रेडियो नेपालमा ‘करेन्ट अफेयर्स’ : केही विचार, केही अनुभूति

रेडियो नेपालमा ‘करेन्ट अफेयर्स’ : केही विचार, केही अनुभूति


अबका करेन्ट अफेयर्समा सर्वसाधारण जनताका आवाज पनि त्यतिकै महत्वका साथ समेटिन जरुरी छ । नकारात्मक सन्देश दिने, द्वन्द्व बढाउने कुरालाई घटाउँदै सकरात्मक सन्देश दिने र समस्याको समाधानतर्फ उन्मुख कार्यक्रम अहिलेको आवश्यकता हो ।
✍ बबिता बस्नेत
पृष्ठभूमि

२००७ सालको प्रजातन्त्रसँगै सुरु भएको रेडियो नेपाल जनमानसमा राम्रो छाप पार्न सफल ऐतिहासिक सञ्चारमाध्यम हो । रेडियो भन्नासथ ‘रेडियो नेपाल’ भनेर बुझ्नेहरूको सङ्ख्या अहिले पनि ठुलो छ । विगतमा ‘समाचार’ भन्ने शब्द धेरै नेपालीहरूले रेडियो नेपालबाटै सुनेका हुन् । अङ्ग्रेजी भाषाको ‘न्यूज’बाट नेपालीमा अनुवाद गरिएको ‘समाचार’ शब्द संस्कृत भाषाको ‘नव’ शब्दबाट बनेको हो भनी कतिपय भाषाविद्ले भनेका छन् । कतिपयले ‘न्यूज’ शब्द ल्याटिन भाषाको ‘नोवो’ शब्दबाट बनेको भनेका छन् । अङ्ग्रेजी शब्द एन अर्थात् नर्थ (उत्तर), ई अर्थात इष्ट (पूर्व) डब्लु अर्थात् वेष्ट (पश्चिम) र एस अर्थात् साउथ (दक्षिण) यी चारै दिशा बुझाउने भएकाले चारैतिरका घटना विवरण समाचार हुन् भनी परिभाषित गर्ने गरेको पाइन्छ । समाचारको सैद्धान्तिक पक्ष र परिभाषा जे भएपनि समाचार सबैका लागि चासोको विषय हिजो पनि थियो र आज पनि छ ।

नेपालमा रेडियो समाचारको इतिहास वि.सं. २००७ माघ २० गते विराटनगरबाट प्रसारित भएको ‘प्रजातन्त्र नेपाल रेडियो’को सुरुवातसँग जोडिएको छ । उक्त रेडियोले समाचारमार्फत नै आफ्नो प्रशारणको सुरुवात गरेको थियो भनी रेडियोको इतिहाससँग सम्बन्धित विभिन्न दस्तावेजहरूमा उल्लेख छ । २००७ साल चैत्र २० गते स्थापित रेडियो नेपालको सुरुवातमै बिहान बेलुका नेपाली र अङ्ग्रेजीमा समाचार दिने गरिएको थियो । वि.सं. २०१७ देखि जिल्लाका गतिविधिहरूलाई समेटेर जिल्ला समाचार दिन थालेको रेडियो नेपालले अहिले २१ वटा भाषामा समाचार दिइरहेको छ । सुरुवाती समयदेखि नै समाचार दिँदै आए पनि ‘करेन्ट अफेयर्स’का कार्यक्रम भने २०४७ सालदेखि मात्रै प्रशारण गर्न थालेको हो ।

