कर्म र प्रारब्ध

कर्म र प्रारब्ध


पुनर्जन्म र पूर्वजन्मको कर्मको फललाई प्रारब्धको रूपमा हिन्दुधर्ममा ब्याख्या गरिएको छ । कतिपय कुराहरू पहिल्यै तय भएका हुन्छन् भन्ने कुराकै परिणाम हाम्रा टिपन र चिनाहरूको निर्माण हो । जन्मिएको तिथिमितिका आधारमा टिपन बनाइन्छ, टिपनको आधारमा चिना । चिनामा लेखिएका र हातको रेखामा कोरिएका कतिपय कुराहरू पूर्वजन्ममै तय भएका हुन् भन्ने छ ।
✍ बबिता बस्नेत

भगवान गौतम बुद्धलाई एक चेलाले सोधे, कर्म के हो ? जवाफमा उहाँले कथा सुनाउनुभयो- एकादेशमा एक जना राजा थिए । एकदिन आफ्ना मन्त्री र सुरक्षाकर्मीहरूसँग घुम्दै गर्दा एक चन्दनब्यापारी कहाँ पुगे । चन्दन ब्यापारीलाई देखेपछि यो सही मान्छे होइन यसलाई फाँसी दिनुपर्छ भन्ने सोच राजामा आयो । मन्त्रीलाई राजाले भने- यसलाई फाँसी दिनका लागि ब्यवस्था गर्नु ! त्यतिबेलाको समयमा राजाको बोली नै कानून थियो । मन्त्रीलाई अफ्ठ्यारो पऱ्यो, आनन्दले आफ्नो ब्यपार÷ब्यवसाय गरेर बसेको मान्छेलाई एक्कासी कसरी फाँसी दिनु ? मन्त्रीले ब्यापरीका छिमेकीहरूलाई यो कस्तो मान्छे हो ? भनेर सोधे । जवाफमा छिमेकीहरूले भनें, ‘यो निकै घमण्डी छ, कसैको राम्रो सोच्दैन, छिमेकमा धेरैसँग यसको बोलचाल पनि छैन ।’ परिचय लुकाएर मन्त्री ब्यापारीकहाँ गए र ब्यवसाय कस्तो चलिरहेको छ भनेर सोधे । उसले लामो समयदेखि आफ्नो ब्यापार नभएको बताएपछि मन्त्रीले अब के गर्ने योजना छ त भनी सोधे । ब्यापारीले भन्यो- ‘म राजाको मृत्युको पर्खाइमा छु, राजा मरेपछि जलाउनका लागि म चन्दन दिन्छु । उनीहरूले मलाई पैसा त दिइ नै हाल्छन्, मैले राजाको लाश जलाउन चन्दन दिएँ भनेर मेरो नाम पनि फैलिन्छ । त्यसपछि मेरो ब्यापार चल्छ, राजा कहिले मर्छन् भनेर म कामना गरिरहेको छु ।’

उसको जवाफ सुनेपछि मन्त्रीले केही चन्दन किने र फर्किएर दरबारमा राजालाई दिँदै भने- ‘यो अघि हजुरले फाँसी दिनुपर्छ भनेको ब्यापारीले उपहार पठाएको, त्यसको बारेमा बुझ्न म गएको थिएँ । हजुरको जय गाउँदै उसले मलाई दरबारसम्म यो सुगन्धित चन्दन उपहार पुऱ्याएर राजालाई दिन मन थियो, आज यो अवसर पाएँ, कृपया लगिदिनुस् न भन्यो, मैले लिएर आएँ ।’ मन्त्रीको कुराले राजा निकै खुशी भए । आफूले कसरी त्यस्तो गलत सोच राखेँ भन्ने भयो । उनले स्वर्ण मुद्रा दिँदै मन्त्रीलाई भने ल… यो त्यो ब्यापारीलाई दिनु, अबदेखि दरबारमा बाल्नका लागि चन्दन त्यहीँबाट ल्याउनु । मन्त्रीका कारण फाँसीबाट जोगिएको ब्यापारीले दरबारले चन्दन किनिदिएकाले आफ्नो ब्यापार चल्ने भएपछि भगवानसँग प्रार्थना गऱ्यो, हे भगवान् हाम्रा राजाको आयु लामो होस् । कथा सुनाइसकेपछि बुद्धले भन्नुभयो, वाणी भावना हो, विचार कर्म हो ।

हामी कस्तो सोच्छौँ, के सोच्छौँ हाम्रो विचारले कर्ममा धकेल्छ । कुनैपनि काम गर्नुअघि हामी सोच्छौँ, हाम्रो सोचको परिणाम नै हाम्रो कर्म हो । सही विचारले सही कर्म गर्न प्रेरित गर्छ, गलत विचारले गलत काम गराउँछ । उल्लिखित कथाले सोचको परिणाम त दर्शाउँछ नै, कुनैपनि वातावरणलाई सौहाद्र्धपूर्ण बनाउने कि विषाक्त भन्ने पनि मान्छेकै हातमा छ भन्ने सन्देश पनि दिन्छ । हामीकहाँ सकारात्मक माहौल बनाउने भन्दा नकरात्मक वातावरण बनाएर आफूले फाइदा लिन चाहनेहरूको सङ्ख्या धेरै छ ।

हामीले गरेका हरेक कामको परिणाम हुन्छ । बोलेका, लेखेका कुरा, गरेका सिर्जना सबै कर्म हुन्, जसको परिणाम हुन्छ । गीतामा श्रीकृष्णले कर्म र प्रारब्धको ब्याख्या स्पष्ट रूपमा गर्नुभएको छ । महाभारत युद्धमा कृष्ण र अर्जुनको संवाद मानव जीवनका हरेक पक्षमा निकै महत्वपूर्ण छ । युद्धकै क्रममा कृष्णले अर्जुनलाई कर्म र प्रारब्धको विषयमा बताउँदै भन्नुभएको छ, हामीले गर्ने राम्रो/नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कामको फल नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । अघि या पछिको कुरा हो, तर मानिसले प्रारब्ध भोग्नैपर्छ ।

यता बुद्धले तिमीले कस्तो सोच्छौ त्यसले तिम्रो कर्ममा प्रभाव पार्छ भन्नुभएको छ । तिम्रो कर्म नै हो जसले तिमीलाई सुखी या दुःखी बनाउँछ । त्यो कर्म बोलेर, सोचेर, गरेर जे पनि हुन सक्छ । कसैलाई नराम्रो गर्नुपहिला नराम्रो सोच्नुपऱ्यो । नकारात्मक सोचको असर शरीर र मष्तिष्कमा पर्छ जसले मानिसलाई विषाक्त बनाउँछ । जुन कुरा कृष्णले भन्नुभएको प्रारब्ध अर्थात् परिणाम हो । कर्म र प्रारब्धको सवालमा कृष्ण र बुद्धको कुरा जस्ताको तस्तै मिल्न गएको छ । बुद्धले मनलाई शान्त राख्न भन्नुभएको छ । मनको अवस्था अशान्त भएका बेला कुनै पनि कुरा बोल्न हुँदैन, कुनै निर्णय गर्न हुँदैन भन्ने उहाँको सन्देश छ ।

