अनुपम समर्पण

अनुपम समर्पण


(कथा)
✍ डिल्ली अम्माई

उ काममा जाने बाटोमा एउटा चिहानसहितको चर्च छ । शिशिरमा सडकको छेउमा क्वेर्कस रोबरका रुख आफ्ना पाहुनाहरूलाई स्वागत गर्न हतारिएझैँ लाइन लागेर उभिएका छन् । तर नजिकैको चिहानमा लगिँदै गरेका शवहरू उनीहरूले गणना गर्छन्-गर्दैनन्, कसैलाई थाहा छैन । चीर निद्रामा लस्करै सुताइएका लासहरूको लामलाई बीचबीचमा पनि हनिसकल, ग्रोस, रोजा क्यानिना, ओखर र धुपी सल्लाका रुखहरूको छहारीले शितलता प्रदान गरेको छ ।

चिहानमा सुतेका निर्जीव शरीरको के कुरा गर्नु र अरु ! तर सजीव रुख र कोर्नुस फूलका बोटहरूले लाग्छ- कहिल्यै नटुंगिने बहस छेडेका छन् । जिउनु र मर्नुबीचको अन्तर ! अर्थात्, जीवन बगेर सकिएपछि रित्तो घरजस्तै बनेको पृथ्वीको तस्बिरबारेको बार्तालाप !

ऊ एकछिन चिहानको नजिकै एकोहोरो टोलाउँछ । चिहानको कापबाट निस्केको प्राणजस्तै हरियो घाँस हेर्छ र गुन्गुनाउँदै काममा पुग्छ । चिहान नआइन्जेल उसले नानाथरि कुरा सोच्दो हो । हुन सक्छ- कामको बारेमा ! हुन सक्छ- कामबाट फर्केपछि गर्ने अर्को कामको बारेमा ! यदि ऊ लेखक वा साहित्यकार रहेछ भने लेखनको बारेमा पनि सोच्दो हो ।

तर, चिहानमा पुगेपछि उसको तन्द्रा बिग्रन्छ । केहिबेर सुस्ताउँछ र एकोहोरो चिहानलाई हेरिरहन्छ । झन्डै ६ हिउँद र वर्षाहरू उसले तन्द्राको लय र प्रलयमै बितायो । कंक्रिटको चिहाननेर मृत्युको गणना गरेर उभिएका ओखरका रुखहरूले धेरै पटक आफ्ना पातहरू झारे । वसन्तको शुरुवातसँगै आफ्ना हाँगाहरूमा नयाँ पालुवाहरू जन्माए । चिहानको कापाबाट पलाएका घाँसहरू नगरसफाइ कामदारबाट निर्ममतापुर्वक उखेलिए तर वसन्तमा जरामा बसेको प्राणले नयाँ टुसा उमार्न बिर्सेन । उसले यी सबैको हिसाब राखेको छ होला कि !

अकस्मात चैत्र महिनाको एक दिन बिहानै उसले चिहान नियाल्दै गर्दा एउटा चिहानमाथि बसेर कुकुर झोक्राइरहेको देख्यो । उसलाई त्यो अद्भुत दृश्य साँच्चै अनौठो लागेर चियाएर हेऱ्यो । त्यहाँ कुनै मानिस थिएन, सिवाय एउटा कुकुर । कुकुरका अगाडिका खुट्टाहरू चिहानमाथिको छपनिमा सुताएर कुकुर रोइरहेको थियो । ‘मानिसको चिहानमा कुकुर रुनु ! अनौठो दृश्य !’ ऊ एक्लै गुन्गुनायो । ‘जनावरले पनि मृत्यु बुझ्ने रहेछ’… उसले कुरा खेलाउँदै गोजीबाट हातेफोन निकाल्यो र समय हेऱ्यो । ‘ए… समय त !’ कामको समय हुनै लागेकोले ऊ सरासर चिहान छोडेर बग्यो ।

उसको मनमा बिहान पौने सात बजेको त्यो दृश्यले बेचैनीको हुरी चलायो । ‘युरोपमा के मानवचिहानमा जनावर रुने दिन आउन लागेको हो ? वा, त्यो कुकुरले आफ्नो मालिक गुमाएकोले शोक मनाएको हो ?’ उसले निष्कर्ष निकाल्यो, ‘आफ्नो मालिकको शव त्यहि छपनीतल राखिएकोले कुकुरले बिलौना गरेको होला । त्यो कुकुरलाई हेर्ने अरु कोहि होलान् वा नहोलान् ?’ सोच्दै उसले आफ्नो काम सकायो । बेलुका पनि ऊ चिहानाकै बाटो फर्कियो । उक्त कुकुर त्यहाँ थिएन । सायद उसको मालिकका आफन्त आएर घर लगे होलान् ।

