मौलाकाली केवलकार वैशाख १८ देखि सञ्चालनमा आउने

मौलाकाली केवलकार वैशाख १८ देखि सञ्चालनमा आउने


मौलाकाली केवलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नवलपुर जिल्लाको गैँडाकोट-१ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालनमा आएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैँडाकोट-१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् भने केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्ने बताइएको छ ।

केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छ । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जानकारी दिएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको बताइन्छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माण सम्पन्न भइ सञ्चालनमा रहेको छ ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रा.लि.द्वारा प्रवर्द्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । बताइएअनुसार आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।