अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै


आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमस राष्ट्रको अभियान’ तय गरेको छ ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना दिँदै उनले भनेका छन्, ‘कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागिपरेको छ ।’

यसैबीच श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, सङ्गठित हौँ, प्रशिक्षित हौँ र परिचालित हौँ’, नारा तय गरेको छ । यसै सन्दर्भमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गरेका छन् ।

‘हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त गऱ्यौँ तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत सङ्गठित हौँ, प्रशिक्षित हौँ र परिचालित हुनलाई आह्वान गरेका हौँ’, उनको भनाइ छ ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो ।