इतिहास
✍ सुनिल उलक

नेपालको प्रधानमन्त्री तथा श्री ३ को रूपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीप सिंह कुँवर तथा जङ्गबहादुरका सन्तानहरूको हत्या गरि धिरशम्शेरका छोराहरूले एक छत्र रूपमा राणा शासनको बागडोर सम्हाल्न पुगेका थिए । ४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा नातिहरू या त मारिए या लखेटिए । यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशम्शेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरेपछि वीरशम्शेरले अंग्रेजका विभिन्न शर्तहरू मान्न तैयार भएका थिए । भारतीय सेनामा रहेको गोर्खालीहरूको संख्या बढाउन समेत मञ्जुरी दिएका थिए । भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेन । यता रेसिडेन्टका रूपमा रहेका गल्र्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा स्विकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए । उनले पनि सहयोग गरेनन् । तसर्थ यसको लागि अंग्रेज सरकारका प्रतिनिधिहरूले श्री ३ वीरसामु विभिन्न माग राख्न थाले । बेलायती सेनामा गोर्खालीहरूको भर्तिकेन्द्र नेपालमा नै राख्ने चाहना एक प्रमुख थियो भने अन्यमा बेलायतीहरूलाई सहज प्रवेश तथा ब्यापार गर्न छुट दिनसमेत मागेका थिए । वीरशम्शेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न केही अंग्रेजका चाहना पूरा गरिदिएका थिए ।
यसरी सरकारको मान्यता पाए पनि वीर शम्शेरको सम्बन्ध लर्ड डफरिनसँग खासै राम्रो रहेन । तर त्यसपछिका भाइसरायहरू लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो । सन् १८९२ को मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्ट्सको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढी पूरा भयो । वीरशम्शेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्ट्स निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुँदै घोडामा चढेर काठमाडौ पुगेका थिए । धुमधामका साथ स्वागत गर्न लाखौँ रूपैयाँका पटाकाहरू पड्काइएको थियो । काठमाडौंमा उनको लागि १८ हजार सैनिकहरूबाट मार्चपास्ट तथा सलामी दिइएको थियो । त्यसबेला नेपाली सेनाका प्रमुख देवशम्शेर थिए । नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्ट्सले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने ब्यवस्थासमेत मिलाइदिएका थिए । यसको एक वर्ष नबित्दै श्री ३ वीर शम्शेर इ.सं. १८९३ फेब्रुअरीमा कलकत्ता भ्रमणका लागि निस्किए । नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे । यस भ्रमणमा वीरशम्शेरले बेलायतसँग ८००० मार्टिनी हेनरी राइफलको अर्डर दिएका थिए भने मनग्गे गोलाबारुदको पनि अर्डर गरिएको थियो ।
यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशम्शेर बेलायत घुम्ने सपना देख्न थाले । ठूलोबुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणा परिवारमा निकै चर्चा हुने गर्दथ्यो । त्यसैले वीरशम्शेरलाई पनि बेलायत जाने रहर जाग्यो । सन १८९५ को अन्ततिर काठमाडौंमा रहेको रेसिडेन्टमार्फत अनुरोधपत्र पठाए । तत्कालिन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुँदा पनि श्री ३ वीर ढुक्क थिए बेलायत घुम्न पाउनेमा । यता भाइसराय भित्र भित्र चिन्तित थिए– कतै बेलायतबाट अस्विकृत भयो भने नेपालसँगको सम्बन्ध बिग्रन सक्ने आँकलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए ।
वीरशम्शेरको बेलायत भ्रमणको चाहनाको साथ अर्को ध्येय पनि थियो । नेपाल एक स्वतन्त्र राष्ट्रको राजा पृथ्वी वीरविक्रमको राजदूतको रूपमा बेलायत भ्रमण गर्ने वीरशम्शेरको चाह थियो । तर त्यसबेला बेलायत नेपाललाई पूर्णरूपमा स्वतन्त्र राष्ट्रको रूपमा मान्यता नदिने पक्षमा थियो । यो थाहा पाएका वीरशम्शेरले बेलायत भ्रमण त्याग्न सक्ने तर स्वतन्त्र राज्यको अधिकार त्याग्न नसक्ने जानकारी पठाएका थिए । भाइसरायको प्रयासका बाबजुद वीरशम्शेरको यात्रा हुन सकेन । जसको कारण तिब्बतसँगको सम्बन्धका कारण वीरले नेपाल छोड्न नचाहेको प्रचार गरियो ।
वीरशम्शेर जन्मदेखि नै अभागी थिए । उनको जुन समय जन्म भयो त्यो दिन राशिमा अशुभ दिन चलिराखेको थियो । उनको जन्मको केही समयपछि आमाको निधन भएको हुँदा पनि उनलाई ज्योतिषीको सल्लाहअनुसार घर राखिएन । १२ वर्षको उमेरसम्मका लागि ठूलो बुबा जङ्गबहादुरको थापाथली दरबारमा राखियो जहाँ जङ्गबहादुरकी रानी पुतली महारानीले आफ्नै छोरा झैँ आफ्ना छोराहरूका साथ हुर्काए । थापाथली दरबारमा रहँदा बाल्यकालमा जङ्गबहादुरले उनलाई ‘कैले’ भनेर बोलाउँथे । जङ्गले नै उनको नाम ‘वीर’ भनेर राखिदिएका थिए । उनका दौँतरीहरूमा जङ्गका सन्तान बबरजंग, दीपकुमारी तथा खड्गकुमारीहरू थिए । तर बिडम्बना ! यिनै वीरशम्शेरले आफ्नो स्याहारसुसार गर्ने जङ्गबहादुरका सन्तानहरूलाई नै मार्न लगाए ।
ठूलो बुबा जङ्गबहादुरको सामिप्यमा रहँदा उनले शुरुमा दरबार हाइस्कूल र पछि डोवटन कलेज, कलकत्तामा अध्ययन गरे । जङ्गकै कार्यकालमा कलकत्तामा वकिलका रूपमा गए । त्यहाँ उनले नेपालको राजकाजसम्बन्धी कार्य अंग्रेज सरकारका बीच गर्दथे । कलकत्तामा निकै अनुभवहरू सँगालेका उनि अंग्रेजी राम्रै बुझ्दथे । बोल्न अलि कम सक्थे । साथमा हिन्दी, उर्दु र पर्सियन पनि राम्रैसँग बुझ्दथे र बोल्दथे पनि । जङ्गले केही गर्न सक्ने भतिजाको रूपमा उनको चर्चा गर्दथे ।
नेपाल फर्किएपछि पनि उनको रहनसहन विशेष थियो । उनी विशेष तामझामका साथ निसाफ गर्न पुग्दथे । साथमा उनको नीजि सौखले बेलायत तथा भारतबाट समेत मगाएर पालिएका विशेष नस्लका गाईहरूको फार्म नै थियो । सो निरीक्षण गर्न दैनिकजसो पुग्दथे । उनको खान्की तथा उनको खवाइको भाँडाहरू विशेष थियो । शुद्ध सुनको थाल, कचौरा तथा ग्लासहरूको तौल ३६२ तोलाको थियो । झण्डै दुइ धार्नीको उनको सुनका सामग्रीमा उनलाई खाना पस्किने गरिन्थ्यो । उनको ठूलो थालको तौल नै १४५ तोलाको थियो । १२० तोलाको ३ वटा कचौरा थिए भने ६० तोलाको पानी पिउने जग थियो । साथै १२ तोलाको चम्चा पनि थियो ।
