सहकारीको ब्यानर बोकेर ठगी गर्नेहरूका कारण समस्या निम्तिएको सहकारी अभियन्ताको धारणा

सहकारीको ब्यानर बोकेर ठगी गर्नेहरूका कारण समस्या निम्तिएको सहकारी अभियन्ताको धारणा


देशको आर्थिक एवम् सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुऱ्याएको भएपनि सिंहदरबारमा बस्नेहरूले सहकारीको योगदानको उचित मुल्यांकन गर्न नसकेको सहकारी अभियन्ताहरूले औंल्याएका छन् । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव कार्यक्रममा अतिथिका रूपमा उपस्थित अधिकांश वक्ताहरूले सिंहदरबारले सहकारीलाई नचिने भन्दै उल्लिखित धारणा राखेका हुन् ।

बिहीबार (चैत ३०) आयोजित कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राजनीतिकर्मीलाई सहकारीका बारेमा विशेष शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए । राजनीतिकर्मीहरूले सहकारीमार्फत् समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेपनि उनीहरूलाई सहकारीको चूरो कुरो नै थाहा नभएको सहकारी अभियन्ता बाँस्कोटाको भनाइ थियो ।

सहकारीबारे हाल जनमानसमा उत्पन्न गराइएको नकारात्मक अवधारणाप्रति चिन्ता गर्दै उनले भने- ‘सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा बस्नेहरूमा त्यस्तो समस्या छैन, तर सहकारीको ब्यानर बोकेर ठगी गर्नेहरूलाई हामीले नै लखेट्नुपर्छ, नत्र दोष हामीलाई नै लाग्छ ।’

सो अवसरमा सहकारी अभियन्ता घनश्याम खतिवडाले सिंहदरबार सहकारीप्रति रुखो भएको आरोप लगाए । समुदायमा आधारित सहकारीले गरेको कामका बारेमा पढ्न, बुझ्न र सहकारीमैत्री ऐन-नियम बनाउन उनले राज्यका नीतिनिर्माताहरूलाई सुझाव दिए । सहकारी ऐनलाई अविलम्ब संशोधन गरेर सहकारीमैत्री बनाउनुपर्ने उनको धारणा थियो । उनले सहकारीमा विकृति मात्र नभएको र समुदायको लागि समेत राम्रो काम गरेका संस्था थुप्रै भएको भन्दै शहरमा रहेर पनि पाँचतारा सुशासन र व्यवस्थापकीय हिसाबले उत्कृष्ट रहेको धारणा राखे ।

कार्यक्रममा सरोजकुमार शर्माले अहिले सहकारीमा संकट देखिएको भन्दै अभियन्ताहरू सहकारीको साख जोगाउन लाग्नुपर्ने बताए । सिंहदरबारमा बस्नेहरुलाई सहकारीको महत्व बुझाउन नसक्दा समस्या आएको उनको भनाइ थियो ।

यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा परेकाले बैंकवित्त र सहकारी संस्थाहरू समस्यामा परेको तर्क दिए । सदस्यको विश्वास जितेका संस्थामा जस्तोसुकै परिस्थितिमा पनि समस्या नआउने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले कुनै पनि सरकारले सहकारीलाई सहयोग नगरेको भन्दै सदस्य स्वयंले नै सहकारीलाई बचाउनुपर्नेमा जोड दिए भने जिल्ला सहकारी संघ काठमाडौका सचिव बालकुमार बास्तोलाले पाँच तारा साकोस निर्वाचन क्षेत्र नं. २ कै नमूना साकोस भएको धारणा राखे ।

संस्था अध्यक्ष एवं कार्यक्रममा सभापति भोला नाथ पाठकले संस्थाले विगत १५ वर्षदेखि सहकारीको सिद्धान्त र मुल्यमान्यतामा रहेर सदस्यको विश्वास जित्दै अगाडि बढेको जानकारी दिए । पाँच ताराले बचतऋणको मात्र कारोबार नगरी समुदाय र सदस्यका हरेक आवश्यकतामा योगदान पुऱ्याउँदै आएको जिकिर गर्दै उनले पहिलो वर्षदेखि नै सहकारी अभियन्ताहरुलाई सम्मान गर्न थालेको र १५ वर्षसम्म निरन्तर सहकारी व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु गर्वको विषय बनेको अभिव्यक्ति दिए ।

सो संस्थाले यस वर्ष मकवानपुरको जनचेतना साकोसकी निवर्तमान अध्यक्ष मञ्जुकुमारी थिङलाई पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित गरेको छ । त्यसैगरी कार्यक्रममा ज्येष्ठ सदस्य र पाँचपटक भन्दा बढि रक्तदान गर्ने रक्तदातालाई सम्मान तथा चाँदीको सिक्का प्रदान गरिएको थियो ।