बहुप्रतीक्षित तर चुनौतीपूर्ण

अङ्ग्रेजी शब्दको ‘करेन्ट’ र ‘अफेयर्स’ मिलेर बनेको ‘करेन्ट अफेयर्स’ को अर्थ समसामयिक मामिला या विषय भन्ने हुन्छ । २०४७ सालमा सुरु गरिएको ‘घटना र विचार’ रेडियो नेपालको समसामयिक विषय समेटिएको पहिलो ‘करेन्ट अफेयर्स’ कार्यक्रम थियो जहाँ यो पङ्क्तिकारले फरक-फरक समयमा गरी करिब साढे तीन वर्ष काम गर्ने अवसर पाएकी थिएँ । आवाजबाट जनतामा जोडिने हुँदा रेडियो नेपालप्रतिको आकर्षण जनमानसमा सुरुदेखि नै ब्यापक थियो । २०४७ सालसम्म पनि घरमा रेडियो हुनु शानको विषय मानिन्थ्यो । समयक्रममा कसको घरमा रेडियो छ भन्ने कुरा यसरी गौण बन्न पुग्यो कि इन्टरनेट र मोबाइलका कारण रेडियो सेट मानिसहरूको स्मृतिबाट क्रमशः टाढा हुँदैछ ।

पढ्न नजान्नेहरूले पनि सुन्न सक्ने भएकाले गाउँघर, शहर-बजार, गाउँ-बस्ती सबैतिर रेडियो उत्तिकै लोकप्रिय थियो । समाचारदेखि लोकगीत, नाटक, आधुनिक गीत हुँदै कृषि कार्यक्रमसम्म मानिसहरू झुरुप्प जम्मा भएर सुन्ने गर्थे र, ती कार्यक्रमहरूको चर्चा हुने गर्थ्यो । एसएलसीको रिजल्टलगायतका बहुप्रतीक्षित समाचारहरू रेडियोमार्फत नै जानकारी पाउने हुँदा गाउँका मानिसहरूका लागि रेडियो नेपाल नै जानकारीको एक मात्र माध्यम थियो । गोरखापत्र हुलाकमार्फत गाउँमा पुग्न लामो समय लाग्ने भएकाले रेडियो नै एक मात्र विश्वसनीय सञ्चारमाध्यम थियो । समाचार सुन्दासुन्दै सकिन्थ्यो, त्यसपछि के भयो ? जानकारी पाइँदैनथ्यो । त्यस्तो बेलामा समाचार विश्लेषणसहित समसामयिक विषयमा कार्यक्रम आउँदा ‘घटना र विचार’ले उच्च लोकप्रियता प्राप्त ग¥यो । राजनीतिक घटनाक्रमको विश्लेषण र राजनीतिक ब्यक्तिहरूसँगका कुराकानीसमेत दिइने हुँदा उक्त कार्यक्रम मानिसले सुन्न खोजिरहेको कार्यक्रम बन्यो । तथापि, ‘घटना र विचार’ राजनीतिक हस्तक्षेपमुक्त भने थिएन ।

घटना र विचारपछि ‘करेन्ट अफेयर्स’का रूपमा परिवेश, परिक्रमा, आजको सन्दर्भ लगायतका कार्यक्रमहरू रेडियोबाट प्रशारण भए । विश्वब्यापी रूपमा रेडियोमा ‘करेन्ट अफेयर्स’ कार्यक्रमको सुरुवात ब्रिटीस ब्रोडकाष्टिङ सर्भिस (बीबीसी) बाट भएको हो । बिबिसीका करेन्ट अफेयर्स ब्रोडकाष्टर माइकल ग्रिनले ७० को दशकमा रेडियोमा बढी माग भएको करेन्ट अफेयर्स कार्यक्रम गर्न त्यत्तिकै चुनौतीपूर्ण पनि थियो भनी आफ्ना लेख र भनाइहरूमा उल्लेख गरेका छन् । दोश्रो विश्वयुद्धपछि सुरु गरिएको समसामयिक विषयको विश्लेषण र छलफल गर्ने कार्यक्रममा त्यतिबेला राष्ट्रवाद, युद्ध र मृत्युका कुरा गर्ने गरिएको मिडियाको इतिहासका विज्ञ प्राध्यापक ह्यू चिग्नेल ले ‘करेन्ट अफेयर्स रेडियो : रियलाइजिङ न्युज एण्ड कमेन्ट’ शीर्षकको लेखमा लेखेका छन् । बिबिसीमा मात्र होइन रेडियो नेपालमा पनि सुरुवातबाटै समसामयिक विषयका कार्यक्रमहरू बहुप्रतीक्षित तर चुनौतीपूर्ण थिए । राजनीतिक हस्तक्षेप त छँदै थियो, कार्यक्रम प्रस्तोताहरूको प्राविधिक ज्ञान देखि विषयबस्तुको गहन अध्ययनको कमीका कारण पनि चुनौतीहरूलाई बढाएको थियो ।

