन्दगी फरक भएको छ ।

ओशोले भन्नुभएको छ- ‘बुद्धले भन्दा बढी र बुद्धले भन्दा कम बोल्ने यो संसारमा अहिलेसम्म कोही छैन । जहाँ बोल्नु पर्दैनथ्यो त्यहाँ उहाँ बोल्नुभएन, जहाँ बोल्नुपर्थ्यो त्यहाँ बोल्नुभयो ।’

बुद्धले जीवनका बारेमा अनेक कोणबाट अभ्यास गर्नुभयो, शरीरमा हाडछाला मात्रै बाँकी रहने गरी महिनौँ भोकै बस्नुभयो । ज्ञानप्रप्तिका लागि एउटा स्कुलबाट अर्को स्कुल (तात्कालिन गुरुकुल) गर्नुभयो । नदीका किनारमा बस्नुभयो, तराई, पहाडमा हिँड्नुभयो । लुम्बिनीमा जन्मनुभएका उहाँले पूर्णिमाको रात बोधगयामा पिपलको रुखमुनि चन्द्रमाको उज्यालोलाई थप झलमल्ल पार्दै बुद्धत्व प्राप्त गर्नुभयो । अब के होला ? उहाँले कहिले आँखा खोल्नुहोला, आँखा खोलेर पहिलो वाक्य के बोल्नुहोला ? के ज्ञान छर्नुहोला ? भनी पर्खिएर बसेका उहाँका चेलाहरू त्यतिबेला छक्क परे जब उहाँले आँखा खोलेपछि भन्नुभयो, ‘अब खाना खाने, खाना बनाउ ।’ त्यतिबेला चेलाहरू ‘के-के नै होला भनेको त खानेकुरा ?’ भनेर निराश भएका थिए रे ! अहिले स्वस्थ जीवनका लागि खानपान नै मुख्य कुरा हो भन्ने निष्कर्ष जताबाट पनि निस्किएको छ । खानपानमा अनियमितता र गलत खानेकुराका कारण अनेक रोगहरू निम्तिएका छन् । खाना प्राणीको जीवनमा सबै भन्दा महत्वपूर्ण कुरा हो ।

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी घुमेर या बुद्ध नेपालमा जन्मेका हुन् भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । बुद्धको बारेमा कुरा मात्र गरेर बुद्धको बाटो अवलम्बन गरेको मानिँदैन । बुद्धले सिकाएको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्न सक्यौँ भने मात्र बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै हिँड्नुको सार्थकता रहन्छ । ध्यानले मानिसलाई लोभ, मोह लगायतका झिना-मसिना कुरालाई आफूबाट पन्छाउन मद्दत गर्छ । अन्ततः मानिसले चाहने भनेको मुक्ति हो, ध्यानले यस्ता कुराबाट मानिसलाई ज्युँदै हुँदा मुक्ति दिलाउँछ । मुक्तिका लागि मृत्यु पर्खिरहनु पर्दैन । बुद्धबाट सिक्नुपर्ने कुरा भनेकै शान्तिपूर्ण खुशी जीवन बाँच्ने कला हो । जुन कुराको पछाडि दौडिँदादौडिँदै मानिसले यो संसार छोडेर जान्छ ।

हामीकहाँ छुट्टीसहितका धेरै दिवसहरू छन । आ-आफ्नो क्षेत्रमा तिनको महत्व छ, अब अर्को एउटा दिवस थपौँ… ध्यान दिवस ! बैशाख पूर्णिमाका दिन बुद्धजयन्ती हामीले मनाउँदै आएका छौँ । भगवान गौतम बुद्धसँगै उहाँले हामीलाई छोडेर जानुभएको ‘जीवन बुटी’ ध्यानलाई सर्वब्यापी गर्नका लागि राज्यस्तरबाटै ध्यान दिवसको घोषणा गर्नु आवश्यक छ । अहिले विश्वका विभिन्न मुलुकमा ध्यान दिवस (मेडिटेशन डे) को कुरा भइरहेको छ, अरु कुरा गर्दै गरुन् हामी कामै गरौँ ।