स्वीकारोक्तिभित्रका अस्वीकारोक्तिहरू

स्वीकारोक्तिभित्रका अस्वीकारोक्तिहरू


✍ बलराम सिलवाल

म सानु छँदा माझीको पसलमा मनुवाहरू थुप्रिएर देश/विदेशको गफ चुट्थे । त्यतिबेला अचेलको जस्तो सामाजिक सञ्जाल र वैज्ञानिक प्रविधिको वर्चस्व थिएन । बिबिसी, रेडियो सिमोन, रेडियो नेपाल, अल इण्डिया रेडियो, भोइस अभ अमेरिका जस्ता रेडियो सुन्ने श्रोता नै गाउँघरमा समाचारको श्रोत कहलिन्थ्यो, उसको वरिपरि सबै झुत्तिन्थे । त्यतिबेला मेरो रेडियोले यसो भन्यो तपाईंको रेडियोले कसो भन्यो भन्ने बुज्रुकको कमी थिएन । त्यो जमानामा रेडियो, घडी, साइकल, ग्रामोफोन, टेप रेकर्डरवालहरू सम्पन्न कहलिन्थे । गाउँ पञ्चायतमा रेडियो र साइकलको कर तिर्नुपर्ने । सबै कुरा अनौठो अनौठो लाग्ने ।

अँ, कुर्त वाल्डहाइम महासचिव भएको, जिम्मि कार्टरले झण्डै आग्नेयास्त्रको स्विच थिचेको जस्ता कुरा सुनिन्थे । फिडेल कास्त्रो, चे गुयराको करामत सुनेर मान्छेहरू जिब्रो काढ्थे । कमिस्टले व्यक्तिगत सम्पत्ति राख्न दिँदैन, वैचारिक स्वतन्त्रता हुन्न, ठुल्ठुला ड्रमहरूमा भात पकाएर खुवाउँछ र वृध्दवृध्दा भएसि गोली ठोकेर मार्छ भन्ने निकै सुनियो । कमिस्ट शब्दावलीको भरमार प्रयोग । रिप भान विन्कलले काङ्ग्रेस, सिनेट र स्वाधीनता जस्ता नुतन शब्दावली नबुझेर पक्कै परे झैं म नि कठमुल्लावाद, कालीदासे प्रवृति, संशोधनवाद, जनवादी केन्द्रीयता, दलाल पुँजीपति, समाजवाद, बुर्जुवा, समाजवाद, यथास्थितिवाद, अमेरिकाली साम्राज्यवाद, भारतेली विस्तारवाद, कम्युन, ट्रेड युनियन इत्यादि कमिस्ट शब्दावली सुन्दा अर्थ नबुझेर वाल्ल पर्थें । यी शब्दहरूले सामन्तहरूको मनमुटुमा ढ्याङ्ग्रो ठोक्थ्यो । चीन, सोभियत संघ र रोमानियामा कमिस्ट शासन आइसक्यो । अब अरू देशहरूमा नि कमिस्ट शासन फैलिन्छ र समाजवाद साम्यवादमा रुपान्तरण हुन्छ भन्थे बुझक्कडहरू । बुर्जुवा व्यवस्था भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो । धर्म अफिम हो र सत्ता शक्ति बन्दुकको नालबाट प्राप्त हुन्छ भनेको नि सुनियो । टंक कार्कीले भाषण गरेर लीलानाथ पोख्रेललाई हराउँछ भन्ने नि सुनियो । मोहनविक्रमले पुष्पलाललाई गद्दार भनेको नि सुनियो । ऊ सैध्दान्तिक हो, व्यावहारिक हैन । कमिस्टहरू बोल्न माहिर । आरोप प्रत्यारोप त कति कति ।

ने.वि. संघ चोर घोप्टो परी मर, तालुखुइले गिरीजा भारततिर छिरिजा भन्थे । ०३७ सालतिर जनमत संग्रहको परिणाम घोषणा भएसि बीपीले राजासित घाँटी जोडेको भन्ने नि सुनियो ।

+ + +

२०४६ सालमा बहुदल आएसि के-के न हुन्छ भन्ठान्थे जनता । आखिर जनताले लोप्पा बाहेक के पाए र ? ठुल्ठुला शहरहरूमा नेताहरूको बंगला ठडियो; दूतावासहरूले नेताहरूको छोराछोरी पढाउन छात्रवृत्ति प्रदान गरे । पञ्चायतकाल छउन्जेल रहेको असंलग्नता, पञ्चशील, अक्षुण्णता, राष्ट्रियता, स्वाधीनतादि छिन्नभिन्न भयो । चुनिएर गएका माननीयहरू विदेशीका गोटी बने; बाह्य हस्तक्षेप बढ्यो । पदलोलुपताले दलहरू काँक्रोको चिरा झैं चिरिए । आफ्नो स्वार्थको लागि दलीय टाउकाहरू मिलेकै छन्; भागबण्डा लगाएकै छन् । यिनीहरूले कलकारखाना बेचेकै हुन्; मुलुकमारा सन्धि सम्झौता गरेकै हुन् र धर्म निरपेक्षताको नाउँमा युरो डलर घिचेकै हुन् । अरू केही छैन; मुलुक सुम्पिन मात्र बाँकी छ । गणतन्त्र आको छ बोल्न पाको छ भन्ने सुनिन्छ । बोलेर मात्र भोको पेट भरिन्न त । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !