गैरआवासीय नेपाली सङ्घको रुपान्तरण या पुनर्गठन ?

गैरआवासीय नेपाली सङ्घको रुपान्तरण या पुनर्गठन ?


(भाग २)

सीमित स्वार्थमा सङ्घ र समाजमा विग्रह ल्याउन उद्यत् विवादित पात्रहरू सङ्घको लागि घातक !

✍ सागर सुवेदी, अष्ट्रिया

भनिन्छ- प्रकृति चलायमान छ, प्रकृतिले राम्रा/नराम्रा हरेक विषयलाई लिन्छ अनि फिल्टर गर्छ, यसको इको सिस्टम अचम्मको छ, जहाँ अपुग हुन्छ त्यहाँ पूर्ति भइरहेको हुन्छ । यसको आफ्नै नियम छ, आफ्नै अनुशासनसमेत छ, जसलाई महसूस गर्न प्रकृतिको चलायमान शक्तिलाई बुझ्ने चेष्टा गर्नुपर्छ ।

हो, यस्तै अनुशासनको परिधिमा मानव रहनु पर्दछ । अझ समाजको लागि केही योगदान गर्छु भन्ने व्यक्तिले त प्राकृतिक नियमको अनुशरण हरदम गर्नु पर्दछ । यदि अवज्ञा गरेर अगाडि बढ्न खोजे यसले क्षति मात्र गर्दछ । राज्य, यसका निकाय, सङ्घ–संस्थाहरू जस्तै; गैरनाफामुलक भनिएका गैरआवासीय नेपाली सङ्घ जस्ता संस्थामा त झन् अनुशासन हुनु अपरिहार्य छ । तर पछिल्लो अवस्थालाई मुल्याङ्कन गर्ने हो भने यहाँभित्र अनुसाशनहीनता चरम उचाइमा पुगिरहेको छ । यतिका अनुशासनहीनता किन र यसका पछाडिको उद्देश्यको कारणमा जानुभन्दा पहिला यसको स्थापनाको भित्री उद्देश्यलाई बुझ्दा अलिक सहज हुन्छ । मैले योभन्दा अगाडि प्रकाशित लेख (भाग १) को अन्त्यमा यसलाई भत्काउन जरुरी छ, यसको पुनर्गठनको आवश्यकता छ भनेको थिएँ । यो संस्थाको पुनर्गठनको आवश्यकता किन भन्नेमा यो लेखलाई केन्द्रीत गर्न चाहेको छु ।

बाहिर जे भनेर प्रचार गरिएपनि सङ्घ स्थापनाको प्रमुख उद्देश्य भनेको एलिट वर्गका लागि धन, ब्यापार साथै नेपालको राजनीतिमा आफ्नो रवाफ जमाउनकै लागि स्थापना गरिएको थियो । यस विषय र यसमा मञ्चित गरिएका घटनाहरू समयक्रमसँगै यसको पुष्टिसमेत भइसकेको छ । गैरआवासीय नेपाली अभियान यदि नेपाल र नेपालीका लागि हुन्थ्यो भने यसले अवलम्बन गर्ने मार्ग फरक हुनु आवश्यक थियो । सत्य भन्दा पंक्तिकार जस्तो मध्यम वर्गका पहिलो पुस्ताको नेपालीहरूले आफ्नो ज्ञान सीप र स–सानो एकीकृत पुँजीको माध्यमबाट मातृभूमिलाई योगदान गर्ने मार्ग अवलम्बन गरि यसको प्रारम्भिक गोरेटो कोर्दै लैजानुपर्नेमा सङ्घलाई जबर्जस्ती गलत मार्गमा धकेलेर हिँडाउने प्रयास गराइरहेको देखिन्छ । अर्थात्, यो संस्थाको स्थापना जे उद्देश्यको लागि सीमित एलिटहरूले गरेका थिए आजसम्म तिनै एलिट पात्रहरूको स्वार्थवरिपरि सङ्घलाई हिँडाइएको छ । अर्कोतर्फ एलिटहरूले फालेको हड्डी चबाइरहेका आफूलाई गैरआवासीय नेपाली सङ्घको अभियन्ता भन्नेहरूले धरातलीय यथार्थता नबुझी उनीहरूको स्वार्थको लागि काम गरिरहेको पछिल्लो अवस्था छ ।

