नक्कली मदिरा नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने महर्जनको उद्घोष

नक्कली मदिरा नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने महर्जनको उद्घोष


नेपाल मदिरा व्यवसायी महासङ्घको अध्यक्षका लागि मुकुन्द महर्जनको उम्मेदवारी घोषणा

नेपाल मदिरा व्यवसायी महासङ्घले नयाँ नेतृत्व चयन गर्न लागेको छ । महासंघको यही वैशाख ८ र ९ गते काठमाडौंमा आयोजना हुने १७औँ साधारणसभा तथा १२औँ महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरूले नयाँ नेतृत्व चयन गर्नेछन् ।

आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा आफूले विभिन्न पदमा रही विगत १० वर्षदेखि संस्थाको हितको लागि विविध कार्य गर्दै आएको जनाएका छन् ।

व्यवसायीका रूपमा आफूले बटुलेका अनुभवलाई व्यवसायीको हितमा अझ प्रखर रूपमा उपयोग गर्न आफूले आगामी नेतृत्व सम्हाल्ने निर्णय गरेको महर्जनको भनाइ छ । देशभरका मदिरा व्यवसायीहरुको अनुरोधमा आफूले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको पनि उनले बताएका छन् ।

यसअघि दुई कार्यकाल महासंघ कार्यसमिति सदस्य, एक कार्यकाल महासंघमा सहकोषाध्यक्षको अलावा मदिरा व्यवसायी संघ ललितपुरको संस्थापक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका व्यवसायी महर्जनले मदिरा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा सरकारी दृष्टिकोण परिवर्तन गराउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल सरकारअन्तर्गत कर तथा राजस्वसम्बन्धीका निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने योजना आफूले बनाएको उनको भनाइ छ ।

वाइन शप कन्सेप्टलाई पूर्ण रुपमा लागु गर्नेदेखि हरेक जिल्लामा आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी जिल्लामा नक्कली मदिरा नियन्त्रण गर्नको लागि विभिन्न समितिहरू बनाएर आफू अघि बढ्नेसम्मका एजेण्डा अध्यक्षका उम्मेदवार महर्जनले सार्वजनिक गरेका छन् ।