कर्मको बारेमा हामीकहाँ विभिन्न भनाइहरू छन्, जस्तो कर्म त्यस्तै फल, कर्मको फल त भोग्नै पर्छ नि, जैसी करनी वैसी भरनी… कतिले कर्मलाई भाग्यसँग जोड्दै मेरो कर्म नै यस्तै रहेछ… भन्ने गरेको पनि सुनिन्छ । कर्म र भाग्य फरक कुरा हुन् । कर्म आफूले गर्ने काम हो, कर्ममा आफ्नै हात रहन्छ, भाग्यले साथ मात्रै दिन सक्छ । कर्म गर्दै जाँदा हामी त्यसैमा मग्न हुन्छौँ, यो काम त मैले गर्नैपर्छ, सक्नैपर्छ भन्ने लाग्छ त्यो कामप्रतिको लगाव कामका लागि नभएर उक्त कामबाट प्राप्त हुने परिणाम आफ्नो पक्षमा हुन्छ भन्ने कारणले हो । कामपछिको परिणामको अपेक्षा हामी सबैलाई हुन्छ । तर त्यो अपेक्षा पूरा हुन्छ नै भन्ने निश्चितचाहिँ हुँदैन । त्यसैले गीतामा कृष्णले भन्नुभएको छ- ‘कर्मण्यवाधिकारस्ते माः फलेषुकदाचन ।’ यसको अर्थ हो, तिमीलाई काम गर्ने अधिकार छ, तर फल प्राप्तिमा परिणाम जेपनि हुन सक्छ । कृष्णले भन्नुभएको ‘कर्म गर फलको आशा नगर’को अर्थ परिणामबिना काम मात्रै गरिराख भन्ने होइन, आफूले सोचेजस्तो परिणाम आएन भनेपनि काम गर्दै जाउ, आफ्नो कर्तब्य जारी राख भन्ने हो ।

अर्जुनसँग कृष्णले भन्नुभएको छ- ‘मान्छेलाई कर्मले होइन, कर्मसँग जोडिएका आशाले बाँध्छ । विजयको आशाले पराजयमा निराश बनाउँछ ।’ आफूले सोचेजस्तो परिणाम नआउनेबित्तिकै मानिस निराश भएर नबसोस्, कोशिस जारी राखोस् भनेर कृष्णले फल तिम्रो हातमा छैन, कर्म मात्रै तिम्रो हातमा छ । राम्रो काम जारी राख्यौ भने अन्ततः परिणाम राम्रै आउँछ र नराम्रो काम गरे परिणाम पनि नराम्रै आउँछ भन्नुभएको हो भन्ने लाग्छ । राम्रो/नराम्रो जे गरेपनि आफ्नो कर्मले हामीलाई पिछा गरिरहन्छ । कर्म बिउबिजन जस्तै हो, जस्तो रोप्यो त्यस्तै फल्छ, तर कहिलेकाहीँ हामीले रोपेका बिरुवा सग्लो नरहन सक्छन् र सबै बिउ बिरुवा नबन्न सक्छन्, सबै बिरुवा रुख नबनी मर्न सक्छन् या सर्लक्क नबढी पोथ्राकै रूपमा रहनसक्छन् । कतिपय कुरा हाम्रो हातमा नहुन सक्छ ।

पुनर्जन्म र पूर्वजन्मको कर्मको फललाई प्रारब्धको रूपमा हिन्दुधर्ममा ब्याख्या गरिएको छ । कतिपय कुराहरू पहिल्यै तय भएका हुन्छन् भन्ने कुराकै परिणाम हाम्रा टिपन र चिनाहरूको निर्माण हो । जन्मिएको तिथिमितिका आधारमा टिपन बनाइन्छ, टिपनको आधारमा चिना । चिनामा लेखिएका र हातको रेखामा कोरिएका कतिपय कुराहरू पूर्वजन्ममै तय भएका हुन् भन्ने छ । जन्म, मृत्यु र विवाह पहिल्यै तय भएर आएको हुन्छ भन्ने प्रचलित भनाइ छ । राजा दशरथलाई गुरु वशिष्ठले राम जन्मनुअघि नै तिम्रो जेठो छोरा मर्यादित हुन्छ तर उ टाढा जानुपर्ने परिस्थिति खडा हुन्छ र त्यही छोराको सन्तापमा तिम्रो मृत्यु हुन्छ भनेर पहिल्यै भनेका थिए भन्ने छ । जसलाई गुरु वशिष्ठले त्यो तिम्रो पूर्वजन्मको कर्मको प्रारब्ध हो भनेका थिए । हाम्रो पनि आजको प्रारब्ध हिजोको कर्म हो । आजको कर्म भोलिको प्रारब्ध हुनेछ ।