अब महसूस गरौँ, सामान्य मध्यम वर्गको प्रथम पुस्ताका नेपालीहरूको लागि अहिलेको गैरआवासीय सङ्घ हो त ? यसले गरिरहेका गतिविधिहरू बढ्दो गैरआवासीय नेपाली समाजलाई आवश्यक छ त ? यस विषयलाई लिएर थोरै घोत्लिने हो भने यसको उत्तर सहज छ । तर, बाहिर जे देखाउने प्रयास गरिएको छ त्यसलाई मात्र हेर्ने हो भने यसको उत्तर प्राप्त गर्न कठिन छ । समस्याको मूल जरो पनि यसैको वरिपरि घुमिरहेको देखिन्छ ।

स्थापना भएर आएको आजको दिनसम्म आइपुग्दा यस सङ्घलाई देखाएर औंलामा गन्न सकिने व्यक्तिहरू नेपाली अर्बपतिको सुचिमा परिसकेका छन्, तर यी व्यक्तिहरूको विगत के थियो र यतिका धन आर्जन गरेर आफूलाई एलिट वर्गको नेता कसरी बनाउन सफल भए भन्ने कारण कसैले खोज्दैन । नेपालका बैंक, हाइड्रो, होटल, मेडियालगायत ठुला-ठुला नाफामुलक व्यापारमा यिनै एलिटहरूको लगानी छ, सँगै नेपालको राजनीतिमा पनि उनीहरूको प्रभाव छ, यसबाट मुलुकले के पाइरहेको छ, गैरआवासीयहरूले के प्राप्त गरेका छन्, साथै नेपाल (राज्य)ले के प्राप्त गरिरहेको छ कसैले लेखाजोखा गरिरहेको देखिँदैन ।

स्थापानादेखि पछिल्लो समय सङ्घको फुटको अन्तिम समयमा सन् २०२१-२०२३ को कार्यकालको बाचन हुनुमा पनि एलिट वर्गका व्यक्तिहरूको हात थियो, अझ अन्तिम समयमा त एलिट वर्गका व्यक्तिहरूको नुनपानी खाइरहेका नेपालका प्रमुख राजनीतिक दल र आफूलाई युवाहरूको मसिहा भन्ने नेपाली राजनीतिजीवीले मध्यस्तता गरेर हालको कथित ‘कार्यसमिति’ निर्माण गरिने प्रक्रियामा ल्याएको हामीले बुझेका हौँ । यो प्रक्रियालाई आम गैरआवासीयहरूले आत्मसात गर्न सकिरहेका छैनन् । यति हुँदाहुँदै एलिट-एलिटको लडाइँमा अर्को एक सानो समूह कोशिसका बाबजुद चोइटिएर नै गयो । तत्पश्चात चोइटिएको समुहलाई एक साथ ल्याउने प्रयास गरियो, जसले प्रयास गरे- निष्ठापूर्वक गरे, मेलमिलाप गराउने म्यान्डेट पाएको वार्ता समितिले हाँगा जोड्ने प्रयास जारी राखेको देखिन्छ । तर, जो चोइटिएर गए तिनले न आधिकारिकाता प्राप्त गर्न सके न कुनै प्रगति । समितिले पनि जड समस्यामा नगएर हाँगाहरूमा गएर काम गर्ने प्रयास ग¥यो ।

सन् २०१७-१९ कार्यकालमा दुई ध्रुवका एलिटको लडाइँमा बाहिरबाट कुमार पन्त र कुल आचार्य लडेका देखियो, भलै यसमा एलिटहरूको जुक्तिअनुरुप नेकपा एमाले र नेपाली काङ्ग्रेस भनेर आम मध्यम वर्गका व्यक्तिहरूको आस्थालाई मनोवैज्ञानिक तवरले प्रयोग गरियो, तर लडाइँ एलिट वर्गका दुई व्यक्तिहरूको बीचमा थियो जसले एकले अर्काको अस्तिस्त्व स्वीकार गर्न सक्दैनन् र, पोल पनि खोल्न सक्दैनन् । किनकि, तिनीहरूले आर्जन गरेको अथाह सम्पतिको ‘राज’ ती दुवैलाई प्रस्टसँग थाहा छ । तर, ती व्यक्तिहरूले गैरआवासीय आम नेपालीहरूलाई आस्थाको अतिक्रमणको संज्ञा दिलाएर लडाइरहेका छन्, कहिलेसम्म लडाइरहने हुन् ? सबै अनविज्ञ छन् ।