‘यो कुकुर कसको हो पत्ता लगाउनुपर्छ, भोलि शनिबार छ, सायद चिहानवरपर कोही भेटिन्छ कि, पत्ता लगाएर यही कुकुरका मालिक वा मालिक्नी जो भएपनि केहि बुझ्नुपर्छ । ‘एक्लै हृदय र मस्तिष्कबीच वार्तालाप गर्दै ऊ अन्त्वेर्पेनको बर्गर्हाउटस्थित घरतर्फ सोझियो ।

अर्को दिन बिहान ठिक साढे ६ बजे ऊ चिहानमा पुग्यो । सानो खैरो कुकुर चिहानको उत्तरतर्फबाट चिहानतर्फ अनुहार फर्काएर उसैगरी रोइरहेको थियो । वरिपरि मानिसको नामोनिसान थिएन ।

अब उसलाई थाहा भयो कि यो उसकै मालिकको चिहान हो । कुकुरलाई लिन आउने मानिस नभेटी उसले त्यहाँबाट नफर्कने निधो गऱ्यो । उसले कुकुरलाई एक टक लगाएर हेरिरह्यो । कुकुर रोइरहेको थियो । उसले कुकुरलाई हात हल्लायो । अहँ… कुकुरले कुनै वास्ता गरेन । उसले सोच्यो- ‘कुकुर आफ्नो मालिक गुमाएकोले अनन्त विरहमा छ । भन्छन् नि… प्रेम र सम्बन्धको कुनै भाषा हुँदैन ।’

आकाशतर्फ हे¥यो, बादलले आफ्नो विकराल जटालाई समेल्दै लागेको छ । घामका किरणको उषाले सृष्टिमा प्राण भर्ने सुरमा बादलसँग बाटो माग्दैछ । त्यसैले बादल बडो हतारमा उत्तरी दिशाको बाटो ताकेको छ । ऊसँगै, सिपाहीझैँ चिहान कुरेर बसेका धुपी र ओखरका रुखहरूले मात्र त्यो दृश्य देख्न सके । उसले देख्यो ‘मानव चिहानमा मानवता हराएको दिन सन्तान हैन जनावर रुने अनौठो दिन ।’

करिव पैंतालिस मिनेटको त्यो मौन रुवाबासीपछि एक अधबैंसे महिला चिहानमा झुल्किन् । उनको हातमा सानो गुलावका केही फूल थिए । उनि सरासर चिहानमा पुगिन् र ती फूलहरू चिहानमाथि राखिन् । उनको अनुहार मौन र मलिन अवश्य थियो तर आँखामा अश्रुधारा थिएनन् ।

उसले सोच्यो- ‘बाहिर निस्केपछि कुकुर र चिहानको सम्बन्धबारे यिनलाई अवश्य सोध्नुपर्छ ।’

उनले नमान्दानमान्दै पनि कुकुरलाई च्याप्प समातिन् । कुकुर उनीसँग आउन मानिरहेको थिएन । पटक-पटक आवाज दिएर प्रतिरोध ग¥यो । तर सकेन र ती अधबैंसे महिलाको काखमा आउन बाध्य भयो ।

उनी कुकुर लिएर सरासर चिहानको गेटतर्फ आइन् । ऊ पनि आफ्नो मनभित्रको कौतुहलताको चिथोऱ्याइलाई निको पार्न महिला भएतिर गयो । उनि अगाडि पुगेर उसले अप्ठ्यारो मान्दै ‘गुड मोर्गेंन’ बोल्न सक्यो ।

उसले आफ्नो कौतुहलता मेट्न उनलाई प्रश्न राख्यो, ‘ईक जी, दिजे होण्ड आल एन पार दागन बोभन हत ग्राभ । द होन्ड ह्युल्द । वात इज इर गेबुर्द मिभ्राउ ? (केही दिनबाट यो कुकुरलाई चिहानमाथि देख्दैछु । कुकुर रोइरहेको हुन्थ्यो । के भएको हो र मेडम ?)

