अस्तित्व-सङ्कटसँग जुझ्दै डडेल्धुराको टुँडिखेल

अस्तित्व-सङ्कटसँग जुझ्दै डडेल्धुराको टुँडिखेल


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाको आफ्नै धार्मिक, साँस्कृतिक, पौराणीक, भौगोलिक ऐतिहासिक र राजनीतिक अस्तित्व छ । सातवटा पहाडी जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रूपमा रहेको डडेल्धुरा जिल्लाले राजनीति र खेलकुदका क्षेत्रमा हासिल गरेको सफलता आफैमा गौरव गर्नलायक छ । तर यही जिल्लाको खुला मैदान भनिने टुँडिखेलको अस्तित्व भने सङ्कटमा रहेको छ ।

२०३८ सालमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्यले वृक्षारोपण गरेको सिलंगाको रुख स्थानीयको स्मृतिमा रहे पनि सार्वजनिक खुला मैदान टुँडिखेल संरक्षण र विकासका पूर्र्वााधार निर्माणको अभावमा दिनप्रतिदिन प्रयोगबिहिन हुँदै जाँदा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

जिल्लाको प्रमुख प्रशासकीय तथा सुरक्षा निकायसमेत रहेको जिल्ला प्रशासन कार्यालय तथा सदरमुकामको साबिक खलंगा बजारसँग जोडिएको टुँडिखेल संरक्षण तथा पहुँच मार्गसमेत स्तरोन्नति नहुँदा यस क्षेत्रका जनताले आफूहरूलाई राज्यले अपहेलित गरेको अनुभूति गरेको स्थानिय गणेश कठायत बताउँछन् । टुँडिखेल पुग्ने कालोपत्रे सडक पनि बीच बाटोमै अलपत्र हुनु र बजारबाट केही टाढा भएकाले नियमित प्रयोगमा नआउँदा टुँडिखेल उपेक्षामा परेको स्थानिय शेर बहादुर ऐरको भनाइ छ ।

केही वर्षपहिले राजनीतिक तथा सरकारी कार्यक्रम सहित गौरा, तीज जस्ता साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने सरकारी जग्गा टुँडिखेल संरक्षण नहुँदा अतिक्रमणको सम्भावना रहेकोले संरक्षणका लागि स्थानीयले माग पनि राखेको किशोर ठकुराठीले बताए ।

केही दशकअघि टुँडिखेल प्रयोगमा आउँदा चहलपहल भएको तर अहिले केवल महोत्सव मेला कार्यक्रम बाहेक अन्य समयमा सुनसान हुने गरेकोले टुँडिखेल मैदानलाई चलायमान बनाउन स्थानीयले माग राखेका छन् ।

पछिल्लो समय सबैजसो राजनितिक तथा अन्य कार्यक्रमहरू पनि जिल्ला सदरमुकामको बागबजारमा रहेको बसपार्क तथा भीमदत्त चोकमा गर्ने गर्नाले पनि टुँडिखेल मैदान प्रयोगविहीन हुन पुगेको स्थानीयको भनाइ छ ।

टुँडिखेल प्रयोगमा नआउँदा जिल्ला सदरमुकामको पुरानो बजार खलंगाको आर्थिक सामाजिक साँस्कृतिक रूपले सुनसान मात्र छैन कलात्मक संरचनाको पहिचान गुमाउनुका साथै अस्तित्व संकटमा रहेको सदरमुकामलाई महोत्सवका लागि मात्र प्रयोग नगरी पूर्बाधार निर्माणसहित नियमित कार्यक्रमहरू आयोजना गरेर पुरानै लयमा ल्याउन पहल गर्न आवश्यक देखिएको छ ।