आज त्यो लडाइँ कुल आचार्य र डा. बद्री केसीसम्म आइपुगेको छ. जबसम्म यो सङ्घलाई पूर्ण भत्काएर पुनर्गठनको प्रक्रियामा लगिँदैन, एलिटहरूलाई समग्र अभियानबाट बाहिर राख्ने काम हुँदैन तबसम्म यी वर्गका व्यक्तिहरूले निर्माण गर्ने पात्रहरूले ‘फुल पार्दै बच्चा कोरल्दै’ जाने छन्, यसकारण यो प्रक्रिया अझै अगडि जाने निश्चित देखिन्छ । यसरी लम्बिँदै जाँदा गैरआवासीय मनहरूलाई अझ बढी भाँचिरहने निश्चित छ ।

कृष्ण लामिछाने आत्महत्या प्रकरणको जरोमा कतै न कतै गैरआवासीय नेपाली सङ्घको घृणित राजनीति प्रस्ट देखिन्छ । पारिवारिक समस्या भनेर बाहिर प्रचार गरिएपनि यसको मुख्य भित्री कारण गैरआवासीय नेपाली सङ्घभित्रको लडाइँको दुःखद कथा थियो, यसलाई खोतल्ने हो भने यिनै दुवै वर्गको उपयोगिताको शिकार कृष्ण लामिछाने बनेका हुन् ।

यसो भन्दैमा सम्पूर्ण गैरआवासीय नेपाली सङ्घ एलिट वर्गको पूर्ण स्वार्थअनुरुप मात्र चलिरहेको भन्न खोजिएको हैन । यसो भन्दै गर्दा यहाँ केही फरक आधारहरू छन्, एलिट वर्ग र आम गैरआवासीयहरूका बीचमा केही स्वार्थ-समूह छ, स्वार्थ-समुहको बीचमा केहि प्रयोग हुने पात्रहरू छन्, यी प्रयोग भइरहेका पात्रहरूले गरेका क्रियाकलापलाई हेर्ने हो भने यिनलाई ‘सुकुलगुण्डा’ भन्न सकिन्छ । यिनीहरू कतै पार्टीको कार्यकर्ता बनेको जस्ता देखिन्छन्, कतै आफूलाई आफैले विज्ञसमेत भन्दछन् । यी पात्रहरूले समग्र गैरआवासीयहरूको उद्दार गरिरहेको जस्तो देखाउने प्रयास गर्छन्, यसैको माध्यमबाट आफ्नो स्वार्थ पूर्ति गर्ने प्रयास गर्ने गर्दछन्, केन्द्रीय चुनाव हुँदा एलिटहरूले उठाएका समुहको बखान गर्दछन्, उनीहरूबाट लिएको पैसामा मस्ती गर्दछन्, एक प्रकारले दलालीको कामसमेत यिनै सुकुलगुण्डाहरूको भागमा पर्दछ ।