घटना र विचार : आफ्नै अनुभव

वि.सं. २०५२ को असोज महिनाबाट मैले रेडियो नेपालको घटना र विचार कार्यक्रममा काम गर्न सुरु गरेँ । रेडियो नेपालमा घटना र विचारको चौथो टिम थियो त्यो । त्यसअघि २०४७ सालमा पुरुषोत्तम दाहाल, २०५१ सालमा देवप्रकाश त्रिपाठी र २०५१ मै कुन्दन अर्यालको टिमले सञ्चालन गरिसकेको उक्त कार्यक्रमको चौथो टिमको सञ्चालकको रूपमा पुनः पुरुषोत्तम दाहाल हुनुहुन्थ्यो । २०४७ सालमा देशब्यापी चर्चा पाउँदापाउँदै हठात् निष्काशनमा पर्नुभएका पुरुषोत्तम दाहालको पछिल्लो टिममा उहाँसहित हामी ९ जना थियौँ । करिव आधा घण्टाको कार्यक्रमका लागि ९ जनाको टिम । कसले कुन स्टोरी गर्ने र उसले कति समय लिने भन्ने कुराको बाँडफाँड गर्न कति गाह्रो थियो अनुमान गर्न सकिन्छ । समाचार विश्लेषण र समसामयिक घटनाका बारेमा नेतृत्वमा रहेकाहरूको अन्तर्वार्ता लिन राम्रै प्रतिष्पर्धा चल्थ्यो ।

हामीले त्यतिबेला सामाग्री छिटो-छिटो पढ्नुको कारण पनि समय नै हो । छोटो समयमा धेरै कुरा दिन खोज्दा हतार-हतार पढ्नुपर्थ्यो । अहिले झैँ घटना विश्लेषणका कार्यक्रमहरू नभएकाले जसरी पढेपनि घटना र विचारको लोकप्रियता यति धेरै थियो कि बाहिर कतै जाँदा मानिसहरू प्रस्तोताहरूलाई हेर्न आउँथे ।

छापा पृष्ठभूमि र त्यसमा पनि साप्ताहिक पत्रिकामा कार्यरत भएकाले विषयबस्तुप्रतिको बुझाइ र टिप्पणीका लागि मलाई खासै गाह्रो भएन । सुरुमा केही प्रेस विज्ञप्तिमा सीमित गरे पनि मैले गर्न सक्छु भन्ने विश्वास भएपछि पुरुषेत्तम दाइले पटक-पटक प्रमुख सामाग्री निर्माण गर्ने जिम्मा दिनुभयो । केही साथीहरू पहिलो घटना र विचारमै काम गरिसक्नुभएको र मिडियामै कार्यरत भएकाले चुनौती त्यति थिएन । तर केही साथीहरूको भने मिडियामा काम गरेको अनुभव थिएन । अन्य मुलुकका विभिन्न मिडिया र रेडियो नेपालका समसामयिक कार्यक्रमहरूबीच फरक के थियो भने अरु देशमा ब्यावसायिक पत्रकारहरूबाट यस प्रकारका कार्यक्रमहरू निर्माण गरिएका हुन्थे भने हामीकहाँ एक प्रकारको राजनीतिक नियुक्ति जस्तो हुने गर्थ्यो, जसका कारण विद्यार्थी नेता शत्रुघन प्रसाद गुप्तादेखि गीत-संगीतमा चर्चित नन्दकृष्ण जोशीसम्म हाम्रो टिममा हुनुहुन्थ्यो । टीममा अलमल्ल देखेर एकदिन मैले नन्दकृष्ण जोशीलाई भनेकी थिएँ- ‘जोशीजी, तपाईं संगीतको दुनयाँमा चर्चित मान्छे, तर तपाईंका लागि यो सही ठाउँ भएन ।’ उहाँले केही नबोली चुपचाप टाउको हल्लाउनुभएको थियो । उहाँले अहिले पनि बेला-बेलामा उक्त प्रसङ्ग निकालिरहनुहुन्छ ।

