थुइक्क म-वैगुनी नेपाल

थुइक्क म-वैगुनी नेपाल


सतित्व बेच्न बाध्य छन् सीताहरू
बिकाउ छन् बुद्ध,
दाउमा छ सगरमाथा
निरीह छन् स्वयम्भू,
यत्ति मात्र कहाँ र ?
अछुतो छैनन् आराध्यदेव पशुपति पनि ।
पुर्खाका पौरख,
हाम्रा पहिचान र गौरव
एक-एक गरेर
बद्नाम भइरहेछन् ।
हालिमुहाली छ
गैरजिम्मेवार नेता र भ्रष्ट मन्त्रीको,
रज्याइँ छ,
घुसखोर प्रशासक र अनुत्तरदायी सरकारको
तर पनि

तिनका सामु
हकअधिकारको भीख मागिरहेछु,
यिनैसँग
मेरो भविष्यको आशा गरिरहेछु ।
थुइक्क म,
देख्दादेख्दै यिनका कर्तुत
यिनैमाथि विश्वास गरिरहेछु,
यिनैमाथि आशा र भरोसा गरिरहेछु
यिनका ज्यादति टुलुटुलु हेरिरहेछु ।
-पोखराथोक पाल्पा,

मुटु भएका नेपाली-बमप्रसाद श्रेष्ठ
मुटु भएका नेपाली हो
नेपाललाई माया गर,
विवेक राखी देशवासी
आफ्नै सन्तानलाई दया गर ।

नोकर भई आफ्नै देशमा
इमान बेची बाँच्ने नगर,
विश्वास गर त्यो मित्रलाई
जसले ठान्छ मित्रसरह ।

उधारोको आश्वासनले
नाङ्गो पार्छ तिमीलाई,
नरकमा त्यसले पुर्‍याउँछ
गोरु बनाउँछ हामीलाई ।

नाक थामी पुर्खाको
जाँगर चलाऊँ आफैंभित्र,
जिउँदो भई बाँच्ने गर
मुटु भए नेपाली चित्र ।

फूल फुलाऊ फल फलाऊ
छत्तीस जातको यो फूलबारी,
मूर्ख भई आश गरेमा
मृत्यु मात्र छ सीमापारि ।

ठान्दथे विगतमा पूर्खाहरूले
अर्काको सम्पत्ति सिनोसरि,
जाँगर उमारे थे आफ्नै देशमा
फूल फुलाएथे थरी-थरी ।

सोच्ने गर गहिरिएर
जाँगर चलाई आफैंभित्र,
विकास गर विभिन्न सम्पत्ति यो
देश फुल्दछ भई विचित्र ।

तिम्रो देश सानो छ, तर
प्राकृतिक सम्पदा अति धनी छ,
जाँगर चलाई विकास गरे
सबैलाई खाँद्ने स्रोत पनि छ ।

नबन मूर्ख चाकरी गरी
आफ्नै देशमा नोकर बन्न,
अर्काको सित्तैमा निमक खाए
कत्ति बाँचिन्छ भन्न सकिन्न ।

अर्काको दास भई बाँच्नुभन्दा
आफ्नै ढिँडोमा सार मिल्छ,
ढिँडो खाएरै स्वतन्त्र रहेमा
त्यसैले उज्ज्वल भविष्य दिन्छ ।

ढिँडो खाने पुर्खाहरूले
मुलुक जोगाई सान गरेथेँ,
राष्ट्र खातिर वीर कहलाई
मुटु फोरी आफैं मरेथे ।

सोच तिमी पनि यही देशका हौ
जसले जन्माइन् वीरहरू,
जोगाऊ देशलाई वीरता देखाई
प्राणै फाल्नु परे बरु ।

ब्वाँसो हो तिम्रो दुष्ट मित्र
चाक कन्याई आन्द्रा निकाल्ने,
बहादुरी देखाई शिर काटी
काम गर शत्रु फाल्ने ।

अस्तित्व त्यसैमा छ
तिम्रा भावी सन्ततिको,
देश नबेचे मूर्ख भई
लालची भई तुच्छ सान, सम्पत्तिको ।