अब कसैले यसरी झुक्किनु नपरोस्

अब कसैले यसरी झुक्किनु नपरोस्


विवाहअगाडिसम्म काङ्ग्रेस र साथीहरूको प्रिय देउवा विवाहपश्चात पत्नीको एकलौटी स्वामित्वमा पर्नुभयो, ‘पावर र पैसा’ नै राजनीति हो भन्ने ज्ञानले भरिपूर्ण पत्नीले शेरबहादुरजीको निजीकरण गर्दै आफ्नो जीवन उल्लासमय बनाउनुभएको छ । राजनीति यस्तो हुन्न भन्ने हामीले ठानेका थिएनौँ, कार्यपरिणामले हामीलाई यहाँ पनि झुक्क्याएको महसूस गराइरहेको छ ।
✍ देवप्रकाश त्रिपाठी

सबैको जिन्दगी बालपन, युवा र वृद्धावस्था भएर गुज्रन्छ, सूर्यले पनि हरेक दिन यस्तै अवस्थाबाट आफ्नो कालचक्र पूरा गरिरहेको हुन्छ । यो प्राकृतिक प्रक्रियालाई स्वाभाविक मानिन्छ र, कसैले अस्वाभाविक ठानेका छन् भने त्यस्तो ठान्नेमै समस्या छ भनेर बुझ्नुपर्ने हुन्छ । वृद्धावस्था अनुभवमार्फत प्राप्त ज्ञानको भण्डार हो, यस अर्थमा वृद्ध अर्थात् परिपक्व मानिस आफैमा एउटा विश्वविद्यालय हुन् भन्न सकिन्छ । युवावय उर्जा र उत्साहको अनुपम सङ्गमकाल हो । ब्यक्तिगत जिन्दगीमा युवाकाललाई स्वर्णिम समयका रूपमा लिन सकिन्छ भने समाज र राष्ट्रलाई गतिशील तुल्याइराख्न युवाकै भूमिका सर्वाधिक महत्वपूर्ण हुनेगर्छ । बाल्यकाल निर्दोष, छलछामविहीन र जिज्ञासु रहने हुनाले उक्त कालखण्ड सिक्दासिक्दै बितेर जान्छ ।

जीवनमा स्वाभाविक रूपमा आइपर्ने उल्लिखित तीनमध्ये तीनवटै अभेद्य अवस्थाको आ-आफ्नै विशिष्टता र महत्व छ । त्यसैले युवा या प्रौढ कसैले पनि एकअर्कालाई निषेध गर्न खोज्नु उपयुक्त होइन । तथापि उर्जा र उत्साहको सँगमकाल भएकोले युवावस्थालाई अलिक बढी महत्वको मानिन्छ । हुन त सृष्टिमा उत्पादनलाई गतिको निरन्तरता मानिन्छ र, उत्पादनका दृष्टिले युवाकाल उपयुक्त हुने भएकोले पनि त्यसको महत्व अलिक बढी भएको हुनसक्छ । किशोरावस्थामै हरेक मानिसमा आकाङ्क्षा र महत्वाकाङ्क्षाको बिजारोपण भइसकेको हुन्छ । कसैको महत्वाकाङ्क्षा आफैतिर फर्किएको हुन्छ भने कसैले समाज र राष्ट्रको हितसँग आफ्नो आकाङ्क्षालाई जोडेका हुन्छन् ।