हामीले घटनालाई विश्लेषण गर्ने आधार प्रायः अघिल्लो दिन भएका राजनीतिक घटनाक्रमहरू हुन्थे । ठुलो टिम भएकाले लेख्दा लामैं लेखेपनि पढ्ने बेला सम्ममा छोट्याएर सानो बनाउनु पर्ने हुन्थ्यो । हामीले त्यतिबेला सामाग्री छिटो छिटो पढ्नुको कारण पनि समय नै हो । छोटो समयमा धेरै कुरा दिन खोज्दा हतार-हतार पढ्नुपर्थ्यो । अहिले झैँ घटना विश्लेषणका कार्यक्रमहरू नभएकाले जसरी पढेपनि घटना र विचारको लोकप्रियता यति धेरै थियो कि बाहिर कतै जाँदा मानिसहरू प्रस्तोताहरूलाई हेर्न आउँथे । घटना र विचारमा मेरो प्रस्तुति सुनेर त्यतिबेला जन्मिएकी आफ्नी छोरीको नाम बबिता राख्ने एक जना बाबुलाई मैले केही वर्षअघि दोलखामा भेटेकी थिएँ । कसैले तपाईंका कारणले नाम राखेकी मेरी छोरी अहिले पोखरामा मेडिकल पढिरहेकी छन् भनेर म्यासेज पठाउनुहुन्छ त कति छोरीहरू आफै मेरो सामु उभिएर तपाईंका कारणले मेरा आमा-बुबाले मेरो नाम बबिता राख्नुभएको रे भन्दा भावविभोर हुन्छु ।

२०७९ चैत्र २४ गते अमेरिकी राजदुत डिन थम्पसनले महिला पत्रकारका लागि काठमाडौंमा आयोजना गर्नुभएको भेटघाट र छलफल कार्यक्रममा गोरखापत्रमा कार्यरत पत्रकार राधा चालिसेले ‘म त डाक्टर बन्ने लक्ष्यका साथ पढिरहेकी थिएँ, बबिता दिदीले रेडियो नेपालको घटना र विचार कार्यक्रममा गर्ने प्रस्तुति र उहाँको नामका कारण पत्रकार बन्न मन लाग्यो र अहिले पत्रकारितामा छु’ भन्दा म दङ्ग परेँ । कलेजमा आमसञ्चार अध्यापनसमेत गरिरहेकी राधालाई राम्रो पत्रकारका रुपमा वर्षौंदेखि चिनेपनि आफूसँग जोडिएको उनको यो पृष्ठभूमि थाहा थिएन ।

