गैरआवासीय नेपाली संघको रुपान्तरण या पुनर्गठन ?

गैरआवासीय नेपाली संघको रुपान्तरण या पुनर्गठन ?


(भाग १ )

संघमा विकशित पछिल्लो अवस्थाले तत्कालिन संघलाई टुक्रिनबाट जोगाउन गरिएको सोचलाई उल्टाइदिएको छ ।
  • सागर सुवेदी, अष्ट्रिया

पछिल्लो समय गैरआवासीय नेपाली संघमा जोडतोडले उठिरहेको बहस हो- संघको रुपान्तरण । संघको रुपान्तरण अबको आवश्यकता विषयमा एक पटक संजाल तातेको देखिन्थ्यो । डायस्पोरामा रही निरन्तर कलाम चलाइरहेका केही लेखक, पत्रकार साथीहरूले अबको गैरआवासीय नेपाली संघको रुपान्तारण कसरी भन्ने विषयमा ठोस खाकाकै रूपमा लेखे पनि स्वयम् संघको नेतृत्व गरेकाहरू र नेतृत्वको लागि लालायितहरूले गैरआवासीय नेपाली संघलाई कस्तो रुपान्तरणको प्रकृयामा लैजाने हो कतै प्रस्ट बताउन सकिरहेका छैनन्, भलै यसै रुपान्तरण शब्दलाई जोड्दै संघको युरोप क्षेत्रले स्टकहोल्म्समा आयोजना गरेको क्षेत्रिय सम्मेलनमा मूल नारा नै बनायो, ठोस योजनाबिना नारा मात्र बनाउँदैमा संघको नीति सोही नाराका पछाडि चल्न नसक्ने रहेछ भन्ने विषय सोही कार्यक्रमको अन्त्यमा आउँदै गर्दा प्रस्ट देखियो । अर्को अर्थमा भन्दा चरित्रमा प्रवेश नगरेको मुद्दा मुखले जति नै जपे पनि यसबाट कुनै उपलब्धि प्राप्त नहुँदोरहेछ भन्ने विषय पनि संघको क्षेत्रिय बैठकमा प्रस्ट देखियो । अर्को अर्थमा भन्दा आयोजक राष्ट्र सफल देखिए पनि नाराअनुरुप कार्यक्रम ब्यवस्थापन गर्न नसक्दा समग्र युरोप क्षेत्र असफल देखियो ।

युरोप क्षेत्रिय सम्मेलनको आयोजनामा मञ्चन गर्न खोजिएका कथाहरू आगामी दिनमा लेखौँला, तर आज गैरआवासीय नेपाली संघको पछिल्लो चरम गिर्दो साख र गन्जागोल सँगसँगै ‘म’ नभए संघ नै चल्दैन भन्ने कथित सोच राख्नेहरू, कथित पात्रहरू, साथै ती पात्रहरूले संघभित्र विविध नाममा स्थाइ गिरोह नै संचालन गरेर बढिरहेको स्थितिमा संघलाई रुपान्तरण मात्र नगरेर संघको पुनर्गठन आवश्यक भन्ने विषयलाई अबका लेखहरूमा चर्चा गर्न चाहिरहेको छु । यो चर्चाभन्दा पहिला संघको साख कहिलेबाट गिर्न सुरु भयो भन्ने विषयलाई छोटकरीमा जोड्दा पाठक वर्गलाई न्याय हुन्छ भन्ने मेरो बुझाइ रहयो ।

स्थापना सँगसँगै आफ्नै लयमा चलिरहेको संघमा पहिला व्यक्तिगत स्वार्थ जोडिएर आए, तिनै स्वार्थहरू कालान्तरमा ब्यापारिक स्वार्थमा बदलिए, हामीमध्ये कति गरआवासीय नेपालीहरू साधारण सदस्य मात्र बनेको आधारलाई देखाएर केही व्यक्तिहरूले यसै संघलाई प्रयोग गरी आफ्नो ब्यापारिक साम्राज्यसमेत खडा गरिसके । उक्त समय, संघ कुनै गैरआवासीय हरूको हक र हितको लागि भन्दा व्यक्तिको हितको लागि प्रयोग भैरहेको थियो ।