सदैव केन्द्रीय महाधिवेशनहरूमा देखिँदै आएका यी पात्रहरूसँगै केही रातारात नयाँ जन्मेका पात्रहरू पछिल्लो समय युरोप क्षेत्रले चेक गणतन्त्रमा आयोजना गर्ने भनिएको क्षेत्रीय बैठकको तयारीमा यिनीहरू हाबी हुन खोजेको प्रस्ट देखियो । आज यिनै सुकुलगुण्डा प्रवृत्ति हाबी हुने प्रयास हुँदा चेक क्षेत्रीय बैठक अनिश्चित बन्ने अवस्था सिर्जना भयो । यी सुकुलगुण्डाका भेष धारण गरेकाहरूलाई हेर्ने हो भने आफ्नो घर लथालिङ्ग पारेर समाज निर्माण गर्छु भनेर दिनरात जुम बैठकको आयोजना गरी दर्शक नै नहुने कार्यक्रमहरू आयोजना गर्दै आइरहेका हुन्छन् । पार्टी र आस्था अनि सम्बन्ध रातभरीमा बदल्न यी पात्रहरू खप्पिस हुन्छन्, यिनीहरूले यसैलाई माध्यम बनाएर आफ्नो व्यक्तिगत इगोलाई शान्त पारिरहेका भेटिन्छन् । यी पात्रहरू एक चरम भ्रममा बाँचिरहेका हुन्छन्, यिनलाई लाग्छ कि सिङ्गो आकाश आफैले थामेको छु ! यस्ता हास्यास्पद विषय बेला-बेलामा यिनीहरूले आफ्नै मुखबाट ब्यक्त गर्न लाज मान्दैनन् । यी पात्रहरूको व्यक्ति इगो ब्यवस्थापनसँगै पद प्राप्तिलाई प्रमुख विषय ठानेका हुँदारहेछन्, यसैलाई माध्यम बनाएर यी पात्रहरूमा संस्था कब्जा गर्ने र एलिट वर्गमा सामेल हुने नमज्जाको भ्रम पलाइरहेको देखिँदोरहेछ । तर यस्ता व्यक्तिले नबुझेको विषय भनेको यी व्यक्तिहरू प्रयोगका पात्र मात्र हुन् । सङ्घको उज्जल मार्गमा ब्यवधान पैदा गर्नेहरूमा एलिट वर्गका व्यक्तित्व पछि यी सुकुलगुण्डा प्रवृत्तिका पात्रहरूहरू हुन् भन्न सकिन्छ ।

सुकुलगुण्डाहरू आफ्नो व्यक्तिगत स्वार्थमा एलिटहरूको नजिक पुग्ने प्रयास गर्दछन् भने त्योभन्दा बाहिर मध्यम वर्गका व्यक्तिहरू जो समाजमा जोडिएर केही सकारात्मक काम गर्न चाहनेहरूलाई चाहिँ एलिटहरूले प्रयोग गर्दछन् । कसरी प्रयोग गर्दारहेछन् भन्ने एक प्रखर उदाहरण भर्खर अमेरिकामा आत्महत्या गरेका कृष्ण लामिछानेको पारिवारिक व्यथालाई मनन गर्ने हो भने प्रस्ट हुन्छ । कृष्ण लामिछाने आत्महत्या प्रकरणको जरोमा कतै न कतै गैरआवासीय नेपाली सङ्घको घृणित राजनीति प्रस्ट देखिन्छ । पारिवारिक समस्या भनेर बाहिर प्रचार गरिएपनि यसको मुख्य भित्री कारण गैरआवासीय नेपाली सङ्घभित्रको लडाइँको दुःखद कथा थियो, यसलाई खोतल्ने हो भने यिनै दुवै वर्गको उपयोगिताको शिकार कृष्ण लामिछाने बनेका हुन् । यहाँ लामिछाने जस्ता मध्यम वर्गले बुझ्न नसकेको विषय र यसभित्रका बदनाम तर आफूलाई महान् ठान्दै आत्मरतिमा रमाइरहेका पात्रहरूले बुझ्ने प्रयास नगरेको विषय भनेको यिनीहरूको प्रयोग भइसकेपछि यसरी फालिन्छन् कि यिनीहरू फर्किने बाटो आफैले समाप्त पारिसकेका हुने रहेछन् । सुकुलगुण्डाको स्थानमा लामिछानेलाई राख्न सकिँदैन तर सामान्य व्यक्तिलाई कसरी प्रयोग गरिन्छ भन्ने विषय उहाँको आत्महत्या प्रकरणमा प्रस्ट देखिन्छ ।

