भारतीय ठेकेदार कम्पनीले नहर-नाला सफाइ स्टिमेटविपरीत गरेपछि…

भारतीय ठेकेदार कम्पनीले नहर-नाला सफाइ स्टिमेटविपरीत गरेपछि…


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाअन्तर्गत गण्डक नहर किनारमा भारत बिहार सिचाइँ विभागद्वारा गरिँदै आएको भएको भनी सरोकार निकायले आपत्ति जनाएका छन् ।

पूर्वी नवलपरासी त्रिवेणीस्थित गण्डकबाँधबाट निकालिएको गण्डक मुख्य पश्चिमी नहरको सुस्ता गाउँपालिका-२ को महलबारी पश्चिमबाट निकालिएको सामानान्तर नाला सफाइ कार्यमा भारतीय ठेकेदार कम्पनीले व्यापक अनियमितता गरेको गण्डक नदी संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी दिए ।

पहाडी खोलाको पानी निकास र खेतीयोग्य भूमिमा हुने जल जमावको समस्या समाधान गर्न र मुख्य पश्चिमी नहरमा हुन सक्ने क्षती न्युनिकरण गर्न बनाईएको समानान्तर नाला सफाई कार्यमा भारतिय ठेकेदार पक्षले माटो सफाइ गर्ने कार्य अनियमितताको गुनासोपछि गण्डक नहर सङ्घर्ष समितिले अनुगमन गरेको थियो । नालाको माटो नालाकै डिलमा थुपार्ने र स्टीमेट विपरीत नालाको डिल र गहिराइ ताछ्ने कार्य बढेपछि संघर्ष समितिको पदाधिकारीसहितको टोलीले निरीक्षण गरेको जानकारीमा आएको छ ।

भारतीय ब्यवस्थापनमा रहेको गण्डक मुख्य पश्चिमी नहर डिभिजन कार्यालय बाल्मिकी नगरका प्राविधिकहरू ठेकेदार कम्पनीसँग कमिशनको खेलमा अल्झिएको समितिका अध्यक्ष गुप्ताले आरोप लगाए ।

गण्डक योजनाअन्तर्गत नेपालीभूमिमा भारतीय सिचाइँ विभागद्वारा गरिने निर्माण र मर्मत कार्यमा गण्डक योजनामा नेपाल सरकारका प्रतिनिधि लाइजन अधिकृतको भूमिका पनि ठेकेदार कम्पनीकै अनुकुल रहेको अनुगमन समितिले बताएको छ । गण्डक योजनाअन्तर्गत नेपालीभूमिमा भारतीय सिचाइँ विभागद्वारा गरिने निर्माण कार्य स्टिमेट अनुसार नभए फेरि पनि थप दबाब मुलक कार्य गरिने संघर्ष समितिले जानकारी दिएको छ ।

गण्डक नहर आसपासका नालालगायत अन्य संरचना स्टिमेटअनुसार नभए नेपाल-भारतकै उच्चतहको निगरानी कार्यालयमा पत्राचार गरिने पनि संघर्ष समितिले निष्कर्ष निकालेको छ । स्मरणीय छ, २०६५ सालमा भारतीय गण्डक प्रशासनले गण्डक क्षेत्रमा गरेको अनियमितताविरुद्ध गण्डकपीडितहरूले ३१ दिनसम्म गण्डक नहरको पानी रोकेर कठोर आन्दोलन पनि गरिसकेका छन् ।