सपुतको ‘सकम्बरी’ र यसले पैदा गरेको तरङ्ग

सपुतको ‘सकम्बरी’ र यसले पैदा गरेको तरङ्ग


सकम्बरी गीतले मनोरञ्जन क्षेत्रको ब्यथितिलाई औल्याउँदै यसको सुधारको लागि नीति-निर्माताको कानमा गीतमार्फत सूचना पुऱ्याएको छ । विरोधको लागि विरोध होइन, यी र यस्ता समाजमा जरो गाडेर बसेका भाइरसलाई कसरी निर्मुल पार्न सकिन्छ भनी सुधारको थालनी आजैबाट गरौँ ।
✍ सुन्दर शर्मा

प्रकाश सपुतले केही दिनअघि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत दिन-प्रतिदिन चर्चित हुँदै नयाँ-नयाँ रेकर्ड राख्न सफल भएको छ ।

प्रकाश सपूत पङ्क्तिकारलाई मनपर्ने भन्दा पनि समसामयिक विषयबस्तुलाई जस्ताको तस्तै उतारेर समाजलाई ऐना देखाउने एक सच्चा सपूत हुन् । प्रकाश नेपाली साङ्गीतिक बजारको परिचित मात्र नभइ ‘ब्राण्डिङ’ नाम पनि हो । सङ्गीतको बजारमा उनले आफ्नो अलग परिचय र पहिचान बनाउन सफल भएका छन् ।

कतिले प्रकाशलाई महिलाविरोधि ब्यक्तिको रूपमा बुझ्ने र बुझाउने काम गरिरहेका छन् । महिलावादीहरूको भनाइ छ कि ‘प्रकाशले महिलालाई बिकाउ मालभन्दा अर्को रूपमा देख्नै चाहँदैनन्, देखाउनै सक्दैनन् !’ यो भनाइमा म सहमत हुन सक्दिनँ ।

यहाँ म ‘सकम्बरी’ गीतका बारेमा केही विमर्श गर्न चाहान्छु । विमर्श सकारात्मक वा नकारात्मक जस्तो पनि हुन सक्छ ।

एउटी कलिलो उमेरकी फुलमाया नाम दिइएकी गाउँलेकेटी शहर पस्छे, आफ्नो उज्ज्वल भविष्य निर्माणको लागि । शहर पस्नु उसको रहर नभएर बाध्यता हो । गाउँको दाइ पर्नेले शहर जाने बन्दोबस्त मिलाउँछ । तर, फुलमायाले कल्पना गरेको शहर र उसले टेक्ने शहरमा निकै भिन्नता पाउँछे । एउटी सामान्य गाउँले केटी फुलमाया आफ्नो र परिवारको उज्ज्वल भविष्यको लागि बाध्यतावश शहर पसेकी हुन्छे । उसलाई बस चढेदेखि नै पुरुषका गिद्धेनजरले पछ्याउन थाल्छन् । शहरमा एकपछि अर्को गर्दै फुलमायासँग सम्बन्ध राख्न विभिन्न पात्रको प्रवेश हुन्छ । कोही दाइ बनेर, कोही ग्राहक बनेर त कोही साहु बनेर उसको जवानीमा खेल्न थाल्छन् । बिस्तारै फुलमाया पनि विभिन्न बदनाम चरित्रका पुरुषको कब्जामा पर्छे । पुँजीपति सोच भएका पुरुषले उसको शरीर र जवानी पैसामा किन्न सफल हुन्छन् । फुलमाया त्यो दलदलबाट निस्कनै सक्दिन । बिस्तारै उ शहरको रंङ्गीन दुनियाँमा रमाउन थाल्छे ।

आफू प्रयोग मात्र हुने देखेपछि उसमा बिस्तारै केही बदलाव आउँछ र सकम्बरी बन्छे… नयाँ पहिचानसहित ! सकम्बरी बन्न उसका लागि कम्ती चुनौती थिएन । उसको यौनधन्दाबाट मनोरञ्जन र नाफा कमाइरहेका ब्यक्तिलाई फुलमाया सकम्बरी बनेको पटक्कै मन परेन र ‘इज्जत लिलाम गर्ने बेसरम केटी’को ट्याग भिराइदिए । । कहानी यही नै हो । मैले त यहाँ हाम्रा चेलीको अपमान भएको देख्दिनँ त !

