अन्ततः कोशी प्रदेशका मुख्यमन्त्री कार्की अपदस्त, नयाँ सरकार गठनका लागि आह्वान

अन्ततः कोशी प्रदेशका मुख्यमन्त्री कार्की अपदस्त, नयाँ सरकार गठनका लागि आह्वान


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अपदस्त गरिएको छ । प्रदेशप्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ (५) अनुसार वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले आह्वान गरेका छन् ।

सत्ता गठबन्धनका प्रमुख दलहरु एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै बुधबार प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । बुधबार राति प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी सूचनामा ‘माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ’ भन्ने उल्लेख गरिएको छ ।

प्रदेश प्रमुखको आह्वानपछि एमाले-माओवादीले बिहीबार बिहान दाबी प्रस्तुत गर्ने बुझिएको छ ।

ज्ञातव्य छ, कांग्रेस नेता केदार कार्की गत असोज २९ गते संविधानको धारा १६८ (५) अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । २०८० चैत २६ मा सरकारबाट एमाले-माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेकाम थिए । तर, बदलिएको परिस्थितिमा विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान उनले राख्दै आएका थिए ।

यसैबीच अपदस्त गरिएका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै अर्को सरकार गठनको आह्वान गरेर प्रदेश प्रमुख खापुङले असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध नेपाली कांग्रेसले अदालत गुहार्ने तयारी गरेको छ ।