उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको घोषणाले हरेक देशप्रेमीलाई उत्साही बनाएका बेला एक विख्यात पूर्वप्रधानन्यायाधीशले सामाजिक सन्जालमार्फत श्रेष्ठको प्रशंसा गरेका छन् । यसरी नारायणकाजीको प्रशंसा गर्ने ब्यक्ति गोपाल पराजुली हुन् ।
पराजुलीले आफ्नो फेसबूक पेजमा एक स्ट्याटस लेख्दै भनेका छन्- ‘मन्त्री नारायणकाजी श्रेष्ठ र वर्तमान कार्यकारीको नेतृत्वलाई धन्यवाद । नेपाली भएर नेपालको संविधानको धारा ७ विपरित कुतर्क आदेश लेख्ने एनजीओप्रेमी न्यायमूर्तिहरूको आदेशलाई कालभैरबमा लगेर राष्ट्रभाषा नेपालीलाई सम्मान गर्ने चेतनशील नेपालीले पहिल्यै जलाएका थिए । शायद त्यसैको सुनुवाइ भएछ क्यारे अब नेपालीले नेपालीमा नै गाडीको नम्बर राख्न पाउने भए ।’
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पहिले विमलेन्द्र निधिबाट भएको गल्ती सच्याउन लागिपरेका छन् । निधिले विदेशी कम्पनीको प्रभावमा परेर अक्षम्य गल्ती गर्दै गाडीको नम्बरप्लेट अङ्ग्रेजीमा राख्ने अनिवार्य ब्यवस्था गरेका थिए । त्यसलाई सच्च्याउँदा पनि देशले नगद क्षति ब्यहोर्नुपर्ने अवस्था छ । तथापि नगदसँग राष्ट्रियता साट्न नसकिने भन्दै नारायणकाजी नेपालीमा नम्बरप्लेट राख्ने अठोट सहित क्रियाशील भएका छन् ।
संविधानको धारा ७ मा सरकारी कामकाजको भाषा शीर्षकअन्तर्गत ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनी लेखिएको छ । संविधानको यही ब्यवस्थालाई दृष्टिगत गरी गोपाल पराजुलीले गल्ती सच्याउने उद्देश्यका साथ अन्तरिम आदेश पनि दिएका थिए । तर पराजुलीपछिका प्रधानन्यायाधीशले गलत निर्णयलाई कायम राख्ने आदेश दिएका थिए ।
प्रतिक्रिया