सरकार परिवर्तन भएपछि घटना र विचारको टिम फेरिनु नयाँ कुरा थिएन । २०५३ सालको चैत्रमा नेकपा एमालेको सरकार आएपछि हामीले बिदा पायौँ । २०५४ सालको असोजमा नेपाली काङ्ग्रेसको सरकार बनेपछि कृष्ण कँडेल संचालक रहेको टिममा म फेरि प्रस्तुतकर्ता बनेर गएँ । घटना र विचारको मेरो दुवै कालमा नेपाली काङ्ग्रेस, राप्रपा र सद्भावनाको संयुक्त सरकार थियो । २०५५ सालमा नेपाली काङ्ग्रेस र राप्रपासँग नेकपा माले सरकारमा आयो । सूचना तथा संचार मन्त्रालय नेकपा मालेको भागमा प¥यो । भदौ महिना थियो जस्तो लाग्छ, म एउटा कार्यक्रमको सिलसिलामा फिलिपिन्स गएकी थिएँ । फर्कंदा उक्त टिमबाट मलाई हटाइसकिएको रहेछ । त्यसपछि सञ्चालक फेरिए र अर्कै टिमले कार्यक्रम चलाउन थाल्यो । अहिले सम्झिँदा नयाँ टिमले अलिकति अनुभव बटुल्न पाएको हुँदैन सरकार परिवर्तन हुनासाथ अर्को टिम आउने कुरा कति धेरै अब्यवसायिक थियो भनेर आफैलाई अप्ठ्यारो लाग्छ । आउने जाने क्रम राजनीतिक र अब्यवसायिक भएपनि घटना र विचारले पत्रकारिताको ब्यवसायिक जीवनमा धेरै कुरा सिकायो ।

पर्यवेक्षकलाई कसरी भेट्नुहुन्छ ?

घटना र विचारमा काम गर्दा खोटाङको सालम्बुस्थित घर गएको बेला गाउँका मानिसहरू मलाई भेट्न आए । जहाँ काम गरेपनि नगरेपनि गाउँघरमा बाहिरबाट कोही घर जाँदा भेट्न जानु सामान्य कुरा थियो । हामी पनि सानो छँदा कोही लामो समय बाहिर बसेर घर जाँदा दौडिएर भेट्न जान्थ्यौँ । वरिपरि राई बस्ती भएको त्यो सुदूर गाउँमा छिमेकीलाई काका, मामा, फुपु, बैनी, दाइ नाता लगाएरै बोल्ने चलन छ । म गएको थाहा पाएपछि गाउँका एक भदा मलाई भेट्न आए । सञ्चो-बिसञ्चो, कहिले फर्कने लगायतका कुराहरू सकिएपछि उनले रेडियो कार्यक्रमहरूको कुरा सुरु गरे । रेडियोमा काम गर्ने मान्छेहरू, गीत गाउने गायकहरू, विभिन्न कायक्रमका सञ्चालकहरू लगायतको कुरा गरिसकेपछि उनले सोधे- अनि फुपु, पर्यवेक्षकहरू चाहिँ रेडियोमा आफैं आउँछन् कि तपाईंहरू उनीहरूलाई भेट्न जानुहुन्छ ? बडो उत्साहका साथ कुरा गरिरहेकी मलाई उनको प्रश्नले स्तब्ध बनायो । के जवाफ दिनु ? एकछिन त म अलमल्ल परेँ र गोलमोटल जवाफ दिएँ । ओहो… हामीले सामान्य रुपमा आफूले भन्न चाहेको निष्कर्ष पर्यवेक्षकको नाममा श्रोतासम्म पु¥याउने गरेको कुरालाई सर्वसाधारणले कति गम्भीर रूपमा लिएका हुँदारहेछन् भन्ने कुराले मलाई असहज बनाएको थियो । रेडियोप्रति अगाध लगाव भएका गाउँका ती युवाको उक्त प्रश्नले मलाई पछिसम्म घोचिरह्यो । आफ्नो प्रस्तुतिलाई पुष्टि गर्नका लागि हामी प्रायः अन्तिममा ‘पर्यवेक्षकहरूले बताएका छन्’ भन्ने गर्थ्यौँ । उक्त घटनापछि मैले पर्यवेक्षक भन्ने शब्द सकेसम्म प्रयोग नगर्ने कोशिस गरेँ, गरिरहेकी छु ।

