स्टार एकेडेमीलाई ‘बलियो नेपाल कप’ क्रिकेटको उपाधि

स्टार एकेडेमीलाई ‘बलियो नेपाल कप’ क्रिकेटको उपाधि


पोखरामा सञ्चालन भएको बलियो नेपाल कप अण्डर-१९ क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै स्टार एकेडेमीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

च्याम्पियन बनेको स्टारले नगद रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कर्णालीले रु २५ हजार पुरस्कार पायो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोड्न सफल भयो । जितका लागि ७३ रनको लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीले नौ ओभरको पाँच बलमा तीन विकेट गुमाउँदै पूरा गर्न सफल भयो ।

स्टारका लागि सुमित पराजुली चार ओभर बलिङमा १७ रन खर्चिंदै तीन विकेट लिन सफल भए । यसैगरी शुभम खनालले दुई तथा कप्तान अमर मिश्र, निर्मल गुरुङ र महेश भरले समान एक/एक विकेट लिए । स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए । कप्तान अमर मिश्रले नौ बलमा २२ रन बनाए । बलिङतर्फ कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान एक/एक विकेट लिन सफल भए ।

फाइनलको ‘प्लेयर अफ द म्याच’ स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल घोषित भए । उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याट्सम्यान विराट सिंह भण्डारी घोषित हुँदै जनही रु सात हजार पुरस्कार पाउन सफल भए ।

‘प्लेयर अफ द सिरिज’ स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्रले रु १० हजार पुरस्कार प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई सांसद सोविता गौतम लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभले ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यही चैत २१ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाएका थिए ।