उमेरको सोह्र वर्ष पुग्दानपुग्दै हाम्रो पुस्तामा राजनीतिक रुचि प्रविष्ट भएको थियो । प्रणाली र समाज परिवर्तनको भूत सवार भएपछि हामी निर्दलीय पञ्चायती ब्यवस्था र राजाको सक्रिय शासनविरूद्ध सङ्गठित र सक्रिय हुन पुगेका थियौँ । त्यसबेला सबै समस्याको समाधान पञ्चायती ब्यवस्थाको अन्त्यसँगै हुने ठानिन्थ्यो, हाम्रो युवापन यसबाहेकको एजेण्डामा सहमत हुन सक्दैनथ्यो, भएन । लडियो, जेल परियो, यातना भोगियो, तर हामी पञ्चायती व्यवस्था विस्थापन गरेर हाम्रै पालामा देश समृद्ध तुल्याउछौँ भन्ने विश्वासका साथ क्रियाशील थियौँ । पञ्चायत विस्थापनसँग परायाशक्तिको इच्छा र योजना जोडिएको हेक्का राख्ने सामथ्र्य र क्षमता हामीमा विकास भइसकेको रहेनछ, तर हामीले आफ्नो कर्ममा खोट भएको कहिल्यै ठानेनौँ । २०४६ को आन्दोलनमा मानिसहरूको सहभागिता न्यून रहन थालेपछि आत्मरक्षात्मक अवस्था सिर्जना भएको थियो, कतिपय साथीमा आन्दोलन असफल भएपछि ज्यान कसरी जोगाउने भन्ने तहको चिन्ता प्रकट हुन थालेको थियो । बाह्यशक्तिलाई नेपाली राजनीतिमा निरुत्साहित गर्न उनिहरूको ‘बार्गेनिङ टुल्स’ बनिरहेको आन्दोलन टुङ्ग्याइदिने राजा वीरेन्द्रको इच्छाअनुरुप सम्झौता भएर चैत २६ गते मध्येरातमा पार्टीमाथिको प्रतिबन्ध हटाइयो, भोलिपल्ट २७ गतेदेखि बल्ल मानिसहरू सडकमा ओर्लिए । चैत २७ देखि ०४७ बैशाख १० गतेसम्म प्रहरीमाथि प्राणघातक हमला भए, आइजीपी घेराबन्दीमा परे, अञ्चलाधीश कार्यालयमा आगलागी भयो, यस्ता अनेक बितण्डा भए, तर यो आन्दोलनको क्रममा भएको थिएन, विजयको उन्माद या ओरालो लागेको मृगलाई खेद्ने मनोवृत्तिको प्रकटिकरणका रूपमा त्यस्ता घटना भएका थिए । आफै संलग्न रहेको आन्दोलनमा बाह्यशक्तिको मूख्य भूमिका रहेको युवावयका हामीले बुझ्न सकेका थिएनौँ । अहिले सम्झँदा हाम्रो पुस्ता पहिलोपटक त्यहीँनेर झुक्किएको महसूस हुन्छ ।

पञ्चायत विस्थापनसँग परायाशक्तिको इच्छा र योजना जोडिएको हेक्का राख्ने सामर्थ्य र क्षमता हामीमा विकास भइसकेको रहेनछ, तर हामीले आफ्नो कर्ममा खोट भएको कहिल्यै ठानेनौँ । २०४६ को आन्दोलनमा मानिसहरूको सहभागिता न्यून रहन थालेपछि आत्मरक्षात्मक अवस्था सिर्जना भएको थियो, कतिपय साथीमा आन्दोलन असफल भएपछि ज्यान कसरी जोगाउने भन्ने तहको चिन्ता प्रकट हुन थालेको थियो ।

आन्दोलन चलिरहँदा हामीलाई पञ्चायत ढलेपछि राज्य सञ्चालन गर्ने जनशक्ति अपुग हुने ठानिएको थियो । हामीमा अनुभव र परिपक्वता नभएकोले राज्यका निम्ति लिइनुपर्ने ठूल-ठूला जिम्मेवारी कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने चिन्ता थपिएको थियो । तर बहुदलीय प्रजातन्त्र स्थापनापछि हामी बाहिर पऱ्यौँ, आन्दोलनका क्रममा कहिल्यै नदेखिएका प्राणीहरूको घेरामा नेताहरू परे, तिनले जे भन्छन् त्यही गर्दै जाँदा देशले आफ्नै विरुद्धको यात्रा चालिसकेछ, यहाँ दोस्रोपटक झुक्किएको महसूस हुनपुग्यो ।

कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला जस्ता परिपक्व नेताहरूले नेतृत्व दिने हुँदा देशले सही गन्तब्य र दिशा प्राप्त गर्छ भन्ने विश्वास गरिएको थियो, उहाँहरूको समय पनि आपसी द्वन्द्व र झमेलामै बित्यो, त्यसले पनि हामीलाई निराशा नै दिएको हो ।

