कहानीहरू फरक भएपनि ती सबैमा समानता एउटै थियो- उनीहरू कोहीपनि देहब्यापारका लागि काठमाडौं आएका थिएनन् तर परिस्थितिले उनीहरूलाई शरीर बेच्न बाध्य बनाएको थियो ।
✍ बबिता बस्नेत
आत्मनिर्भरताको चाहनाले गाउँबाट शहर पसेकी एउटी युवती जिन्दगी बाँच्ने क्रममा अनेकौँ हण्डर खाँदै गर्दा पनि पुस्तक पढ्छे । हातमा पारिजातको उपन्यास ‘शिरीषको फूल’ बोकेकी उसले शिरीषको फूल पढेर आफ्नो नाम सकम्बरी राखी या त्यसअघि नै कसैले फुलमायालाई सकम्बरी नाम दियो…स्पष्ट छैन । हातमा पुस्तक बोकेकी उसलाई ‘म्युजिक भिडियोको डाइरेक्टरले नाम के हो ?’ भनेर सोधेपछि उसले भन्छे- सकम्बरी । डाइरेक्टरले आफ्नो परिचय दिने क्रममा हात अघि बढाउँदै भन्छ- म सुयोगवीर ! फिस्स हाँस्दै उ भन्छे- सुयोगवीर…? ‘जोक गरेको’ भन्दै उसले आफ्नो परिचय दिन्छ । प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’ले पारिजातको पुस्तक ‘शिरीषको फूल’लाई अवमूल्यन होइन बरु धेरै वर्षपछि फेरि चर्चामा ल्याइदिएको छ ।
पारिजातको सिर्जनाको बारेमा अनभिज्ञ या अलि-अलि मात्रै जानकारी राख्ने नयाँ पुस्तालाई शिरीषको फूलमा त्यस्तो के रहेछ ? भनेर एकपल्ट खोजी-खोजी पढ्नुपर्ने बनाइदिएको छ । म्युजिक भिडियोमा पारिजातकी पात्र सकम्बरी यस्ती थिइ भनेर कहीँ-कतै भनिएको, देखाइएको छैन । स्रष्टाका सिर्जना जसले पनि पढ्न सक्छन् । पुस्तक र सिनेमा उस्तै-उस्तै हुन्, सिनेमामा जस्तै पुस्तक पढ्दै जाँदा आफूलाई सोही पात्रको परिकल्पना कसैले गर्छ भने त्यो लेखकको सफलता हो । तर सपुतको भिडियोमा संयोगवश उसले शिरीषको फूल पढ्दै गर्दा कोही मान्छे आउँछ र परिचयको क्रममा युवतीले पढिरहेको पुस्तकको पात्रको नाममा उसको परिचय दिन्छ र पछि मैले जिस्किएको है भनेर आफ्नै नाम भन्छ । रोचक पक्ष के छ भने त्यो युवकले पनि शिरीषको फूल पढेको हुन्छ । यदि नपढेको भए त्यसरी युवतीलाई ‘इम्प्रेस’ पार्ने स्टाइलमा ‘म सुयोगवीर’ भन्न सक्ने थिएन । कुनैपनि पुस्तक या सिनेमाका पात्रको चर्चा जसले, जहाँ, जतिबेला, जसरी पनि गर्न सक्छ ।
उदाहरणका लागि कुनै ठाउँमा राधा नाम गरेकी पात्रले आफ्नो परिचय दिएपछि कसैले जिस्किएर ‘म कृष्ण’ भन्यो भने त्यसलाई उसको ‘सेन्स अफ ह्युमर’ भनेर लिनुपर्ने हुन्छ न कि सक्कली राधाको अपमान ! उक्त म्युजिक भिडियोको डाइरेक्टरले भनेको सुयोगवीर यस्तै ‘सेन्स अफ ह्युमर’ हो जसलाई उसले युवतीलाई प्रभावित पार्ने उद्देश्यले प्रयोग ग¥यो । म्युजिक भिडियो कि सकम्बरी र पारिजातको शिरीषको फूलकी पात्र सकम्बरीबीच कुनै सम्बन्ध देखिँदैन । त्यसैले मेरो विचारमा प्रकाश सपुतले निर्माण गरेको म्युजिक भिडियोले पारिजातकी सकम्बरीलाई कुनै प्रकारको आघात पुऱ्याएको छैन तर शिरीषको फूल नपढ्नेहरूका लागि यो सकम्बरी भनेको को हो ? भनेर खोजी गर्नेचाहिँ बनाइदिएको छ ।
