राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी


नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौँ राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कास्य जितेका हुन् ।

नेपाल जुडो सङ्घद्वारा शुक्रबार आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन सात स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जिते । उनले फाइनलमा नेपाल एपिएफ क्लबका सुजन तामाङलाई पराजित गरे । नेपाल आर्मीका जङ्गबहादुर सारु र प्रहरीका मधु रोका मगर तेस्रो भए ।

नब्बे केजीमुनि प्रहरीका मनिष महतो पहिलो भए । उनले फाइनलमा आर्मीका राजेश थापा मगरलाई हराए । एपीएफका लेलिन डंगोल र बागमती प्रदेशका रामभक्त तामाङले कांस्य जिते । एक सय केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेश प्रदेशका हिमांशु गुप्तालाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे । बागमतीका आकाश आले मगर तेस्रो स्थानमा रहे ।

एक सय केजीमाथि आर्मीका रन्जेश गोलेले बाजी मारे । उनले फाइनलमा प्रहरीका राजन जोशीलाई निराश पारे । कर्णाली प्रदेशका निश्चल राई तेस्रो बने । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । फाइनलमा पुनमले प्रहरीकी रजनी मगरलाई पन्छाइन् । बागमतीकी रञ्जना खड्का तेस्रो बनिन् ।

अठहत्तर केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पूर्णिमा चौधरीको चुनौती समाप्त पार्दै शीर्षस्थान कब्जा गरिन् । आर्मीकी निर्मला घर्तीमगरले कास्य हात पारिन् । अठहत्तर केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीमाथि जित दर्ता गर्दै स्वर्ण चुमिन् । कर्णालीकी दीपिका अछाजु तेस्रो भइन् ।

प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी एक सय १६ खेलाडी सहभागी थिए ।