समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्ने उपाध्यक्ष पाण्डेको जिकिर

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्ने उपाध्यक्ष पाण्डेको जिकिर


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित काम गर्नुपर्ने सुझाव दिएका छन् ।

एमाले काठेखोला गाउँ कमिटी (बागलुङ)को दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा नेता पाण्डेले वामपन्थी एकतासहितको एमालेले समृद्ध नेपालः सुखी नेपालीको सङ्कल्प पूरा गर्ने र त्यसका लागि ‘मिसन २०८४’ लाई योजनावद्धरूपमा अगाडि बढाउन आग्रह गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डेले प्रत्येक निर्वाचनमा भएको कमीकमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिँदै मुलुकको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारमा जोड दिए ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य मनकुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सह–इञ्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य तथा रिटर्नी फेडरेशन इञ्चार्ज डा सूर्य पाठक, बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिराबहादुर केसी, नेपाली कांग्रेस काठेखोलाका अध्यक्ष ज्ञामदत्त कँडेल, राष्ट्रिय जनमोर्चा काठेखोला अध्यक्ष लक्ष्मण पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।