गोरी महिलाले उसलाई विदेशी देखेरै होला वा भाषाको लवज नमिलेको भएर पनि हुन सक्छ ‘अंग्रेजी बुझ्नुहुन्छ नि ?’ भनेर सोधिन् । उनले बोल्ने अंग्रेजी र उसले बोल्ने अंग्रेजीको लवज मिल्यो । गफ चलिरह्यो ।

उनले भन्दै गइन्, उनकी आमाको घर चिहानको नजिकै पर्छ । उसको बुबा खसेपछि आमा एक्लै बस्न थालिन् । छोरीले नर्सिङ पढाई हुँदै गर्दा कसैसँग सँगै बस्न थालिन् । त्यसले आमालाई चित्त दुखाएको रहेछ । तर छोरीले आमाको कुरालाई वास्ता नगरी गेन्टतिरको केटा रोजेर उतै बस्न गएपछि आमालाई कहिलेकाहीँ फोन गर्नेबाहेक बिरलै भेटघाट हुने रहेछ ।

‘के गर्नु ! आमाले यो घर चर्चलाई दान दिएकोले म घरिघरि आउने कुरा पनि भएन !’ उनले सम्पतिको स्वामित्वमा पनि अलिक चित्त दुखाएको देखियो ।

महिलाले आफ्नो जीवन पनि त्यति सहज नभएको बताइन् । ‘काम गर्छु, एउटा अपार्टमेन्ट किनेकी छु दोजे गाउँतिर । पहिलेको केटाले छोड्यो, अर्को केटा पनि पियक्कड भएकोले अहिले एक्लै छु ।’

उनका शब्दमा, ‘घरमा बिरालो भएकोले घर छोड्न पनि मिल्दैन । नौ दिन अगाडि ८२ वर्षको उमेरमा क्यान्सरले आमा बितिन् । यो आमाले पालेको कुकुर हो । मैले मेरै गाउँमा कुकुर लिएर गएको केही खाएन, रोइ मात्र रह्यो र तीन दिनअघि दुर्न लिएर आएँ । आमाको घरमा पनि तीन हप्तापछि चर्चले ताला लगाउने रे ! कुकुर यही चर्चको रखवालको जिम्मा छोडेर जाने भएकी छु ।’

उ अधबैंसे महिलाको कुरा सुनेर अझै थाकेन ।

‘अनि तपाईं र तपाईंको आमाको नाम के नि ?’ उनले उत्तर फर्काइन्, ‘आमाको नाम जेनी हो मेरो भेर्ल ।’

‘चिहानबाहेक अन्यत्र कुकुर बस्न मान्दैन; झन् आवाज निकालेर रोइरहन्छ । अब जे होस्, चर्चको सन्निकट नै छोडेर जान्छु । मेरो घर पनि अलिक साँघुरो छ । बिरालो पनि छ । त्यसैले आमाको कुकुर यतै बस्छ ।’

भेर्लको कुराले उसको मन भक्कानियो । अरु प्रश्नको वर्षाले भेर्लको मन चिस्याउन उसले चाहेन । उनि ‘दाग’ भन्दै बाटो लागिन् । कुकुर चिहानतर्फ हेरेर कुइँकुइँ गऱ्यो । ऊ धोराक्किँदै मेरीको टोम्ब देखिने ठाउँमा गएर बस्यो र एक्लै भुत्भुताइरह्यो । ऊ एक्लै गन्गुुनाएको हो वा सन्तान र मातापिताको पश्चिमा सम्बन्ध देखेर बर्बराएको हो, कसैले बुझेंन ।

खासगरी बेल्जियममा सम्पतिमा अल्झेको सम्बन्धले आमा बितेको दुई दिनमा थाहा पाउनु र सम्पतिको लालचले सम्बन्ध धमिल्याउनु भेर्लको नियति हो । तर आमा त पवित्र हुन्छन् नि ! आमाको सामान्य रायसमेत नमानी छोरीले आमा त्याग्ने निर्णय के सही हो ? मातृत्यागपछि आमाले सम्पतिको मालिक सन्तानलाई किन बनाउनु ? यो प्रश्नमा उसले पुनर्विचार गरिरह्यो ।

उत्तर केवल छोरीसँग हुँदो हो, जेनीसँग त्यसको उत्तर के हुन्थ्यो होला र ! कुकुरको सहाराले बाँचेकी विचरी स्वर्गीय जेनी ! बिरालोको लागि हतारिने भेर्ल र चिहानमा दैनिक गएर रुने त्यो कुकुर ! जीवित यी दुवै प्राणीमा अभिसप्त को ? भेर्ल वा कुकुर ?

‘जेनीले त छोरीको सुर्ता गर्न उहिल्यै छोडीहोलिन् तर कुकुरको आउँदो नियतिले प्राण जाने बेला जेनीलाई कति दुःख दिए होला !’ अज्ञात सम्वेदनाले उसलाई विक्षिप्त पाऱ्यो ।

‘जेनीले छोरीलाई जीवनभरि प्रेम गरेर पालिन्, पढाइन् । आफ्नो कुराको पनि सुनुवाइ र सम्मान होस् भन्ने हुन्छ नि आमा बाबुलाई । तर झुक्क्याएर, छक्याएर आमालाई एक्लै मर्न बाध्य पार्ने नियतिको बन्दोबस्तले जेनी पक्कै पनि घाएल भएकी हुनुपर्छ । त्यसैले उनले छोरीको प्रेम पनि कुकुरलाई गरिन् । बिरामी हुँदा छोरीलाई सूचना पनि दिइनन् ।

एक आम प्रश्नले उसलाई पोल्न थाल्यो, ‘आमाबाबुलाई वात्सल्य पोख्ने ठाउँ नभएपछि माया पोख्ने केमा ? आमाले छोरीलाई भविष्यको सत्यतामा उभिन भनेकी हुन् । प्रेमले बोलेका वात्सल्यपूर्ण वाक्यको रस भेर्लको जिब्रोमा कतै अडिएन ? आमाको जिम्मेवारीबाट मात्र हैन, प्रेमबाट पनि भागिन् उनी । आमाको लामो मौनताको रसमा वात्सल्यको स्वाद लिन आमाको मृत्युपश्चात पनि सिकिनन् उनले ? आमाको लामो पर्खाइपछिको सम्पतिसम्बन्धी निर्णयले उनको मस्तिष्कलाई भित्रभित्रै खाइसकेको रहेछ ।’

वैचारिक उथलपुथलका बीच भेर्ल र कुकुरको निरस चित्र बोकेर ऊ घर आयो । केहिदिन काममा जाँदा आउँदा जेनीको कुकुर देखेंन उसले । लाग्यो- ‘कुकुरलाई चर्चको सुसारेले घरमा थुनेर राख्यो होला वा मन पलाएर छोरीले लिएर पो गइ कि ?’

त्यसको एक हप्ता पछि घामको झुल्कोले चर्चको त्रिशुलमाथिको भालेलाई सुनौलो बनाइरहेको थियो । चर्चपछाडिको चौरमा एकजना सुसारेले जमिन खोस्रिँदै थियो । उसले सुन्यो, चर्चले सात पटक बिहानको घन्टी ठोकेको आवाज । उ सरासर जेनीको चिहाननेर पुग्यो । चिहानको नजिकै जेनीको कुकुर सुतिरहेको जस्तो देख्यो । केहिबेर उभिएर हेऱ्यो, चर्चको सुसारे आएर त्यो कुकुरलाई हातले उठायो । उसको टाउको जमिनतर्फ लत्रेको थियो ।

उसले उत्नीखेरै चर्चको सुसारेलाई सोध्यो- ‘हेल्लो हेल्लो, कुकुरलाई के भयो र हजुर !’(Hallo hallo, wat is er met de hond gebeurd meneer !)

उसले भन्यो, ‘कुकुर त खाना नखाएर मऱ्यो ।’ (De hond gaat dood zonder te eten)

स्वर्गीय कुकुरप्रतिको समवेदनाको भारीले थिचिएर उसको स्मृति शृङ्खलाको लय उत्नीखेरै भत्कियो । चारैतिर रक्त–सम्बन्धको करुणाविहीनाताको बादलले चेतनाको प्रकाशलाई धमिलो बनायो । जेनीले अलग्याएको आफ्नो अलिकति रगत र केही चोक्टा जिउँदो मासु निर्जीव हुन सुक्दैछ । तर जनावरको करुणामय छाल र पोषण दिने मालिकप्रतिको समर्पित त्यागले मानव सम्बन्धको मर्यादालाई चुनौती दिएको अनुभूतिले उसले शिर झुकायो । वरिपरि रहेका सबै ओखर र धुपीहरूले पनि शिर निहु¥याए । अर्धमुर्छित चेतना र समवेदनाले गलेको शरीर लिएर ऊ घर फर्कियो । संसार विचित्र छ ।