चलचित्र ‘प्रसाद-२’ प्रदर्शन नगर्न आदेश

चलचित्र ‘प्रसाद-२’ प्रदर्शन नगर्न आदेश


चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो ।

चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाइएका केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको तर चलचित्रबाट आफ्नो नाम हटाएको भन्दै पाण्डे अदालत पुगेका हुन् ।

पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्ने प्रयास गरेका थिए, तर बोर्डले अस्वीकार गरेपछि उनी अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।