दार्चुला हिम पहिरोमा पुरिएका दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला हिम पहिरोमा पुरिएका दुई महिलासहित तीन जनाको शव भेटियो


photo: rss

दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।

मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेरअघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए । उनका अनुसार शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ, शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।

मङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । सो क्षेत्रमा यार्सा सङ्कलकहरु त्रिपालमा बसिरहेका थिए ।