✍ सुनिल उलक

आज अप्रिल २८ का दिन सन् १९४५ मा इटालीका क्रुर फासिष्ट शासक मुसोलिनी र उनकी प्रेमिका पेटाचीलाई गोली हानेर हत्या गरिएको थियो ।
दोश्रो विश्व युद्धमा अमेरिका, बेलायतलगायत कतिपय यूरोपियन राष्ट्रहरुको लडाइ जर्मन, जापान र इटालीविरुद्ध शुरु भएको थियो । जर्मनका नाजी शासक हिटलर, जापानका राजा हिरोहितो र इटालीका फासिष्ट शासक मुसोलिनी प्रमुख दुश्मन थिए दोश्रो विश्वयुद्धको ।
२५ अक्टोवर १९३६ मा जर्मनको नाजी सरकार र इटालीको फासिस्ट सरकारबीच एकअर्कोलाई सहयोग गर्ने सन्धि भयो । यसको एक महिनापछि २५ नोभेम्वर १९३६ मा जर्मनीले जापानको इम्पेरियल सरकारसँग कम्युनिष्टविरुद्धको एक सन्धिमा हस्ताक्षर गरे । यसको एक वर्षपछि इटालीले पनि कम्युनिष्टविरुद्धको Anti-Comintern Pact मा साथ दिए । यसपछि आक्रमण र षडयन्त्रको सिलसिला नै शुरु भयो ।
सबैभन्दा पहिले जापानले चीनमाथि आक्रमण गऱ्यो । चेकोस्लाभियाबाट जर्मनीको षडयन्त्रले स्लोभाकियालाई स्वतन्त्र भएको घोषणा गराइयो । र, चेकमाथि आक्रमण गरियो । उता इटालीले अल्बानियामाथि आक्रमण गऱ्यो । जर्मनीले पोलैण्डमाथि आक्रमण गरेपछि यूरोपमा दोश्रो विश्व युद्धको शुरुवात भयो । यता जापानविरुद्ध पनि अमेरिकी तथा बेलायती सेनाको आक्रमण शुरु भयो । १९४५ मा आइपुग्दा बिस्तारै जर्मन, जापान र इटाली केही कमजोर भइसकेका थिए ।
चारैतिरबाट आक्रमणबाट घेरिएको इटालीमा देशभित्रै पनि आन्तरिक आन्दोलन शुरु भइसकेको थियो । देशभित्रको कम्युनिष्ट आन्दोलनले गर्दा इटालीका फासिष्ट शासकलाई कसरी बाँच्न सकिन्छ भन्ने चिन्ता लाग्न थाल्यो । देश छोडेर भाग्ने प्रयासमा आफ्नी पत्नी पेटाचीका साथ उनी उत्तरी इटालीको स्विटजरल्याण्डको सिमा नजिकै कोमो तालमा पुगेका थिए । त्यहीँ विद्रोहीहरुले भेट्टाए ।
उनीहरु दुवैलाई आजकै दिन सन् १९४५ को अप्रिल २८ मा गोली हानियो । गोली हान्ने वाल्टर अडिसियो रहेको भनेर पहिचान गरियो । गोली हानिएपछि दुबैको शवलाई ट्रकमा राखेर राजधानी मिलानको चोकमा ल्याएर फ्याँकियो । जहाँ हजारौँ जनता सडकमा आएर खुशीयाली मनाउँदै मृत शरिरमा लात्तीले हानेर सन्तुष्टि लिए । अन्तमा मुसोलिनी र पेटाचीको साथ अन्य उनका सहयोगीहरुको शवलाई चोकमा उल्टो लत्काएर प्रदर्शन गरेर राखियो ।
यसरी करिव २३ वर्ष इटालीमा फासिष्ट शासन गर्ने मुसोलिनीको अन्त्य भयो । मुसोलिनीलाई गोली हानिएको दुर्इ दिनपछि अत्तालिएका जर्मनको नाजी शासक हिटलरले पनि आफ्नो प्रेमिका इभा ब्राउनका साथ आत्महत्या गरे । यसरी यूरोपका दुइ क्रुर शासकहरुको अन्त्य भयो, जसले गर्दा दोश्रो विश्वयुद्धको समाप्ति भयो ।
यता जापानमा भने यस घटनाको करिव तीन महिनापछि अमेरिकी वायुसेनाले हिरोशिमा र नागासाकीमा बम आक्रमण गरेपछि जापानले पनि आत्मसमर्पण गऱ्यो । यसरी दोश्रो विश्वयुद्धको पूर्णरुपमा समाप्ति भएको थियो ।
प्रतिक्रिया