गाउँले सोझी केटी शहर पसेको छोटो समयमा नै फेसनमा लाखौँ खर्चिने, स्कुटरमा सवार हुने, महँगा गरगहना पहिरिने, महँगो जीवनशैली अपनाएको देख्दा जो पनि जिज्ञासु बन्छ र ‘कल्ले किन्दियो ?’ भनेर सोध्न सक्छ । देखिने पेशा केही छैन, तर जीवनशैली आकासिएको छ । यस्तो देख्दा जसले पनि सोध्छ- यो पैसा कहाँबाट आयो भनेर । गीतमा देखाइएको सकारात्मक कथा यही नै हो । महिलाहरूको अति महत्वाकाङ्क्षा, देखावटी बडप्पन र आडम्बरको कारणले पनि उनीहरूलाई कुबाटोमा डोऱ्याउँछ भन्ने कुरा प्रष्ट पार्न सफल भएको छ यो गीत ।

गायकले एक गाउँलेकेटी (फुलमाया) मार्फत समाजको ऐना देखाएका छन् । मैहुँ भन्ने पुँजीपतिको पैसा भए सबै चिज किन्न सकिन्छ भन्ने घमण्डलाई गीतमार्फत उतारेका छन् सपुतले । समाजमा जरो गाडेको कुरीति र विकृति एक काल्पनिक पात्र (फुलमाया) मार्फत छर्लङ्ग देखाउँदा किन यतिसारो विरोधको रोइलो हो, बुझिनसक्नु छ ।

गीतमा महिलाको मात्र कहाँ हो र ? पुरुषहरूको बेइमानी को कथा पनि प्रष्ट देखिन्छ । फुलमायाकी आमाले बडो विश्वासका साथ छोरीलाई उसको रेखदेखको जिम्मा दिएकी हुन्छे । जागिरको प्रलोभनमा पारेर जिम्मा लिएको ब्यक्तिले नै यौन शोषण गरेको दृश्यले पुरुष हुँ भन्नेको असली चरित्र र मनोदशा उदाङ्ग पारेको छ ।

सकम्बरी गीतले हामीलाई दिन खोजेको सकारात्मक सन्देश के हो भने, आफ्नो उज्ज्वल भविष्यको लागि कामको खोजिमा गाउँबाट शहर पस्न बाध्य फुलमाया जस्ता सिधासोझा निर्दोष केटीलाई कसरी नचाहँदानचाहँदै पनि यौनपिपासुहरूले गलत बाटोमा पु¥याइदिँदा रहेछन् भन्ने हो । यिनै कुरालाई कलात्मक रूपमा पस्केका मात्र हुन् प्रकाशले ।

कतिपय महिलावादी भनाउँदाले ब्यक्तिगत रूपमा समेत प्रकाशलाई गाली र अपमान गरेको देख्दा अचम्म लाग्छ । नीतिनिर्माताले यस्तो घिनौना कार्य गर्ने यौनपिपासुलाइ दण्डित गर्ने कडा कानुन बनाए त प्रकाश जस्ता गायकले यस्ता कुराको उठान गर्नैपर्दैन नि !

हाम्रो समाजमा जो उच्च ओहदामा बसेर घरमा पत्नी हुँदाहुँदै बाहिर २/४ महिलासँग रङ्ग-रमाइलो गरिरहेका हुन्छन्, जसले आफ्नै घरका छोरी-बुहारीलाई पनि निच व्यवहार गर्छन्, जसले घरमा काम गर्ने महिलालाई बाध्य पारी यौन प्यास मेटाउँछन् । यस्ता महापुरुषहरूबाट महिलाको हित र रक्षामा कानुन बन्ला र आवाज उठ्ला भनेर कसरी पत्याउने हामीले ? कमसेकम प्रकाशले गीतमार्फत भएपनि आमपीडित महिलाको कथा र ब्यथा सार्वजनिक गरेका छन् भने उनको विरोध केका लागि ?