गैरआवासीय नेपाली सङ्घको आफ्नो साखको कुरा गर्ने हो भने, बेलायतजस्तो लाखौँ नेपाली बसोबास गर्ने मुलुकमा सदस्यता खुलाउँदा सयको सङ्ख्यामा स्वस्फूर्त सदस्य बन्दैनन्, सङ्घका समग्र पञ्जिकृत सदस्यभन्दा धेरै कुनै जातीय तथा क्षेत्रिय समाजमा पञ्जिकृत सदस्यहरू हुन्छन् । बेलायतलाई मैले उदारहणका रूपमा प्रस्तुत गरे तापनि समग्र मुलुकहरूको कथा उस्तै छ । सङ्घ आफ्नो क्रियाशीलताको दौडानमा आफ्नो उचाइ लिनुपर्नेमा, यसका क्रियाकलाप र यसमा जोडिएका बदनाम पात्रहरू, सबै अभियन्तालाई एकै डोकोमा हाल्न मिल्दैन भन्ने विषयमा पङ्क्तिकार सचेत छ । तर बहुमत यस्ता पात्रका कारण समग्र अभियान अरु बदनाम बनिरहेको छ, दोश्रो पुस्ताको कुरा यहाँ नगरौँ, म जस्ता प्रथम पुस्ताका गैरआवासीयहरू पनि यहाँ जोडिन चाहँदैनन्, यसमा गए विवादित बनिन्छ, घरबार बिग्रन्छ भन्ने सोच पछिल्लो समय बढ्दो छ, तर यतिका अहम् समस्याहरू असरल्ल छन् भन्ने थाहा पाए तापनि आफूलाई यसको अभियन्ता भन्नेहरू खुलेर बहस गर्न चाहँदैनन्, किनकि यिनीहरू मात्र गुटभित्र खुशी हुन्छन्, त्यही कुरा गर्दछन्, सानो कोटरीमा रमाउँछन् र सबै गर्ने हामी नै हो भन्ने भ्रममै खुशी भइरहेका हुन्छन् । जबसम्म समस्याका विषयहरूलाई लिपिवद्ध गर्दै हरेक बिन्दुमा नयाँ सोचका साथ काम गरिँदैन, समग्र अभियान अगाडि बढ्न सक्दैन ।

माथिको विवाद तल्लो तहका राष्ट्रिय समन्वय परिषद्हरूमा आउँदा सम्बन्धित मुलुकहरूका व्यक्तिहरूमा सङ्घकै कारण व्यक्तिगत दुस्मनी बढ्दो छ । समाधानको उपाय र एनसीसीको स्वयततासँगै अनुशासन कायम गर्ने सवालमा कतै काम भएको छैन । एलिटसँगै सुकुलगुण्डे पात्रहरूको स्वार्थमा डायस्पोराको समाज तल्लो तहसम्म दुई चिरामा बाँडिएको छ । यो सबै देख्दा सरोकार राख्नेहरू चिन्तित देखिन्छन् तर यसलाई जोड्न कुनै पहल भएका छैनन् ।

विश्वभर भएका राष्ट्रिय समुन्वय समितिहरू कतै न कतै दोस्रो तहका स्वार्थ-समुहमा आवद्ध व्यक्तिहरूको लगाममा देखिन्छन्, जो मान्दैनन् विद्रोह गर्न खोज्छन्, सबै स्वार्थ-समुहहरू मिलेर फरक आवाजलाई कुल्चने काम गर्दछन् । समस्याको समाधान सहमति भनिन्छ, तर सहमतिको मार्ग पहिचानमा कसैको ध्यान हुँदैन । समाधानको उपाय खोजीमा बहस गर्नेहरू न्युन छन् । यस्तै अवस्था रहँदा यो अभियान धेरै टाढा जाने अवस्था रहँदैन । त्यसैले सङ्घ विघटनको आवाज उठ्नुभन्दा अगावै यसले सुरुवाती दिनदेखि लिएका नीतिलाई केही परिमार्जित र अधिकलाई खारेज गर्दै नयाँ शिरामा समग्र सङ्घको पुनर्गठन आजको आवश्यकता देखिन्छ । चलायमान प्रकृतिजस्तै सङ्घ पनि यसका राम्रा क्रियाकलापका माध्यमबाट चलायमान बनाउन आवश्यक छ ।

(सुवेदी गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रका उपसंयोजक हुन् । – सं.)

भाग १ लाई तलको लिङ्कमा क्लिक गरेर पढ्न सक्नुहुनेछ

https://ghatanarabichar.com/260781