नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ-आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् ।
चलचित्र विकास बोर्डमा आइतबार आयोजित ‘इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । ‘नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ । एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ’, बोर्ड अध्यक्ष केसीले भनेका छन् ।
एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवर्द्धन गर्न आतुर रहेको बताइन् । ‘नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ’, उनले भनिन्।
कार्यक्रममा एफटीपीसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए। ‘हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ । नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ’, उनको भनाइ छ ।
कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थिए ।
प्रतिक्रिया