आफुलाई समाजको जिम्मेवार ब्यक्ति ठान्नेले सही र उचित तरिकाले बुझ्ने कोशिश गरौँ । दोष प्रकाशको होइन, यो समाजका यौनपिपासु पुरुषको हो । कोही पनि महिला रहरले यौन पेशामा लाग्दैन । उसलाई चारैतिरका दृश्य-परिदृश्यले बाध्य पार्छन् यस्तो घिनौना काम गर्न ।

प्रकाशले चलचित्र तथा रङ्गमन्च क्षेत्रमा आवद्ध सम्पुर्ण दिदीबहिनीहरू यस्तै हुन्छन् भनेका पनि छैनन् । कतिपय हाम्रा चेलीबेटीले यस्तो कारुणिक दुःख र समस्या झेल्नुपरेको छ है भन्ने कुराको सङ्केत मात्र दिन खोजेका हुन् । रातमा काम गर्ने सबै महिलालाई यहाँ नराम्रो भन्न खोजेको पनि होइन । विरोध गर्ने मसला नपाएर प्रसङ्ग अन्तै मोडेको मात्र हो विरोध गर्नेले । केही महिलाको कहानी हो यो । प्रकाशलाई हिलो छ्याप्ने काम बन्द गरौँ । यस्तो विरोधले कसैको पनि भलो हुँदैन ।

विरोध गर्ने महिलावादीहरूलाई सोध्न चाहन्छु- यदि हाम्रो समाजमा यस्ता घटना घटेका छैनन् भनेर कसैले छातीमा हात राखेर भन्न सक्नुहुन्छ ? यदि सक्नुहुन्न भने किन सर्जकलाई खेदिराख्ने ? एक उदाउँदो प्रतिभा जसले समग्र समाजका कुरा बोल्छ, प्रस्फुटन हुन नसकेका कयौँ प्रश्नलाई अर्थ्याउने कोशिस गर्छ उसैलाई निरन्तर खेदिरहनुपर्ने ? किन यति धेरै खेदो खनेको प्रकाश सपुतको ?

योभन्दा अगाडि प्रकाशको ‘पीर’ गीतमाथि पनी केही माओवादीहरूले तीखो टिप्पणी गरेका थिए । त्यो गीतमा वैदेशिक रोजगारीको चरम पीडादेखि देहव्यापारसम्मलाई केन्द्रमा राखिएको थियो । गीतमा जनयुद्धको कहीाकतै विरोध गरिएको थिएन । जनयुद्धपछि माओवादी केन्द्रीय नेताहरू १८० डिग्रीमा बदलिए भन्ने कुरालाई साङ्केतिक रूपमा दर्शाइएको थियो । खालीखुट्टा र भोकोपेटले जनयुद्ध लडेका कतिपय पूर्वलडाकुको दयनीय अवस्था छ । सँगै युद्धमा होमिएको साथी अपाङ्ग र बेसहारा हुँदा पनि पार्टीले केही सहयोग नगरी टुलुटुलु हेरिबसेको दृश्यलाई गीतमार्फत पस्केका मात्र थिए प्रकाशले । जीवन धान्नलाई केही गर्ने सीप र योग्यता नभएपछि यौनपेशामा लाग्न बाध्य एक पूर्वलडाकुको कथा समेटिएको ‘पीर’ गीतको पनि निकै विरोध र आलोचना गरियो । किनकि, माओवादी हुँ भन्नेलाई आफ्ना पूर्वलडाकुको कथा-ब्यथा सुन्न र हेर्न शर्म लाग्यो होला सायद । गीतको दृश्यमा देखिएकी उनै वास्तविक पूर्वलडाकुले मिडियामा सत्यतथ्य बोलिरहँदा पनि विरोधको पारो घटेन । आफ्नो गल्ती छोप्नलाई केही दृश्य हटाउन बाध्य पारियो प्रकाशलाई ।

कुनै सामाजिक परिवेश र त्यसका आयाममा सृजना गर्दा सबैको विचार नमिल्न पनि सक्छ । हाम्रो समाजमा गीतमा देखाइए जस्तो अवस्था जहाँ तहि छ भन्न खोजेको पनि होईन । हाम्रै समाजका कतिपय स्थानमा यस्ता अमानवीय घटना पनि भइरहेका छन् है भन्न मात्र खोजेको हो गीतले । गीतको एउटा पात्रले १०० प्रतिशत महिलाको प्रतिनिधित्व गर्ने पनि होइन । यसलाई सकारात्मक रूपमा बुझियो भने रिजल्ट पनि सकारात्मक निस्कन्छ । तुच्छ विरोधि मानसिकता राखेर बुझियो भने रिजल्ट पनि नकारात्मक आउँछ । त्यो हेर्ने र बुझ्ने मानिस र उसको बौद्धिक क्षमतामा भरपर्ने कुरा हो ।