उच्च ओहदाबाट मुद्दातर्फ

के ‘करेन्ट अफेयर्स’मा राजनीतिक मुद्दाहरू मात्रै हुन्छन् ? सधैं राजनीतिकै वरिपरि घुमिरहने समाचार विश्लेषण र समसामयिक विषयलाई सुनेर मानिसहरूको मनमा यस्तो प्रश्न आउन सक्छ । विगतमा जे भएपनि अबका दिनमा रेडियो नेपालले विषयबस्तुमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ । ‘हाइऱ्यार्की’बाट ‘इस्यु’मा कसरी जाने ? समसामयिक कार्यक्रमका लागि रेडियो नेपालले आन्तरिक नीति बनाउनु आवश्यक छ । नीति नै बनेपछि प्रस्तोता जो आएपनि नीतिलाई मुख्य आधार मानेर कार्यक्रम गर्नुपर्ने हुन्छ । लामो समयसम्म समाचार र समाचारमूलक कार्यक्रममा उच्च पद र ओहदालाई मुख्य आधार मानेर समाचार र कार्यक्रमहरू निर्माण भए । कुन ओहदामा भएको मानिसले के बोल्यो भन्ने कुरा समाचार विश्लेषणको पनि आधार बन्यो, बनाइयो । २०४७ सालपछि जब ‘घटना र विचार’ सुरु भयो सरकारले नियुक्त गरेका पत्रकारहरूले विपक्षीको तीव्र आलोचना गर्दै सरकारका कुराहरूलाई बढाइचढाइ गरे । प्रधानमन्त्री र मन्त्रीहरूका मन्तब्य प्रमुख मुद्दा बने । राजनीतिक दलहरूको सरकार बनेपछि सत्तापक्षीय दलका गतिविधिले स्थान पाउँदै जाँदा अन्य विषय छायामा परे । समाचार मात्र होइन समाचार विश्लेषणका कार्यक्रमहरूले पनि उच्च ओहदालाई नै महत्व दिए । समय त्यस्तै थियो, कसले के बोल्यो भन्ने समाचार आएपछि हामीले ‘उसले त्यस्तो किन बोल्यो ?’ भन्ने बारेमा विश्लेषण गऱ्यौँ । बिना तालिम, बिना जानकारी एक्कासी हामी समसामयिक कार्यक्रमका सञ्चालक भएका थियौँ । जे गर्न सक्यौँ- समयअनुसार कोशिस गऱ्यौँ ।

रेडियोमा काम गर्ने मान्छेहरू, गीत गाउने गायकहरू, विभिन्न कायक्रमका सञ्चालकहरू लगायतको कुरा गरिसकेपछि उनले सोधे- अनि फुपु, पर्यवेक्षकहरू चाहिँ रेडियोमा आफैं आउँछन् कि तपाईंहरू उनीहरूलाई भेट्न जानुहुन्छ ? बडो उत्साहका साथ कुरा गरिरहेकी मलाई उनको प्रश्नले स्तब्ध बनायो ।

तर अहिलेको समय र परिस्थिति फरक छ । आज भन्दा ३० वर्षअगाडि रेडियो नेपालको कोही प्रतिष्पर्धी थिएन । अहिले ६ सय भन्दा बढी एफएम रेडियोहरूले समाचारसँगै समाचार विश्लेषण र समसामयिक विषयमा अन्तवार्ता तथा कार्यक्रमहरू दिइरहेका छन् । यो रेडियो नेपालका लागि ठुलो प्रतिस्पर्धाको समय हो । त्यसैले दिने सामाग्री र सामाग्री पस्किने पुरानो शैली बदलेर रेडियो नेपालका करेन्ट अफेयर्स कार्यक्रमहरू जनउपयोगी बनाउन जरुरी छ । करेन्ट अफेयर्समा गरिबी, हिंसा, स्वास्थ्य, शिक्षा, विकास, सुशासन, विपद् ब्यवस्थापन लगायतका कुराले पनि स्थान पाउनुपर्छ । रेडियो नेपाल पब्लिक सर्भिस ब्रोडकाष्टिङ (पीएसबी)तर्फ उन्मुख भएकाले समानता, समता, समावेशीकरणका साथै स्थानीय समूदायका आवाजलाई महत्व दिइनुपर्छ । वर्तमानमा भएका, घटेका घटनाहरू र आफूवरिपरिका मुद्दालाई करेन्ट अफेयर्सका मुद्दा बनाइनुपर्छ । समसामयिक विषयको विश्लेषण गर्दा कुनै पनि विषयमा भविष्यमा केसम्म हुन सक्छ भनेर आँकलन गरिने हुँदा जनसरोकारसँग सम्बन्धित मुद्दाले ठाउँ पाउँदा फलदायी हुन्छ ।