मन्त्री बन्न मानिसमा विशेष योग्यता, क्षमता, इमान्दारी, परिपक्वता र दूरदर्शिता हुनुपर्छ भन्ने हाम्रो बुझाइ थियो । तर २०४८ बैशाखको निर्वाचनमा विजयी भएर आउनुभएका सांसद शेरबहादुर देउवाले घट्टेकुलोस्थित एक घरमा (जेठको पहिलो साता) बोलाउनुभयो र, निकै प्रशन्न मुद्रामा प्रस्तुत हुँदै सोध्नुभयो- ‘मलाई गिरिजाबाबुले मन्त्री बनाउने हुनुभयो, जलश्रोत या गृह कुन लिने हो रोज्नु भन्नुभएको छ, कुनचाहिँ मन्त्रालय लिँदा उपयुक्त होला ?’ देउवाले यस्तो प्रश्न गर्नुहुँदा म स्तब्ध भएको थिएँ । मन्त्री बन्न विशेष योग्यता, क्षमता र दूरदर्शिता आवश्यक पर्ने ठानेको हुँदा मलाई देउवाको भनाइले स्तब्ध तुल्याएको थियो । र, जस्तासुकै मानिस मन्त्री बन्न सक्दारहेछन् भन्ने ज्ञान त्यसबेला मलाई प्राप्त भएको थियो । आफूलाई सम्हाल्दै त्यसबेला मैले देउवाजीलाई भनेको थिएँ- ‘विकाश गर्ने हो भने जलश्रोत र, शासन गर्ने भए गृह लिनुपर्छ ।’ मेरो जवाफ सुन्नेबित्तिकै त्यहाँ उपस्थित देउवाकी निकटतम् मित्रले अलिक झोक्किँदै भन्नुभएको थियो- ‘केको विकाश, शासन गर्नुपर्छ शासन !’ नभन्दै त्यसको केही दिनपछि देउवा गृहमन्त्री बन्नुभयो, म चित् परेँ ! त्यसपछि त उहाँ पाँच पटक प्रधानमन्त्री नै बनिसक्नुभएको छ ।

प्रजातन्त्र स्थापनालगत्तै बेलायतबाट नेपाल आउनुभएका देउवासँग मेरो राम्रो सम्बन्ध थियो । उहाँ मेरो राजनीतिक हैसियत उचाल्न चाहनुहुन्थ्यो, विवाह गर्नुअघिसम्म देउवामा कुनै विशेष क्षमता नदेखिए पनि बेइमान नभएजस्तो लाग्थ्यो र, मित्रवत पनि हुनुहुन्थ्यो । तर, उहाँको निगाहबाट प्राप्त हुने राजनीतिक हैसियतप्रति मेरो कुनै रुचि रहेन । विवाहअगाडिसम्म काङ्ग्रेस र साथीहरूको प्रिय देउवा विवाहपश्चात पत्नीको एकलौटी स्वामित्वमा पर्नुभयो, ‘पावर र पैसा’ नै राजनीति हो भन्ने ज्ञानले भरिपूर्ण पत्नीले शेरबहादुरजीको निजीकरण गर्दै आफ्नो जीवन उल्लासमय बनाउनुभएको छ । राजनीति यस्तो हुन्न भन्ने हामीले ठानेका थिएनौँ, कार्यपरिणामले हामीलाई यहाँ पनि झुक्क्याएको महसूस गराइरहेको छ ।

प्रशन्न मुद्रामा प्रस्तुत हुँदै देउवाले सोध्नुभयो- ‘मलाई गिरिजाबाबुले मन्त्री बनाउने हुनुभयो, जलश्रोत या गृह कुन लिने हो रोज्नु भन्नुभएको छ, कुनचाहिँ मन्त्रालय लिँदा उपयुक्त होला ?’ देउवाले यस्तो प्रश्न गर्नुहुँदा म स्तब्ध भएको थिएँ । मन्त्री बन्न विशेष योग्यता, क्षमता र दूरदर्शिता आवश्यक पर्ने ठानेको हुँदा मलाई देउवाको भनाइले स्तब्ध तुल्याएको थियो । र, जस्तासुकै मानिस मन्त्री बन्न सक्दारहेछन् भन्ने ज्ञान त्यसबेला मलाई प्राप्त भएको थियो ।

