होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग

होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग


होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको होटल तथा पर्यटन व्यवसायीको टोलीले सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दाे स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल तथा पर्यटन व्यवसाय भएकोले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग आफूले मन्त्रीसमक्ष गरेको सङ्घका अध्यक्ष पन्तले जानकारी दिए ।

होटल तथा पर्यटन व्यवसायले उद्योग सरहको मान्यता प्राप्त गरेपछि सहुलियत र सुविधाहरू पनि पाउने भएकाले यसबाट होटल तथा पर्यटन व्यवसायलाई तङ्ग्रिन र विकास गर्नमा मद्दत मिल्ने अध्यक्ष पन्तको भनाइ छ । होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने उनको धारणा छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले छिट्टै नीतिगत र प्रक्रियागत अड्चनलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योग सरह मान्यता दिलाउनेमा प्रतिबद्ध रहेको आश्वासन दिएका छन् ।