‘साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेविरुद्ध बैंक तथा वित्तीय संस्था कठोर बन्ने’

‘साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेविरुद्ध बैंक तथा वित्तीय संस्था कठोर बन्ने’


बैंक तथा वित्तीय संस्था परिसंघले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरूका विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट विगत केही समयदेखि निरन्तर रुपमा गैरकानूनी गतिविधिहरू भइरहेको भन्दै त्यसविरुद्ध कठोर कदम चाल्ने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघको मिति यही बैंशाख १४ गते बसेको कार्यसमितिको चौथो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको उक्त निर्णयबारे जानकारी दिँदै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको- ‘अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ-संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुऱ्याउने, बैकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सादर निवेदन गर्दछौँ ।’