फरार सहकारी सञ्चालक पक्राउ नपर्दा बचतकर्ता पीडामा

फरार सहकारी सञ्चालक पक्राउ नपर्दा बचतकर्ता पीडामा


बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिका-१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए ।

आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरुले न्याय नपाएको बचतकर्ताको गुनासो छ ।

‘हामीले सहकारी संस्थाका पदाधिकारी बचत रकम लिई फरार भएको विषयमा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा गत २०७९ चैत ८ गते नै जाहेरी दियौँ, तर अहिलेसम्म सहकारी संस्थाका कुनै पनि पदाधिकारी तथा कर्मचारी पक्राउ पर्न सकेका छैनन्, जसका कारण हाम्रो पैसा फिर्ता आउने कुनै सुनिश्चिता भएन’, वीरगञ्ज रानीघाटका बचतकर्ता कुन्दनकुमार गुप्ताको दुखेसो छ ।

सहकारी सञ्चालक फरार भएको सन्दर्भमा उजुरी लिएर प्रहरीमा जाँदा महानगरपालिकामा जानु भन्छ, महानगर पुग्दा प्रहरीमै निवेदन दिनुस् भनिरहेको उनको गुनासो छ । ‘दुःख गरेर भविष्यको सपना बुनेर बचत गरेको रकम लिएर सहकारी सञ्चालक फरार भएपछि जमिन नै भासिएको महसुस भइरहेको छ’, प्रियान्सुकुमार गुप्ता भन्छन्, ‘बचत रकम डुब्दा यतिबेला न खाना खान मन लाग्छ, न कोहीसँग बोल्न !’ उनले सहकारीमा रु २० लाख बचत गरेका थिए।

“करिब तीन–चार महिनादेखि नै सहकारीमा शङ्कास्पदरूपमा कार्य भइरहेको थाहा पाएपछि बचत भएको रु १० लाख रकम झिक्न सहकारीमा गएको थिएँ”, लिलमदेवी दासले भनिन्, ‘कोषाध्यक्ष साहले बचत फिर्ता पाउनुहुन्छ हामी भाग्ने होइन भन्दै विश्वास दिलाउनुभयो, अहिले उहाँहरु सम्पर्कमा हुनुहुन्न ।’

सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताए ।

‘सर्वसाधारणको रकम डुब्दा हामी अत्यन्तै दुःखी छौँ’, प्रमुख कर्णले भने, ‘तर हामीसँग न त प्रहरी छ, न फरार भएकालाई खोजी गर्ने कुनै उपाय छ, त्यसैले हामी पीडितको निवदेनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाइदिएका छौँ ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिए । पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताए ।

  • रासस