‘राजधानीभन्दा मुस्ताङ छिटो पुग्नुपर्ने या नजिक तुल्याउनुपर्ने कारण के होला ? सबै नेपालीको मनमा उठ्नैपर्ने प्रश्न खडा भएको छ’
चितवनबाट राजधानी काठमाडौंं पुग्न सामान्यतया चार घण्टा लाग्ने हो, तर सडकको अवस्था र सवारी साधनहरूको अधिक चापका कारण ६ घण्टामै राजधानी पुगियो भनेपनि खुशी हुनुपर्ने स्थिति छ । काठमाडौं पुग्ने चार नाका र पाँच सडक मार्ग त छन्, तर ती कुनैपनि सूरक्षित र सुविधाजनक छैनन् ।
संसारको सबै मुलुकका राजधानीहरू मध्ये काठमाडौंं मात्र एक त्यस्तो राजधानी हो जहाँ पुग्न ठूलो जोखिम र कष्ट ब्यहोर्नुपर्ने हुन्छ । गल्छी या त्रिशुली हुँदै बालाजु आइपुग्ने सडक, बीपी या अरनिको राजमार्ग हुँदै भक्तपुर पुग्ने सडक, हेटौँडाबाट दक्षिणकाली हुँदै बल्खु निस्कने सडक तथा त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर थानकोट पवेश गर्ने सडकको अवस्था यति दारुणीक छ कि मानिसहरू देवी-देवता भाकेर मात्र राजधानी आउने स्थिति छ !
नेपालका प्रशिद्ध पर्यटकीय शहरहरू पोखरा र चितवनसँग राजधानी प्रवेश गर्ने सडकको अवस्थाले पर्यटकहरूलाई नेपाल आगमनमा निरुत्साहित गर्दै आएको छ । सवारी साधनको मुख्य चाप पर्ने मुग्लिनदेखि कलङ्कीसम्मको सडकलाई समयानुकुल सूरक्षित र सुविधाजनक तुल्याउन राज्यले जानाजान ध्यान दिइरहेको छैन । त्यसैले महेन्द्र राजमार्गका इटहरी भएर विराटनगर हुँदै भारत पुग्न ढल्केबर, पथलैया, बुटवल र कोहलपुर भएर यात्रा गर्न जति सजिलो र सूरक्षित छ, मुग्लिनबाट काठमाडौं पुग्न त्यत्तिकै कष्टप्रद छ ।
यतिबेला चितवनबाट पोखरा हुँदै मुस्ताङ पुग्ने सडक बिस्तार गरिँदै छ । देशको हरेक स्थानलाई हरेक अर्को स्थानसँग जोड्ने सडक सूरक्षित र सुविधाजनक हुनुपर्छ । यस अर्थमा पोखरा पुग्ने चार लेनको सडक र मुस्ताङसम्म फराकिलो दुई लेनको सडक निर्माण हुनुलाई स्वागतयोग्य एवम् स्वभाविक मान्न सकिन्छ । तर राजधानी काठमाडौंं पुग्न सबैभन्दा बढी सवारी साधनको चाप हुने मुग्लिन-काठमाडौं खण्डलाई कम्तिमा छ लेनको बनाउनुपर्ने थियो, तर अहिले चार लेनको बनाउनुपर्ने पनि ठानिएको छैन, ठानिएको भएपनि कार्यान्वयनको निम्ति कुनै तत्परता लिइएको छैन ।
ि
चतवनबाट पोखरा पुग्ने चार लेनको र पोखराबाट मुस्ताङ पुग्ने फराकिलो दुई लेनको सडक बनाइँदै गर्दा मुग्लिनदेखि काठमाडौं खण्डलाई दुई लेनकै सडकमा सीमित गरिएको छ । खानिखोला, धार्के, गल्छी, गजुरी र मलेखु जस्ता खास–खास बजार क्षेत्रमा केही मिटर चार लेनको सडक बनाउन लागिएको भए पनि मुग्लिनदेखि काठमाडौंंसम्मको ११० किमी सडक दुई लेनमा मात्र सीमित रहनेगरी सुधारको काम भइरहेको छ । नेपालभित्रै काठमाडौं पुग्न भन्दा भारत पुग्न सजिलो र सूरक्षित सडक निर्माण हुनु स्वभाविक मान्न सकिएला । धेरै नेपालीहरू औषधिउपचार, किनमेल, धार्मिक यात्रा र रोजगारीका निम्ति भारत जाने भएकोले काठमाडौंं भन्दा दिल्ली पुग्ने बाटो छोट्ट्याइएको हुनसक्ने ठान्न सकिन्छ ! हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने सडक मुग्लिनबाट काठमाडौंं पुग्ने भन्दा फराकिलो बनाउने जुन कार्य भएको छ, यसको रणनीतिक अर्थ खोजियो भने एउटा बेग्लै तस्बिर देखापर्छ ।
काठमाडौंमा अस्थायी र स्थायी गरी साठी लाखभन्दा बढीको बसोबास रहेको छ र, दैनिक बीस हजार भन्दा बढी मानिस राजधानीको यात्रामा रहेका हुन्छन् । तर मुस्ताङ जाने सडकलाई जति महत्व काठमाडौं पुग्ने सडकले नपाउनु आफैंमा बिस्मातपूर्ण छ । दुई वर्षपछि चितवनबाट मुस्ताङ पुग्न जति सजिलो हुने देखिन्छ, काठमाडौं पुग्न त्यति नै कठिन र झन्झटिलो हुनेछ । मुस्ताङको लेते बजारदेखि जोमसोमसम्मको सडक अहिले नै मुग्लिन-काठमाडौं भन्दा राम्रो बनाइसकिएको छ । त्यस खण्डका केही स्थानमा पुल निर्माण भइरहेकोले अस्थायी कच्ची बाटो भएर गुज्रनुपर्ने हुन्छ भने म्याग्दी जिल्लामा पर्ने सडकखण्डमा यतिबेला धमाधम निर्माण कार्य चलिरहेको छ । यही रफ्तारमा काम भएमा आगामी दुईदेखि तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ, त्यसपछि चितवनबाट राजधानी काठमाडौंभन्दा मुस्ताङ छिटो पुग्न सकिनेछ ।
राजधानीभन्दा मुस्ताङ छिटो पुग्नुपर्ने या नजिक तुल्याउनुपर्ने कारणचाहिँ के होला ? सबै नेपालीको मनमा उठ्नैपर्ने प्रश्न खडा भएको छ ।
प्रतिक्रिया