चालु आर्थिक वर्षको हालसम्म ६ वटा बाघ मृतवस्थामा भेटिए

चालु आर्थिक वर्षको हालसम्म ६ वटा बाघ मृतवस्थामा भेटिए


चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् ।

मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको र बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले वा पोथी छुट्याउन कठिन हुने गरेको उनको भनाइ छ । ‘बाघ लजालु स्वभावको हुन्छ, जसका कारण मरेको पनि जानकारी हुँदैन’, तिवारीले भनेका छन् ।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गर्ने गस्ती बढाएसँगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन् । बताइएअनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन् ।

गत आवमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।