माओवादीले प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीविरूद्ध हिंसात्मक सङ्घर्ष गरिरहँदा उनिहरूसँग राज्यले सम्झौता गर्नु शैद्धान्तिक र राजनीतिक रूपले गल्ती हुन्छ भन्ने ठानियो । एउटा मध्यमार्गी काङ्ग्रेस पार्टीले आफ्नो विचार दर्शनबाट एक ईन्च पनि डगमगाउनु नहुने धारणा राखियो र, कुनै बिन्दुमा काङ्ग्रेसको माओवादीकरण हुनसक्छ भन्ने कल्पना पनि गरिएन । तर यहाँ पनि हामी झुक्कियौँ ! २०६३ को परिवर्तन नेपाली राष्ट्रियता र राष्ट्रिय एकताविरूद्ध लक्षित रहेको हुँदा आम नेपालीको धारणा राजालाई एक कदम पछि हटाएर माओवादीलाई अनेकौँ कदम पछि हटाउनेतर्फ अग्रसर रहने ठानिएको थियो । भिन्न विचार ग्रहण गर्नु, काम गर्दागर्दै धनी बन्नु र माओवादी पार्टीको समर्थन नगर्नु पनि अपराध मानिन्छ र, कसैले हिंसाको सिकार बन्नुपर्छ भन्ने कहिल्यै सोचिएको थिएन, नसोचिएको दृष्य आफ्नैअगाडि खडा भयो ! यस्तो अग्राह्य स्थितिप्रति जनताको समर्थन रहने अनुमानसम्म गरिएको थिएन, तर अनुमानविपरीतकै घटनाक्रम हुँदै गरे, हामीले मुकदर्शकको भूमिका निर्वाह गर्नुप¥यो ! यो सन्दर्भमा पनि आफू झुक्किएको महसूस भइरहेको छ ।

कपडा, कागज, इटा टायल, छालाजुत्ता, कृषिऔजार, चिनी, टायर र चुरोट उद्योग घाटामा गएको भन्दै ध्वस्त पारियो । विद्युतीय बस सेवालाई बिदा दिइयो, राज्यले घाटाको बिजनेस गर्न मिल्दैन भनियो र, हामीले पत्यायौँ, तर यसमा पनि हामी झुक्किएका रहेछौँ । अन्तर्राष्ट्रिय राजनीतिको सिकार नेपालीले बन्नुपरेको रहेछ ! कुनै समयमा राजनीति नै व्यापार बन्ने र, राजनीतिमा धनप्रधान भएर आउने सम्भावना देखिएको थिएन । त्यसैले रातारात करोडौँ आर्जन हुने अवसर त्यागेर मनमनै प्रशन्न भइएको थियो । कुनैबेला धन मात्र बोल्ने र सत्य मौन रहने समयको आगमन हुने सोचिएको थिएन । त्यसबेला करोडौँको आर्जन गुमेकोमा अहिले पनि पश्चाताप छैन, तर धन बोल्ने र सत्य मौन रहने विद्यमान परिस्थितिले दनक दिएको महसूसचाहिँ भइरहेको छ । कहिले शान्ति-सम्झौता भएपछि दुःखका दिन सकिने बताइयो, त्यसपछि संविधानसभाको निर्वाचनपश्चात् सबैखाले समस्याको समाधान हुने बताइयो, अनि संविधान जारी भएलगत्तै देशले समृद्धिको यात्रा सुरु गर्ने विश्वास दिलाइयो ।

यसरी हामी पटक-पटक झुक्क्याइयौँ ! जसको लेखकीय अभिव्यक्ति उन्नत छ उही माथिल्लो दर्जाको पत्रकार बन्नसक्छ भन्ने ठानिन्थ्यो, तर अहिले प्रज्ञाहीन र लेखकीय क्षमतारहित चिच्याहटलाई पत्रकारिताको उत्कृष्ट रूप मान्न थालियो । यो सन्दर्भमा पनि हामीले आफू झुक्किएको महसूस गरेका छौँ । हाम्रै जिन्दगीको साढे तीन दशक यस्तै-यस्तै भुलभुलैयामा परेर बित्यो । अब ‘युवा र नयाँ’का नामको अर्को खेतिपाती सुरु भएको छ । हो, मानिसमा पुराना राजनीतिक दल र नेतृत्वप्रतिको भरोसा समाप्त भएको छ । तिनले अवलम्बन गरेको नीति र व्यवहार पूर्णतः असफल भइसकेको छ । मानिसमा बढ्दो असन्तुष्टि आक्रोशमा रुपान्तरित हुँदैछ र, यिनको विकल्पको खोजी भएको छ । समस्या नेतृत्वमा मात्र नभइ नीतिमा छ, तर नीति यथावत राखेर नेता मात्र बदल्ने षड्यन्त्र भइरहेको छ ।