हिन्दु धर्मप्रति कट्टर उनि खाना शुद्ध ब्राम्हणबाट पकाएको मात्र खान्थे । खाना खानुअगाडि कतै विष मिसाएका हुन सक्ने भन्दै एक पण्डितलाई खान लगाएर मात्र आफू खान्थे । खान बस्ने चौकीको वरपर गाईको गोबरले लिप्न लगाइ शुद्ध र किटाणुमुक्त गराउँथे । हरेक पटक गंगाजलले मात्र हात धुने गर्दथे । खानापछि शुद्ध सुनले बनेको हुक्कामा तम्बाकु तान्दथे । उनको लवाइ पनि विशेष हुने गर्दथ्यो । उनले लगाउने ज्याकेट बेलायतबाट मगाउँथे । प्रायः उनि कोटमा भन्दा बढी ज्याकेटमा नै देखिन्थे । उनको टोपी पनि फ्रान्सेली सैनिकहरूले लगाउने ‘फोरेज क्याप’ हुने गर्दथ्यो ।
ठूलो बुबा जङ्गबहादुर झैँ उनि पनि संगीत तथा नृत्यको सौखिन थिए । उनी दरबारमा सेनाको ब्याण्डले बजाएको संगीत सुन्दथे भने भारतीय शास्त्रीय गीतसंगीत तथा नाचको पनि सौखिन थिए । यही सौखका कारण नेपालमा पहिलो पटक शास्त्रीय संगीतको भेला नै भएको थियो । ‘बगडीको जल्सा’ नामले प्रख्यात यो भेलामा वीरगंजनजिकैको गाउँ बगहीमा भएको यस बृहत संगीत भेला वि.सं. १९५६ को पुसमा भएको थियो । त्यस भेलामा भारतीय शास्त्रीय संगीतकारहरूको मेला नै लागेको थियो । सयौँ संगीतकार तथा रागगायनका माहिरहरूको जमघट नै भएको थियो ।
उनले बनाएको चारबुर्जा दरबार तत्कालिन समयको आधुनिक महलमा पर्दथ्यो । बास्तुकलाविद जोगवीर स्थापितको डिजाइनमा बनेको यस दरबार पछि छोरा रुद्रशम्शेरलाई दिए । १९९० मा जुद्धशम्शेरबाट लखेटिएपछि यो दरबार बहादुर शम्शेरको हकमा पुग्यो । बहादुर भवनको नाम रहन गएको यो दरबार बोरिसद्वारा नेपालकै पहिलो होटल रोयल होटलको रूपमा रहन पुग्यो । हाल यस भवनमा निर्वाचन आयोगको कार्यालय रहेको छ ।
यसको साथै रणोद्वीपको नारायणहिटी दरबार भत्काएर त्यहाँ नयाँ दरबार बनाउन लगाएका थिए, जुन दरबार आफ्ना ज्वाइँ पृथ्वी वीर विक्रमलाई दिए, जसले गर्दा पछिसम्म शाह राजाहरूको दरबारका रूपमा रहन गयो । नारायणहिटीको दायाँतर्फ विशाल सेतो दरबार बनाए, जुन छोरा गेहेन्द्रशम्शेरका लागि दिए । बायाँतर्फ फोहरा दरबार बनाए जुन छोरा प्रतापशम्शेरलाई दिए । फेरि अर्को फोहरा दरबार कान्छी महारानीका लागि पनि बनाइदिए । पहिलो फोहरा दरबार राजा महेन्द्रले भत्काइ नारायणहिटीभित्र गाभे । दोश्रो फोहरा दरबार अमेरिकी राजदुतावासले किन्यो । भाइ जुद्धशम्शेर र उनकी आमा जुहारकुमारीका लागि जावलाखेल दरबार बनाइदिएका थिए । छोरा धर्मशम्शेरका लागि भाटभटेनी दरबार बनाइदिए । भाइ भीमशम्शेरका लागि टंगाल दरबार बनाइदिएका थिए । कान्छी रानी तोपकुमारी देवीका लागि लालदरबार बनाइदिए जुन हाल याकएण्डयती होटलका रूपमा रहेको छ ।
यस्तै वीरशम्शेरले जनताका लागि अस्पताल बनाउन लगाए । जसको नाम शुरुमा पृथ्वी वीर अस्पताल रहेको थियो । यो अस्पताल पहिले रानीपोखरीको पश्चिम हाल राष्ट्रिय नाचघर रहेको ठाउँमा थियो । पछि वीरशम्शेरले नै हालको स्थानमा विशाल भवन बनाउन लगाइ अस्पताल सारे । वीरशम्शेरले बेलायती बिग बेनको नक्कल गर्दै रानीपोखरीको पूर्वमा घण्टाघर बनाउन लगाएका थिए । दरबार हाइस्कूलका नाममा स्कूल त थियो तर स्थाइ रूपमा भवन थिएन । वीरशम्शेरले दरबार हाइस्कूलको लागि लामो टहरारूपी भवन बनाइदिए । गहवामाईको मन्दिर रहेको सानो गाउँको नाम गहवा थियो । जसलाई वीरगञ्ज नामाकरण गराइ बस्ती बसाए । साथै त्यहाँ मुडुली दरबार बनाइदिएका थिए ।