यससँगै अचनाक डा. शेष घलेलाई संघमा प्रवेश गराइयो, सोझा घलेको छोरा रिमोटबाट संचालन गर्न पनि सकिने र उनीसँग मनग्गे पैसा पनि भएको आधारलाई हेर्दा प्रयोग पनि गर्न सकिने उक्त समुहको योजना हुनुपर्थ्यो, तर एक कार्यकालको अन्तिम हुँदै गर्दा घले उनीहरू भन्दा बाठो र बढी कुटनीति गर्ने बनेर प्रस्तुत बनिदिँदा उनको दोश्रो कार्यकालको सुरुवातीसँगै संघभित्र ती स्वार्थ समुहको द्वन्द्वमा घले परे । द्वन्द्व सिर्जना हुनुमा स्वार्थ समुह नै कारक भन्न नसकिएला तर घलेको ब्यवहारले उनको अन्तरिक मनोकाङ्क्षा बढेर गएको देखियो । सो द्वन्द्व घलेपछिको भट्ट कार्यकालसँगै २०१९–२०२१ पन्त कार्यकालको निर्वाचनबाट प्रस्टसँग सतहमै आयो । त्यति मात्र नभएर यहाँ संघको नेतृत्व कसले गर्ने भन्ने सवालमा नेपालको घृणित पार्टीगत राजनीति जबर्जस्त जोडियो ।

सोही सिलसिला फरक तवरले आज पनि गैरआवासीय नेपाली संघमा कालो बादल बनेर मडारिरहेका देखिन्छन् । पात्रहरू फेरिने हो कि जस्तो देखिन्छ तर प्रवृत्ति उस्तै देखिरहेको छ ।

यसबाट फाइदा लिने समुहले नेपालमा गैरआवासीय नेपालीका नेता भनिनेहरूबाट राम्रै लाभ लिएको चर्चा पनि चल्यो । नेतृत्व हत्याउनका निमित्त सकेका हत्कण्डाहरू अवलम्बन गरिए, तर समग्रमा भन्दा यसमा दुई फ्याक्टरले अगाडिको मोर्चा सम्हालेको देखियो । बाहिरबाट हेर्दा आफूलाई डेमोक्रेट भन्ने पक्ष जसलाई कुल आचार्यले नेतृत्व गरेको जस्तो देखिन्थ्यो, आफूलाई प्रगतिशील भन्ने अर्को पक्ष थियो त्यसलाई डा. बद्री केसीले नेतृत्व गरेजस्तो देखिन्थ्यो, तर उक्त समय अध्यक्षका उम्मेदवार चाहिँ कुमार पन्त थिए । तर सत्य बोल्दा न डेमोक्रेटको नेतृत्व कुल आचार्यले गरेका थिए न आजसम्म डा. केसीले कथित प्रगतिशील भनिने पक्षको नेतृत्व नै गरेका छन् ।

प्रस्ट भन्नुपर्दा ती स्वार्थ समुहले सोझा गैरआवासीय नेपालीहरूको आस्था र विश्वासमा खेलेर उनीहरूको मत आफ्नो पक्षमा पर्ने उद्देश्य थियो । अझ प्रस्ट्याउँदा, डेमोक्रेट र प्रगतिशील भनिनेहरूको नाममा आयोजित गरिएको लडाइँ पदप्राप्तिको थियो । गैरआवासीय नेपाली संघलाई कब्जा गर्ने अभिप्राय मात्र थियो ।

