ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को-ओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैयाँ बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरू ग्रुपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी बिस्तार गरेको थियो ।
सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्वअध्यक्ष भरत महर्जन लामो समयदेखि बेलायततिर भासिएर हराएपछि सदस्यहरूको बिचल्ली भएको छ । पूर्वअध्यक्ष मर्हजनसहित उनका आफन्त सञ्चालकहरू हेमराज दाहल, विनोद आचार्य, दिलिप डङ्गोल, सुनिल डङ्गोल, स्वच्छन्दा मानन्धर, रमेश मर्हजन लगायतले स्थापना गरेको सो सहकारीले जनताको ८ अर्ब रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरूले जनाएका छन् ।
उक्त रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्वअध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटी हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अर्बौं ऋणमा रहेको बुझिएको छ ।
हेमराज दहाल नेतृत्वको नयाँ सञ्चालक समितिले हस्पिटल, जग्गा–जमिन, कलेज रामै्रसँग चलेको बताएर सर्वसाधारणको निक्षेप महिनौँसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालसाझीपूर्ण गतिविधिमा नयाँ समितिका सदस्यहरू अगाडि नदेखिएपनि कर्मचारी र सदस्यहरूलाई धाकधम्की दिएर सहकारीको सिइओले बोल्न नदिने गरेका स्रोतले बतायो । सो कारण सदस्यहरू तथा कर्मचारीहरू कहाँ कुन निकायमा जाने अन्यौलमा छन् ।
स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरूको बेलायत तथा अमेरिकाको भिषा लगाएर उतै पलायन हुन थालेको चर्चा चल्न थालेको छ । उक्त सहकारीका एकाउन्टेन्ट अहिले अष्ट्रेलियामा छन् ।
सुमेरु गु्रपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरूले नै बताउन थालेका छन् । सुमेरु हस्पिटल, कलेज पनि बैंकले लिलाम गर्ने अवस्थामा पुगेको पाइएको छ । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरू विदेश भाग्ने खतरा बढेको स्रोतले बतायो । अहिले केन्द्रिय कार्यालयसहित सो सहकारीका चारवटै शाखा बन्द अवस्थामा छन् ।
- दिनेशलाल महर्जन
प्रतिक्रिया