- विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई ताकेर जापानमा सार्वजनिक कार्यक्रममा बम प्रहार भएको छ । सुखद पक्ष के भने यसपटक शिन्जो आबे हत्यामा जस्तै प्रयास गरिएपनि प्रधानमन्त्री किशिदा फुमिओ सकुशल रहन सफल भएका छन् । अझ उक्त विस्फोटमा कोहिपनि घाइते नहुँदा सुरक्षाकर्मीको सुरक्षा प्रयास धेरै हदसम्म सफल भएको देखिन्छ ।
किशिदालाई चुनावी सार्वजनिक कार्यक्रममा रहँदा सम्बोधन गर्नै लाग्दा आक्रमण भएपनि सुरक्षित रूपमा उद्धार गरिएको छ।
उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको बस्तु प्रहार गरिएको सार्वजनिक भएका भिडियोहरुले देखाएको छ ।
घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।
प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन् । पक्राउ परेका अभियुक्त करिव ३० बर्ष उमेरका जस्ता पुरुष देखिन्छन् ।
जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो ।
किशिदाले भाषण गर्न थाल्ने वित्तिकै अभियुक्तले केहि बस्तु किशिदा भएको ठाउँतिर फालेका थिए, लगत्तै सुरक्षाकर्मीले किशिदाले त्यहाँबाट पर लगेको थियो भने त्यसको केहि सेकेण्डमा नै उक्त वस्तु ठूलो आवाज सहित विस्फोट भएर धुवाँको मुस्लोले उक्त स्थान ढाकिएको थियो ।
अघिल्लो वर्ष जुलाई ८ मा जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।
जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन् तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री आबेको गोली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ ।
प्रतिक्रिया