अहिले राजनीति मिडियाको वरिपरि घुमिरहने विषय हो । अस्थिर राजनीतिक परिवेशका कारण उथलपुथल भइरहने हुँदा राजनीतिक विषयबस्तु अहिले पनि ‘करेन्ट अफेयर्स’को प्रमुख विषय हो । उस्तै विषयमा मात्र केन्द्रित नभएर सडकदेखि संसद्सम्मका विषयहरू विश्लेषणका मुद्दा हुनुपर्छ । समाचारमा सबै कुरा दिन सकिँदैन तर करेन्ट अफेयर्सको दायरा फराकिलो हुन्छ, सम्बन्धित विषयको विगत, वर्तमान र भविष्यका बारेमा आँकलन गरेर सामग्री दिन सकिन्छ । विगतमा ओहदाअनुसारका वाणीहरू दिने गरिएपनि अब रेडियो नेपालले आफ्ना समसामयिक कार्यक्रमहरूलाई मुद्दामा आधारित बनाउनुपर्छ ।

लक्षित समूह को हुन् ?

‘करेन्ट अफेयर्स’ कार्यक्रमका लक्षित समूह को हुन् ? लक्षित समूहका बारेमा सर्वेक्षण भएको छैन । सामान्यतयाः राजनीति र मुलुकको समसामयिक विषयमा सरोकार राख्ने समूहलाई लक्षित समूह मानेर कार्यक्रमहरू निर्माण गर्ने गरिएको छ । तर मिडिया र प्रविधिको तीव्र विकासका कारण सर्वसाधारण मानिसहरू सबै नै अहिले समससामयिक विषयका लक्षित वर्ग हुन् । विभिन्न समयमा विकास हुने राजनीतिक घटनाक्रममा सर्वसाधारणको धारणा के हो ? अबका करेन्ट अफेयर्समा सर्वसाधारण जनताका आवाज पनि त्यतिकै महत्वका साथ समेटिन जरुरी छ । हिजोआज लामो कुरा सुन्ने मान्छेलाई समय र चाहना दुवै नभएकाले वर्षौंदेखि उस्तै भाषा, शैली र विषयबस्तुबाट ‘सिफ्ट’ भइ अब ‘स्मार्ट’ कार्यक्रम दिन सक्नुपर्छ । ‘करेन्ट अफेयर्स’मा गरिएका टिप्पणी र विश्लेषण ‘कन्फ्युजन’ बढाउने नभइ विषय बुझ्न सहज हुने खालका हुनुपर्छ । नकारात्मक सन्देश दिने, द्वन्द्व बढाउने कुरालाई घटाउँदै सकरात्मक सन्देश दिने र समस्याको समाधानतर्फ उन्मुख कार्यक्रम अहिलेको आवश्यकता हो । नकरात्मक हुनु र आलोचनात्मक हुनु फरक कुरा हो । समग्रमा करेन्ट अफेयर्स कार्यक्रमले अब सबै समूदायलाई आफ्ना लक्षित समूदाय ठानी अघि बढ्नुपर्छ ।