पछिल्लो समयलाई गहिरिएर हेर्दा संघ कब्जा गर्ने अभिप्राय थियो भन्ने कुरा सम्बन्धित व्यक्तिहरूका गतिविधिले पुष्टि गरिसकेका छन् । तत्कालिन समय कुल आचार्यलाई अगाडि लगाएर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि एक समुह उहाँसँगै हिँडिरहेको थियो । झन् डा. केसीले नेतृत्व गरेको भनेको समूहमा आफूलाई हार्डलाइनर भनेर गर्व गर्नेहरूको बिगबिगी नै थियो र अझै छ, तर त्यहाँ गौरी जोशी जस्ता नितान्त सामाजिक भावानाले ओतप्रेत भएका व्यक्तित्व पनि कुनै परिबन्धमा परेर जोडिन आएका देखिन्छन् ।

झट्ट हेर्दा समग्र गैरआवासीयहरूको दृष्टिकोणमा नेतृत्वका लागि लालायित दुई भिलेनहरू डा. केसी र आचार्यलाई बनाएर प्रस्तुत गरिए पनि यी दुबैको पछाडि बसेर संघलाई कब्जा गर्नुपर्छ भन्ने मानसिकता भएका र आफूलाई हार्डलाइनर भनिने हरूले नै आचार्य र डा. केसीलाई भुलभुलैयामा पारिरहेका देखिन्थे ।

आज त्यो समूह आचार्यबाट टुक्रा-टुक्रा बनेर छरपस्ट भैसकेको छ भने डा. केसीलाई त्यसै समुहले आजसम्म पनि मिठो भाषामा धम्काइरहेको देखिन्छ । डा. केसी यो समुहको नेतृत्व गर्नेहरूको मिठो धम्कीलाई क्रस गरेर जान सक्ने अवस्थामा देखिँदैनन् । त्यसैले जबसम्म यी प्रवृत्ति र पात्रहरू गैरआवासीय नेपाली संघमा कुपात्र बनेर रहिरहन्छन् तबसम्म संघ अगाडि बढ्न नसक्ने देखिन्छ ।

संघको नेतृत्वमा रहेका तीन नेतृत्वकर्तामध्ये रविना थापाको बारेमा मैले कुनै विषय लेख्न आवश्यक ठानिनँ, बाँकी दुई अध्यक्षमध्ये आचार्यको कमजोर पक्ष भनेको सल्लाह लिएर काम नगर्ने, काम गरिहाले भने सो कामको बारेमा अडान लिन नसक्ने, भिजन निर्माण नगरिकन अगाडि बढ्न खोज्ने र, डा. केसीको कमजोर पक्ष भनेको गुटभन्दा बाहिर गएर समग्र गैरआवासीयहरूको नेता हुँ भनी प्रस्तुत हुन नसक्ने । डा. केसी के सोच्छन् भन्ने प्रस्ट विषय कसैलाई थाहा नहुने ।

माथिको परिच्छेदमा लेखिएका पात्र, प्रवृत्ति र विषयहरू तत्कालिन अध्यक्ष पन्तको थप कार्यकालपश्चात वाचन गरिएको वर्तमान जम्बो कार्यसमितिसँगै निराकरण भएर जान्छन् भन्ने एक किसिमको आँकलन थियो, पदाधिकारीहरू यसरी मनोनित गरेर वाचन गरियो, जसले ती पदहरूको लागि वाचनको अघिल्लो दिनसम्म स्वयममा ती व्यक्तिहरूले आफै घोषणा या माग नै गरेका थिएनन्, विधानभन्दा बाहिरबाट सृजित गरिएका अनावश्यक पदहरूबाट केन्द्रिय र क्षेत्रिय समितिहरू जम्बो बनाइयो । यसरी बनाइनुको अर्थ थियो– पदप्राप्तिको लागि लडिरहेकाहरू सबैलाई मागेको या प्रचार गरेको भन्दा एक तहको पद थमाइदिने ! अझ कतै पनि उम्मेदवारी दिन्छु समेत नभनेकाहरूलाई पनि उम्मेदवारी दिएको बनाएर जबर्जस्ती बाचनमार्फत पद दिएको घोषणा गराइदिने, सबैलाई पद मात्र दिएपछि संघमा समस्या नआउने र यसकै कारण संघ बलियो बन्ने आँकलन हुन सक्थ्यो ।