उनि आफू कान्छी रानी तोपकुमारी देवीका साथ लालदरबारमा बस्दथे । उनले सो दरबारमा अत्याधुनिक सामग्रीहरूले सजाएका थिए । उनको कोठाहरू बेलायती फर्निचरहरूले सजिएको थियो । काँचका भाडाकुडा किसिम–किसिमका थिए । भेनेटिएन (इटलीको) ग्लासका रूपमा प्रख्यात सामग्रीहरूले भरिएका थिए । कोठाका भुइहरूमा इटालियन मार्बल राखिएको थियो भने त्यसमाथि पर्सियन (इरान) कार्पेट ओछ्याइएको थियो । कोठाहरूमा ग्याँस ल्याम्पबाट उज्यालो बनाइन्थ्यो । कोठाका छतहरूमा किसिम किसिमका बेल्जियन क्रिस्टल झुमरहरू झुण्ड्याइएका थिए । बगैंचामा समेत बाफको जेनरेटरबाट कार्वन लाइटहरू बालेर रातमा समेत आकर्षक बनाइएको थियो ।
वीरशम्शेरको विवाह उपेन्द्र (राजा सुरेन्द्रको भाइ) वीर विक्रमको छोरी दिव्येश्वरी राज्यलक्ष्मीसँग भएको थियो । वीरशम्शेरले आफ्नी रानीको लागि सुसारेको रूपमा ठिमीकी नेवार्नी खञ्जँ (उच्चारण गलत पनि हुन सक्छ) नाम गरेकी मैयाँलाई राखे । तर यिनै नेवार्नी मैयाँ वीरकी प्यारी कान्छी महारानी बनिन् । जसलाई पछि तोपकुमारी नाम राखियो ।
यिनको सम्बन्धमा पनि रोचक कथा छ । रानी दिव्येश्वरीको सुसारेको रूपमा राखिएको खञ्जँ निकै राम्री थिइन् । बुबा उपेन्द्रले ती सुसारेलाई हटाउन भने पनि पतिका कारणले सुसारेबाट हटाउन सकेनन् । एकदिन खञ्जँ राति सुतेको समयमा रानी दिव्येश्वरीले अनुहारमा एसिड खन्याइदिए । यस घटनाले झन वीरको प्रेम खञ्जँप्रति अझ प्रगाढ भयो । उनले उनको अनुहारको उपचार गराए साथै उनीसँग विवाह पनि गरे । साथै महारानीको दर्जा पनि दिलाए र खञ्जँको आँखा राम्रै देख्न सक्ने भयो । अनुहारमा भने केही दाग रह्यो । वीरले महारानीको दर्जा दिलाएका खञ्जँबाट जन्मिएका रुद्रशम्शेर (पोखरा तथा भक्तपुरका बडाहाकिम धनशम्शेरका बुबा)लाई रोलक्रममा पनि राखे । तर पछि जुद्ध शम्शेरले ल्याइतेबाट जन्मिएका सन्तान भएको हुँदा रुद्रशम्शेरको रोलक्रम खोसिदिए र पाल्पा धपाइए । यिनै तोपकुमारीबाट जन्मिएका दुई छोरीलाई राजा पृथ्वी वीर विक्रमसँग विवाह गराइदिएका थिए । वीरको चाहना आफ्नो नाति भविष्यको राजा बनाउने थियो । लामो समयसम्म पृथ्वी वीर विक्रमको छोराको जन्म भएन । जेठी छोरी लक्ष्मी राज्यलक्ष्मीलाई पहिलो पटक राजाको उत्तराधिकारीको रूपमा नियुक्त गरियो । अन्ततः करिव ११ वर्षपछि वि.सं. १९६३ को असारमा पंजाबबाट विवाह गरि ल्याइएका रानीबाट त्रिभुवनको जन्म भएपछि युवराज घोषणा गरियो ।
प्रशासनिक सुधारमा जङ्गबहादुरको विशेष योगदान छ । उनले बनाएका चार गौँडा र तिनमा रहने बडाहाकिमका काम र कर्तव्य विभाजन गरिएको थियो । यी बडाहाकिमहरू राणा दरबारका अति नै निकटस्तहरू हुने गर्दथे । वीरशम्शेरले यस प्रशासनिक कार्यमा केही सुधारहरू गरे ।
