अन्तर्राष्ट्रिय करातेमा १६ स्वर्ण पदकसहित नेपाल प्रथम

अन्तर्राष्ट्रिय करातेमा १६ स्वर्ण पदकसहित नेपाल प्रथम


एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले १६ स्वर्ण पदक जित्दै प्रथम भएको छ ।

जापान गोजुरियो कराते डो मिसन सङ्घले रुपन्देहीको शङ्करपुरमा आयोजना गरेको दोस्रो संस्करणको एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले २४ रजत र ३४ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा सात स्वर्ण, एक रजत र तीन कास्य पदकसहित भुटान दोस्रो भएको छ भने भारतले पाँच स्वर्ण, चार रजत र सात कास्य पदकमा चित्त बुझाएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन कुमुतेतर्फ गरी सात स्वर्णको छिनोफानो हुँदा नेपालले छ स्वर्ण पदक जितेको थियो । प्रतियोगिताको दोस्रो दिन नेपालले थप १० स्वर्ण पदक जितेको हो ।

प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५ केजीमुनि तौलसमूह तथा महिलाका लागि २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमुनि तौल समूहमा र कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी करिब दुई सय सय खेलाडी सहभागी भएको आयोजक संस्था जापान गोजुरियो मिसन डो सङ्घले जनाएको छ ।