तर, संघमा विकशित पछिल्लो अवस्थाले तत्कालिन संघलाई टुक्रिनबाट जोगाउन गरिएको सोचलाई उल्टाइदिएको छ । आन्तरिक रूपमा यहाँ कोही सन्तुष्ट छैनन् तर किन असन्तुष्टि भन्ने विषय स्वयम् असन्तुष्टि भएको पात्र आफैं रनभुल्ल परिरहेको छ । चर्को अन्तरविरोध यतिसम्म छ कि यहाँ विरोध किन गरिएको भन्ने विषयमा विरोध गर्नेले नै प्रस्ट भन्न सकिरहेका देखिँदैनन् । अझ भन्दा, अनुशासनहीनता, संघभित्रको अनुशासनहीनता यतिसम्म बढेको देखिन्छ कि यहाँ सब एक से एक छन्, कसैले कसैको अस्तित्व स्वीकार गर्नै चाहँदैनन्, मात्र चाहना भनेको आफ्नो गुट बलियो कसरी निर्माण गर्ने, भजन गाउने व्यक्तिहरू कसरी बढी बनाउने, व्यक्ति कसरि बलियो बन्ने भन्ने ध्येय ।

यसको पछिल्लो उदहारण कुनै साधारण (विधानले नचिन्ने) टास्क फोर्स गठनमा प्रस्ट देखियो । संघको पछिल्लो कठिन परिस्थितिलाई मुल्यांकन गर्न सक्ने, जसको लागि निर्माण गरिएको हो त्यसमा विषयगत ज्ञान भएका व्यक्तिहरूलाई त्यहाँ राख्दा संघको गरिमा बढाउने भन्दा त्यो पात्र छरपस्ट नाङ्गो बनेर ती पात्रहरूलाई संजालमा रातदिन प्रचार गरेका पात्रहरूलाई पद दिलाउने काम गरियो, यसलाई केन्द्रिय अध्यक्षहरू र महासचिवहरू समेतले रोक्न नसकेको देखियो । यसको कारण थियो कसैले कसैको अस्तित्व स्वीकार नगर्नु । गैरआवासीय नेपाली संघलाई यस्ता कथित पात्रहरूले चलाउने प्रयास गरिरहेका छन, ती पात्रहरू बाहिर मुग्ध पार्ने गरेर बोल्न खप्पिस छन् तर भित्र यिनीहरू अरु व्यक्तिहरूको संघमा उपस्थितिलाई स्वीकार गर्न सक्दैनन् ।

यस्तै पात्रहरूको गुट-उपगुटहरू मौलाउँदै जाँदा पछिल्लो समय संघभित्र विवाद र असहमतिहरू हिजोभन्दा कयौँ गुणा बढेर गएको छ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गरिनुभन्दा झन् जरा गाडेर संघलाई थप जर्जर अवस्थामा पुऱ्याइरहेको छ । यिनै पात्र र प्रवृत्तिको कारण, कुनै चमत्कार नभएको खण्डमा, संघको ओरालो यात्रालाई पूर्णबिराम लगाउन गाह्रो देखिएको छ । हरेक कहालीलाग्दा काला रातपश्चात बिहानी घाम आउने भनेजस्तै संघको बिहानीको लागि यसको पुनर्गठन अबको बहस बन्नु पर्दछ । नयाँ घर बनाउन यसलाई टालेर यसका कमजोरी छोप्नु भन्दा यसमा भएका गलत प्रवृति र व्यक्तिहरूलाई निरुत्साहित गर्न आवश्यक छ, भत्काउनु आवश्यक छ, रुपान्तरण नभइ पुनर्गठन आवश्यक छ । (क्रमशः)

(सुवेदी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक हुन् । – सं.)