‘हाजिरी गोश्वारा’को स्थापना गराइ सम्पूर्ण कर्मचारीहरूलाई नियमन गर्न मिलाए । हाजिरीदेखि लिएर कामको विषयमा समेत जानकारी एकै ठाउँबाट गर्ने प्रबन्ध मिलाए । साथै शहर ‘सफाइ अड्डा’को स्थापना गराइ सफाइतिर पनि ध्यान दिएका थिए । प्रशासनिक काममा सहज बनाउन तराईमा १२ ‘जिल्ला’ र पहाडमा २३ ‘तहसिल अड्डा’को ब्यवस्था गरे । तहसिललाई फेरि जिल्ला तथा थुममा विभाजन गराए । यसलाई पनि मौजा र गाउँमा विभाजन गरे । हरेक तहसिलमा हाकिम वा वडाहाकिम रहने ब्यवस्था पनि मिलाए । तराईका जिल्लाहरूलाई पनि चार भागमा विभाजन गराए । माल अड्डाको स्थापना तथा अमिनीको ब्यवस्था पनि गराएका थिए । कानुनको सहजताको लागि ‘अपिल अड्डा’को स्थापना पनि गराएका थिए । वीर शम्शेरले उपत्यकामा सार्वजनिक धाराको रूपमा ‘वीरधारा’ तथा घरमा समेत धाराको प्रबन्ध मिलाएका थिए । जसको ब्यवस्थापनका लागि ‘पानी गोश्वारा’को स्थापना गरेका थिए ।
ठूलो बुबा रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरशम्शेर निकै शंकालु भएका थिए । कतै आफ्नो हत्या गरि भाइहरू सत्तामा आउने षडयन्त्र रच्न सक्ने शंकामा रातदिन रहन्थे । यहि क्रममा भाइ खड्गशम्शेर पनि पाल्पा धपाइएका थिए । रातमा पनि ३–४ पटक कोठा फेरेर सुत्थे । निदाउँदा पनि एक हातले सिरानी च्याप्ने र अर्को हातमा रिवल्वर हुन्थ्यो । कोठा बदलि गर्दा कान्छी महारानी तोपकुमारी पनि एक हातमा चाँदीको पिकदान र अर्को हातमा सुराही बोकेर पछिपछि लाग्थे ।
वीरशम्शेरका जेठा छोरा गेहेन्द्रशम्शेर नेपालकै पहिलो वैज्ञानिक थिए । उनले विभिन्न किसिमका हतियारहरू बनाएका थिए । उनको सेतो दरबारमा विशाल ज्यासल नै बनाएका थिए । जहाँ हावाबाट चल्ने ठूला पङ्खाबाट बिजुली निकालेका थिए । तर दुर्भाग्य ! उनको केवल ३६ वर्षको उमेरमा निधन भयो । उनको अप्रत्यासित निधनलाई चन्द्रशम्शेरले विष दिएर हत्या गरेको भन्ने गरिन्छ । सन् १९०१ को अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए । पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि ब्यवस्था सबै मिलाइनेछ । तर शिकारको निम्तो दिएको दिएको एक महिना अगाडि नै सन् १९०१ मार्च ३ तदनुसार वि.सं. १९५७ फागुन २३ गते मंगलवार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशम्शेरको रक्तचापका कारण देहावसान भएको थियो ।
यहाँ राखिएको अति नै गोप्य तत्कालिन समयको पत्र हो यो । यस पत्रमा काठमाडौंमा बेलायती रेसिडेन्टका रूपमा रहेका हेनरी वाइली कलकत्ता गएको समय सहायक रेसिडेन्टले कलकत्तामा जानकारी पठाइएको ब्यहोरा देख्न सकिन्छ । वीरशम्शेरको बेलायत भ्रमणको प्रवन्ध मिलाइदिन गरिएको आग्रहलाई कलकत्तामा रहेका भाइसराय सामु राखिदिनको लागि यो पत्र पठाइएको छ । हुन त नेपालमा भोटसँगको सम्बन्ध खटनपटन भएको हुँदा वीरशम्शेरले बेलायत जाने चाहनालाई रोकेका थिए भनिए पनि वास्तवमा कलकत्तामा रहेका भाइसरायको भित्री चाह भने वीरशम्शेरलाई बेलायत भ्रमण गर्न अनुमति नदिने नै देखिन्छ । बालक राजा रहेको समय आफ्नै ठूलो बुबाको हत्या गरेर बालक राजाबाट लालमोहर गरि लिएको षडयन्त्रमा अंग्रेज सरकार वीरशम्शेरप्रति रुष्ट थियो । यसैले पनि उनको बेलायत भ्रमणको सपना तुुहिएको थियो ।
प्रतिक्रिया