सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुल्यो

सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुल्यो


  • विकाश रौनियार, धादिङ

धादिङको गणेश खोला पुलनजिकै सडक भ्वाङ परेर ठप्प बनेको पृथ्वी राजमार्ग करिब २ घन्टापछि एकतर्फी रूपमा खुलेको छ ।

अपराह्न करिब १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालन गरिएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले जानकारी दिए ।

धादिङको धुनिबेशी नगरपालिका-६ धार्के र थाक्रे गाउँपालिका-८ सिमाना जोड्ने पुलनजिकै भ्वांग पर्दा राजमार्ग दुवैतर्फ ठप्प भएको थियो । भ्वाङ परेको भाग पुर्ने कार्यपश्चात् राजमार्ग सञ्चालन गरिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरू, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सञ्चालन भएसँगै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।