राजश्व अनुसन्धानले सताएपछि न्युरोडका व्यवसायी छटपटीमा

राजश्व अनुसन्धानले सताएपछि न्युरोडका व्यवसायी छटपटीमा


वीरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरूलाई राजश्व अनुसन्धान विभागले दुःख दिएको गुनासो व्यवसायीले गरेका छन् । वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकनअनुसार नै भन्सार तिरेपनि मुल्याङकन नदिने, वीरगञ्जको भन्सारले सिल गरेर पठाएपनि काठमाडौंमा प्रज्ञापन हेरेर मान्यता नदिने गरेको उनीहरूको दुःखेसो छ । व्यवसायीहरूको अहिले करिव २५ ट्रक सामान राजस्व अनुसन्धान विभाग हरिहरभवनमा थन्किएर बसेको बुझिएको छ ।

वीरगञ्जको भन्सार कार्यालयले मान्यता दिएपछि काठमाडौंमा राजस्व अनुसन्धान विभागले मान्यता नदिनु अनौठो भएको उनीहरूको भनाइ छ । भन्सार विभागको नयाँ महानिर्देशक नारायणप्रसाद सापकोटा आएसँगै आफूहरूले अनावश्यक दुःख पाएको र यसअघि सो खालको समस्या नदिइएको न्युरोडमा होलसेल पसल चलाउँदै आएका राजेश कुमारले बताए । उनले भने- ‘सुनौली नाकाबाट भन्सार नतिरी दुई नम्बरी हिसाबले मालसमान ल्याउनेहरूलाई बेवास्ता गरिएको छ, तर हामीहरू वीरगञ्जबाट भन्सार तिरेर काम गरिरहेकाहरूलाई राजश्व अनुसन्धान विभागले दुःख दिइरहेको छ । दुई महिनाको बीचमा हामीहरू सबैलाई जबर्जस्ती पेनाल्टी लगाएको छ ।’

राजस्व अनुसान्धान विभागको कारण आफूहरूको व्यवसाय नै ठप्प हुने अवस्था आएको र काम गर्ने जोश-जाँगर हराएको उनले बताए । यो समस्याबाट सयौँको सङ्ख्यामा व्यवसायीहरू पीडित बनेको उनको जिकिर छ । व्यवसायीले अब आफूहरूसँग पसल बन्द गर्ने वा आन्दोलनमा जानेमध्ये एक विकल्प मात्र बाँकी रहेको चेतावनी दिएका छन् । आफुहरूले सरकारी दरको मुल्यांकनअनुसार नै कुर्था, सारीलगायत कपडाहरुको भन्सार तिरेर काठमाडौ ल्याएपनि कम मुल्याङ्कन भयो भन्दै राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ ।

ब्यवसायी शंकरप्रसाद शाह भन्छन्- ‘बढीभन्दा बढी राजस्व उठाउने ध्याउन्नमा आफुहरूमाथि नयाँ महानिर्देशकले अन्यायपूर्ण रवैया अपनाएका छन् । हामी सयौँ व्यवसायीका करोडौँको सामान अलपत्र भएको छ । डुब्ने अवस्था सिर्जना भएको छ ।’

नयाँ महानिर्देशकले व्यवसायीलाई प्रोत्साहन गर्नुको साटो ‘मुद्दा हाल, अदालत जाउ’ भनेर हप्काएको आरोप व्यवसायीले लगाए । सामान राजस्वले नियन्त्रणमा लिएको कारण व्यापार गर्न नपाएर आर्थिक समस्याहरू उब्जिएको, बैंकको ऋण तिर्न गाह्रो परेको, मानसिक समस्या देखिन थालेको, ‘गर या मर’को अवस्था सिर्जना भएको अर्का व्यवसायी अजय शाहले बताए ।

  • दिनेश महर्जन