पुस्तक नपढ्नेका लागि को सकम्बरी, को सुयोगवीर केही मतलवै हुँदैन । केही दिनअघि मैले सकम्बरी को हुन् ? भनेर एउटा छोटो भिडियो बनाएकी थिएँ । सकम्बरीलाई लिएर निकै विवाद भएको छ, यो सकम्बरी भनेको को हो ? भनेर केही दिनदेखि कतिले मलाई सोधिरहेका थिए । त्यसैबीच पत्रकार भाइ अनिलकुमार कर्णले ‘दिदी, धेरैलाई कन्फ्युज भयो सकम्बरीको बारेमा केही लेखिदिनुस् न’ भनेपछि एउटा भिडियो बनाएकी थिएँ । शिरीषको फूलकी पात्र सकम्बरी यस्ती थिइ भनेर अहिले आएजस्तो म्युजिक भिडियो बनाएको भए निश्चय नै त्यो ठुलो गल्ती हुने थियो । तर भिडियोमा पात्रले किताब हातमा लिएर पढिरहँदा कसैले नाम सोधेको छ र जवाफमा उसले सकम्बरी भनेकी छ । आफूले पढिरहेको पात्रको चरित्र आफूसँग मेल नखाएपनि उसले आफ्नो नाम राख्न सक्छे । पात्रको नाममा कसैको हकदाबी हुन्छ जस्तो लाग्दैन ।
अब कुरा गरौँ, म्युजिक भिडियोमा भएका दृष्य र संवादहरूको । सन् २००४ मा म तत्कालिन युनिफेम (अहिलेको युएन वुमन) मा पार्टटाइम मिडिया कन्सल्टेन्ट थिएँ । त्यतिबेला भारतका विभिन्न कोठीमा बेचिएका दश जना युवतीहरूको केस स्टडी गरेर पुस्तक प्रकाशित गर्ने कुरा भयो । अरुणा थापाले त्यो परियोजना हेर्नुहुन्थ्यो । युनिफेम दक्षिण एशियाकी तात्कालिन निर्देशक चाँदनी जोशी र नेपालप्रमुख संगीता थापाले चेलिबेटी बेचबिखनका विषयमा प्रमाणमा आधारित वकालत (इभिडेन्स बेस्ड एड्भोकेसी) गर्नका लागि उक्त अवधारणा बनाउनुभएको थियो । केस स्टडी गर्ने क्रममा मैले धेरै युवतीहरू भेटेँ जो भारतका विभिन्न कोठीमा बेचिएका थिए । तिनीहरूमध्ये प्रायः सबैको कथा उस्तै उस्तै थियो । कसैको आमा बिरामी, कसैको बुवा नभएको या मदिराको कुलतमा परेको, कसैको आमा नभएको, बाबुले अर्को विवाह गरेको, घरमा खान लाउन समस्या भएपछि आफै केही गरेर बाँच्छु भनेर गाउँकै दाजु, आफन्त या चिनजानका मानिससँग शहर आएको, उनीहरूबाटै यौन शोषणमा परेको र विभिन्न चरणका यौन हिंसा खप्दै भारतको कोठीमा बेचिएको !
सकम्बरीमा देखाइएका दृष्य र बोलिएका संवादमध्येको सबैभन्दा डरलाग्दो संवाद अन्तिममा फोनमा आएको प्रस्ताव हो जहाँ उसलाई कुनै नेताले राजनीतिमा आउन ‘अफर’ गर्छ । यो संवादले राजनीतिमा कपाल फुलाएका महिलाहरूलाई ‘अब तिमीहरूको खास केही चल्दैन है…’ भन्ने सन्देश मात्र दिएको नभइ आफ्नै बलबुताले सैद्धान्तिक र ब्यवहारिक ज्ञान हासिल गरेर राजनीतिमा आउन चाहने महिलाहरूलाई झसङ्ग पनि बनाएको छ ।
मैले त्यतिबेला लेखेका ती केस स्टडीहरूलाई शक्ति समूहले पुस्तकको रूप दिएको छ, ‘आत्मनिर्भरताको खोजीमा’ । ती केस स्टडीहरू गर्दा म धेरै दिनसम्म निकै डिस्टर्ब भएकी थिएँ । बेचबिखन प्रभावितहरूसँग भेट्ने क्रममा मैले कतिपय यस्ता युवतीहरू भेटेँ जो विदेशमा बेचिएका थिएनन्, काठ्माडौंकै डान्स बारमा काम गर्थे । एकपछि अर्को धोखाको कथा उनीहरूसँग थियो । काम दिलाउँछु भनेर जसले काठमाडौं ल्याएको थियो उसैले जबर्जस्ती देहब्यापारमा धकेलेको थियो । कहानीहरू फरक भएपनि ती सबैमा समानता एउटै थियो- उनीहरू कोहीपनि देहब्यापारका लागि काठमाडौं आएका थिएनन् तर परिस्थितिले उनीहरूलाई शरीर बेच्न बाध्य बनाएको थियो ।
