प्रथम प्रदेशस्तरीय गोल्डकप सुरु

प्रथम प्रदेशस्तरीय गोल्डकप सुरु


अल इन वान क्लब विर्तामोडको आयोजनामा आजदेखि प्रथम प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगरपालिका-१० सैनिकमोडमा भएको प्रतियोगिताको पहिलो खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक टिम ‘अल इन वान’ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा आयोजक क्लबका खेलाडी एलेक्स चौधरी, लक्ष्मी श्रेष्ठ, चत्रिका चौधरी र अनिता लम्जेलको प्रहार गोलमा परिणत भएको थियो । टाइब्रेकरमा धरानका लागि सुस्मिता राईले गोल गरे पनि प्रतिक्षा राई र टेरेशा मगरको प्रहार गोलमा परिणत हुन नसक्दा पराजय भोग्न बाध्य बन्यो ।

त्यसअघि बराबरी भएको खेलमा आयोजक क्लबका लागि कुसुम राईले खेलको २१औँ र प्रतिक्षा मल्ल ठाकुरले २४औँ मिनेटमा एक–एक गोल गरेका थिए । धरानका लागि प्रतिक्षा राईले नवौँ र समीक्षा मगरले २०औँ मिनेटमा एक–एक गोल गरेका थिए ।

आयोजक टिमकी गोलरक्षक सुशिला चौधरी आजको खेलको ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् । उनले नगद रु तीन हजार पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगिताको विजेताले रु दुई लाख दुई हजार र उपविजेताले रु एक लाख एक हजार पुरस्कार पाउने आयोजक संस्थाका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए । प्रतियोगितामा झापा जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार मिक्लाजुङ गाउँपालिका मोरङ र महमाई एकता क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका आठ टिमको सहभागिता रहने आयोजकले बताएको छ ।