गीतमा महिलाहरूमा केही गर्ने क्षमता हुँदैन, नेपाली चेलीहरू श्रम होइन शरीर बेच्छन्, महिलाहरू आफ्नो जीवनयापन र घरखर्चको लागि पौरख र सङ्घर्ष होइन कि जवानी बेच्छन् भन्ने देखाउन खोजेको पटक्कै होइन । यी र यस्ता नकारात्मक कुराहरू प्रकाशको विरोध गर्नका लागि उठाइएका अस्त्र मात्र हुन् ।

प्रकाशले त हाम्रो समाजमा रहेका यौनपिपासुहरूको विकराल अवस्था र विकृतिलाई देखाइदिएको मात्र हो, एक थिममार्फत । अब यस्ता विकृतिलाई के-कसरी निर्मुल पार्ने भन्ने कुरा नीतिनिर्माता, अधिकारकर्मी र प्रशासनिक इकाईहरूले ध्यान दिनुपर्ने कुरा हो । केही महिला अधिकारकर्मीले प्रकाशले आफ्नो गीत हिट र भाइरल बनाउन हाम्रा चेलीको जबर्जस्त ‘कुरूप बिम्ब’ निर्माण गर्छन् भन्ने आरोप पनि लगाएका छन्, तर यो कुरामा मेरो विमति छ ।

साहित्य समाजको ऐना हो । समाज रूपान्तरणको लागि यस्ता विसङ्गति र विकृतिलाई पत्रपत्रिकामा लेखेर, गीतमार्फत गाएर, नाटक तथा चलचित्रमार्फत अभिनय गरेर जनचेतना जगाउनु जरुरी छ । यस्ता समाजका मुद्दालाई बहसको विषय बनाउन यो सृजना सफल भएको छ । यस्तै जनचेतना जगाउने काम गीतमार्फत गरेका मात्र हुन् प्रकाशले ।

आदर्श मरेको र मारिएको समाजमा यस्ता घिनलाग्दा घटनाहरू दिनदिनै घटिरहन्छन् । खै त यस्ता विषयमा सम्बन्धित अधिकारवादी बोलेको ? आज तिनै कुरूप घटनालाई टपक्क टिपेर गीतमा उतारेर दर्शक र श्रोतामाझ पस्केका छन् गायकले त के नै बिगारे ? किन यति धेरै विरोधरूपी रोइलो गर्नुपरेको ?

पङ्क्तिकारको विचारमा फुलमाया गीतका दृश्यले समाजका कतिपय पाटोको असली चित्रण गरेको छ । यहाँ उठाइएका र देखाइएका दृश्यले महिलाको अपमान होइन कि पितृसत्तात्मक समाजको धज्जी उडाएको छ । यो गीतको कथाले पितृसत्तावादी सोच, अति पुँजिवादी सोच र निम्नस्तरको दलाली सोच भएका मानिसको मुखौटो उतारेको छ । यस गीतको माध्यमबाट मनोरञ्जनका नाममा भइरहेको तमाम यौनशोषण, महिला बेचबिखन र अत्याचारको मुद्धा सरकारको कानसम्म पुग्न सफल भएको छ ।

अन्तमा,
प्रकाशको सकम्बरी गीतले मनोरञ्जन क्षेत्रको ब्यथितिलाई औल्याउँदै यसको सुधारको लागि नीति-निर्माताको कानमा गीतमार्फत सूचना पुऱ्याएको छ । विरोधको लागि विरोध होइन कि यी र यस्ता समाजमा जरो गाडेर बसेका भाइरसलाई कसरी निर्मुल पार्न सकिन्छ भनी सुधारको थालनी आजैबाट गरौँ । प्रकाशले त समस्या देखाइदिए, अब त्यसमा सुधार गर्ने जिम्मा तपाईं-हामीले लिने हो कि !?