त्यसपछि मैले उस्तै कथा बोकेका धेरै युवतीहरूलाई पटक-पटक भेटेँ । रत्नपार्कमा उभिन बाध्य कतिपय सेक्स-वर्करहरूलाई प्रहरीले पक्रिएपछि छुटाउन कुराकानी गर्नुपर्ने अवस्था पनि आएको थियो । आफ्नो बच्चालाई कोठाभित्र थुनेर ग्राहक खोज्न गएकी आमालाई प्रहरीले तीन दिनसम्म थुनामा राख्दा त्यो बच्चाको अवस्था के भयो होला ? हामी अनुमान गर्न सक्छौँ । जतिलाई भेटेँ उनीहरूले वर्णन गरेका पात्रहरू सकम्बरीमा प्रकाश सपुतले जम्मा गरेका पुरुषहरू जस्तै थिए जसले प्रलोभन देखाएर तिनका शरीरसँग खेले । कतिले भावना र शरीर दुवैसँग खेले र, अन्त्यमा उनीहरूलाई चरित्रहीनको संज्ञा दिएर अलग भए । तिनका रूप, रङ्ग, उमेर परक-फरक थिए जसरी सकम्बरीमा देखाइएको छ ।
सकम्बरीमा देखाइएका दृष्य र बोलिएका संवादमध्येको सबैभन्दा डरलाग्दो संवाद अन्तिममा फोनमा आएको प्रस्ताव हो जहाँ उसलाई कुनै नेताले राजनीतिमा आउन ‘अफर’ गर्छ । यो संवादले राजनीतिमा कपाल फुलाएका महिलाहरूलाई ‘अब तिमीहरूको खास केही चल्दैन है…’ भन्ने सन्देश मात्र दिएको नभइ आफ्नै बलबुताले सैद्धान्तिक र ब्यवहारिक ज्ञान हासिल गरेर राजनीतिमा आउन चाहने महिलाहरूलाई झसङ्ग पनि बनाएको छ । महिलाको सवालमा मुलुकमा सम्मानित र आत्मसम्मानित राजनीतिका लागि महिलाहरू स्वयंले आवाज उठाइरहेको र प्रयास गरिरहेका बेला सकम्बरीहरूको प्रवेशले यो मुद्दालाई कहाँ पुऱ्याउला ? राजनीतिमा भएका महिलाहरूलाई सर्वसाधारणले हेर्ने दृष्टिकोण कस्तो बन्ला ? समाजमा कस्तो सन्देश जाला ? यस्ता गीतहरूको सिर्जना गर्दा सर्जकहरूले सोच्नु आवश्यक छ । राजनीतिमा सकम्बरीहरू आउन नमिल्ने होइन- मिल्छ, तर उनीहरूले आफूलाई राजनीतिक माहौलमा ढाल्नका लागि धेरै मेहेनत गर्नुपर्ने हुन्छ, न कि राजनीतिमा पदप्राप्तिका लागि पुरानो ब्यवसायलाई भऱ्याङको रूपमा प्रयोग ।
मेरो विचारमा सकम्बरी गीतले महिलालाई होच्याएको नभइ डान्सबार, क्याबिन रष्टुरेन्ट, मोडलिङ लगायतका नाममा महिलाहरूमाथि भइरहेको यौनहिंसालाई उजागर गरेको छ । राजनीतिमा महिलाको प्रवेशलाई जसरी छ्वास्स छुने काम भएको छ त्यो निकै संवेदनशील कुरा हो । ‘बाँकी आगामी भागमा’ भनिएको छ, दोश्रो भागमा राजनीति गर्ने महिलाको हुर्मत लिने काम नहोस् ।
सकम्बरीमा सबैभन्दा शक्तिशाली संवाद ‘…कस्तो मान्छे दाइ ? के फरक छ र तपाईं र उनीहरूमा ? तपाईंहरूले होइन यो बाध्यतामा पुऱ्याएको ? इज्जत छोरी मान्छेको मात्रै जान्छ…?’ भन्ने हो । यो संवादले बाध्यतासँगै उसले गरेको विद्रोहलाई झल्काएको छ । महिलालाई उक्त ठाउँमा पुऱ्याउने अनेक रूपका पुरुषहरूलाई मात्र नभइ समाजलाई नै झस्काउने गरी प्रश्न गरेको छ ।
अन्त्यमा, शिरीषको फूलकी सकम्बरीले आफूले मन नपरेको मान्छेले गरेकोे प्रेम प्रस्ताव अस्विकार गरिरहेकै बेला गरिएको चुम्बनपछि मृत्युवरण गरी, कलियुगकी सकम्बरी जीवन बाँच्ने क्रममा अनेकौँ हण्डर खाएर पनि बाँचिरहेकी छे । सकम्बरीको मृत्यु र कलियुगकी सकम्बरीले बाँचिरहेको जीवन… जीवन र मृत्युबीच धेरै सकम्बरीहरूका सङ्घर्ष जारी छन् ।
प्रतिक्रिया