आम नेपालीको धारणा राजालाई एक कदम पछि हटाएर माओवादीलाई अनेकौँ कदम पछि हटाउनेतर्फ अग्रसर रहने ठानिएको थियो । भिन्न विचार ग्रहण गर्नु, काम गर्दागर्दै धनी बन्नु र माओवादी पार्टीको समर्थन नगर्नु पनि अपराध मानिन्छ र, कसैले हिंसाको सिकार बन्नुपर्छ भन्ने कहिल्यै सोचिएको थिएन, नसोचिएको दृष्य आफ्नैअगाडि खडा भयो !

विद्यमान नीति यथावत राखेर नेतृत्वमा जस्तासुकै ब्यक्तिलाई स्थापित गरिएपनि त्यसले समाधान नदिने निश्चित छ । देशको राज्यसत्ता अदृष्य शक्तिको हातमा केन्द्रित छ, उनिहरू आफ्ना पुराना ‘कामदार’ असान्दर्भिक हुँदै जादा त्यसको विकल्पमा कुनै देशभक्त राष्ट्रवादी शक्तिको उदय नहोस् भन्नेतर्फ पूर्ण सचेत छन् । त्यसैले उनिहरू आफूले खडा गरेका पुराना पात्रहरूको विकल्पमा पनि आफ्नै ‘जिलेन्स्की’हरूलाई स्थापित गराउन यत्नशील देखिन्छन् । नेपालीहरू समृद्ध र नेपालको राजनीति स्थिर भयो भने अदृष्य शक्तिको भूमिका कमजोर हुनेछ, त्यसर्थ उनिहरू अस्थिरता र गरिबीको स्थायित्वका निम्ति सम्पूर्ण कसरत गर्दैछन्, हामी अग्रगमनको नाममा आफ्नो मलामी आफै जानुपर्ने अवस्थाको स्वागत गर्दैछौँ ! यतिबेला हरेक पुराना दलहरूभित्र आफ्नै पुराना मानिसको विकल्प खडा गरिसकिएको छ र, सबै पुराना पार्टीहरूको विकल्प तयार गर्ने अभ्यास पनि सँगसँगै चलिरहेको छ ।

रहस्यमयी जर्ज सोरस नेतृत्वमा सञ्चालित ओपन सोसाइटी नामक गैरसरकारी संस्थाको सक्रियता पुनः बढेको छ । भारत र चीनलगायत विश्वका धेरै मुलुकहरूले जर्ज सोरसका गतिविधिमाथि निगरानी र नियन्त्रणको रेखा गहिरो बनाउँदै लगेको यो समयमा नेपालभित्र भने उसका गतिविधिहरूलाई प्रश्रय दिइँदै छ । ‘एकलाख डलर कुल्चिएर हिँड्नसक्ने’ हैसियतका रहस्यमयी मानिसको उत्थानमा आफ्नो भविष्य देख्ने र खोज्ने काम भइरहेको छ । हामी फेरि आगामी कैयन दशकसम्म थप पीडादायी दिनहरूलाई निमन्त्रणा दिन देशलाई प्रयोगशाला बनाउँदै छौँ, समग्रमा हामी फेरि पनि झुक्किँदै छौँ । आफ्नो मौलिक इतिहास, सभ्यता, धर्म, संस्कृति, राष्ट्रियता र राष्ट्रिय एकताविरूद्ध रोबोट झैँ परिचालित हुँदैछौँ ! अब पनि हाम्रो आँखा नखुल्ने हो भने अर्को पुस्ता पनि झुक्किने छ । नेपाल आफ्नो अस्तित्व रक्षा गर्न असमर्थ सिद्ध हुनेछ, त्यसपछि प्यालेस्टेनी झैँ देश खोज्दाखोज्दै पुस्तौँपुस्ताले युद्धमैदानमा जन्मनु र मर्नुपर्नेछ ! जय मातृभूमि !