‘एसईई’को इतिहास

‘एसईई’को इतिहास


✍ सुनिल उलक

कुनै बेला म्याट्रिकुलेशनको परीक्षा भनिने विद्यालय स्तरको अन्तिम परीक्षालाई प्रवेशिका परीक्षा पनि भनिन्थ्यो । नेपालमा नै एसएलसी वोर्डको गठनपश्चात एसएलसी नामाकरण भयो । पछि अन्तर्राष्ट्रिय पद्दतिको अनुसरण गर्दै उच्च माध्यामिक तह प्रवेश गर्नुअगाडिको परीक्षाका रुपमा एसईई नामाकरण गरियो ।

बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले वि.सं. १९१० मा जनरल धीरशम्शेरको दरबार थापाथली दरबारभित्र राणाहरुका लागि पहिलो पटक अंग्रेजी समेतको शिक्षाको शुरुवात गरे । यसअगाडि संस्कृत शिक्षा दिने गरिन्थ्यो । दरबारभित्र यसरी शुरु भएको स्कुललाई दरबार स्कुल भन्न थालियो । यो स्कुल पछि हिटी दरबारमा सारियो । हिटी दरबारमा सञ्चालन हुँदा धीरशम्शेरका सत्रभाइका सन्तानले मात्र सो स्कुलमा पढ्न पाउँदथे । पछि वि.सं. १९३३ मा सेतो दरबारमा सारिएपछि भने अन्य राणाका सन्ततीहरुले पनि पढ्न पाए ।

१९४२ मा आइपुग्दा अन्य भारदारका छोरानातिहरुलाई पनि पढ्न पाउने छुट दिइयो । १९५१ सालमा दरबार स्कुलको आफ्नै भवन भयो । रानीपोखरीको पश्चिममा भवन तैयार भएपछि सेतो दरबारबाट दरबार स्कुल अहिलेको दरबार स्कुल भएको ठाउँमा सारियो । यसरी नेपालको पहिलो अंग्रेजी भाषा पढाउने स्कुलको शुरुवात भएको थियो । शुरुमा केही राणाका छोरा नाति मात्रै भर्ना हुने यस स्कुलमा १९५८ सालसम्म केवल १७ जनाले मात्रै अंग्रेजी पढेका थिए । पछि सबैलाई पढ्न छुट भए पछि १९७५ सम्म पढ्नेको संख्या १७५ पुग्यो ।

अहिलेको एसईई शरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । वि.सं. १९३६ देखि कलकत्ता विश्वविद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा १९८० देखि पटना विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । तर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन पाएनन् । १९३७ मा म्याट्रिकुलशन परीक्षा दिन चन्द्रशम्शेर कलकत्ता पुगे र उत्तीर्ण पनि भए । चन्द्रशमशेर राणा परिवारभित्रमा पहिलो म्याट्रिक उत्तीर्ण गर्नेमा पर्न पुगे । म्याट्रिक उत्तीर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरि पढाइ पूरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।

त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा विद्यार्थीहरुका लागि सम्पूर्ण ब्यवस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यवस्था सरकारबाट नै हुने गर्दथ्यो । वि.सं. १९८५ मा म्याट्रिकुलशन बोर्ड ‍(म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । वि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा)को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो । तर परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्वविद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिनअगाडि पटना विश्वविद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्वविद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।

१९९० सालमा परीक्षा बोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे, जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरबार हाइस्कुलमा पनि क्षति पुग्यो । दरबार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहा क्षति हुन पुग्यो र परीक्षा नै रोकियो ।

यसरी रोकिएको एसएलसी पाँच महिनापछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरबार हाइस्कुलमा क्षति पुगेका कारण बाँकी परीक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरबार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रिचन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उत्तीर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उत्तीर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उत्तीर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुत्तीर्ण र १९ विद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्ल नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।

१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा सहाना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।

एसएलसीको परीक्षाको नतिजा २००७ सालदेखि नेपाल राजपत्रमा पनि छापिन थालेको थियो । गोरखापत्रमा बोर्डमा आउनेहरुको नाम आउँदा गर्व गर्न पाउँथे, तर दोश्रो जनआन्दोलनले आवश्यक भन्दा अनावश्यक कुराहरुको पनि परिवर्तन ल्याए । २०६२ सालको नतिजा २०६३ सालमा प्रकाशित गरिँदा बोर्डको नामावली हटाइयो । २०७२ सालमा परीक्षा दिएकाहरुको २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्दती हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो ।

(२००१ सालमा एसएलसी उतीर्ण गरेका विश्वेश्वरप्रसाद रिमालको दोश्रो दर्जामा उत्तीर्ण भएको सर्टिफिकेट)