सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम

सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम


पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व. झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन् ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उनले दुई सय ८९ दशमलव पाँच नम्बर पाए । प्रथम भएका गोविन्दले उपाधिसहित रु ३५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

द्वितीय भएका बागलुङका राजेश गन्धर्वले दुई सय ८७ दशमलव पाँच र तृतीय हुनुभएका कास्कीकै विमल गायकले दुई सय ८२ अङ्क प्राप्त गरे । राजेशले रु २५ हजार र विमलले रु १५ हजार पुरस्कार प्राप्त गरे ।

दुई सय ८१ अङ्क ल्याउँदै गोरखका सुमन गन्धारी चौथो भए । उनले सात हजार पाँच सय पुरस्कार हात पारे । प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप तनुहँकी अरुणा गन्धर्वले रु दुई हजार पाँच सय प्राप्त गरिन् । विजेतालाई संस्कृतविद् डा. जगमान गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले पुरस्कार वितरण गरेका थिए ।