आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०८० बिहीबार, ४ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०८० बिहीबार, ४ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख २१ गते बिहीबार तद्अनुसार सन् २०२३ मे ४ तारिख वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि चित्रा नक्षत्र बज्र योग गर करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा ९ः०७ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः३८ बजे हुनेछ । नृसिंहजयन्ती ।

आजको राशिफल

मेष – सहयोगीहरूले फाइदा दिलाउने तथा मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने दिन भए पनि अरुकै मात्र भरपर्दा काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने योग छ । मान्यजनसँग पनि असमझदारी बढ्न सक्छ । तथापि, दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मान, सुख बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । पढाइलेखाइमा भने प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कसैसंग सामान्य मनमुटाव हुन सक्छ, आजको दिन हठ त्यागेकै राम्रो । आरोग्यता रहनेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउनुका साथै मानसम्मान प्राप्त हुने योग छ । आफूलाई कमजोर नठानी प्रयास गर्नु हितकर हुनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । प्रेमभाव बढ्ने तथा इष्टमित्र अनि सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन प्रयत्न गर्दा रोकिएका घरेलु काम बन्नेछन् । तर कृषि तथा पशुपालन व्यवसायमा रहेकाहरूलाई खर्च बढ्नेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्ने सम्भावना भएकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला । व्यस्तता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन पराक्रम वृद्धि हुनेछ । व्यवसायमा लाभ हुनुका साथै व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुनेछ, तर आर्जित धन तत्काल खर्च होला । जग्गा जमिनबाट मनग्य लाभ मिल्ने समय छ । रसराग, खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन केही सङ्घर्षमय रहला । न्यून उपलब्धिका लागि पनि धेरै मिहिनेत गर्नुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खिएकै राम्रो । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ध्यान राख्नुहोला । नचिताएको ठाउमा धन खर्च हुने योग छ । सहयोगीहरूले पूरा साथ नदिँदा समस्या पर्न सक्छ । कर्मबल बढ्नेछ ।

तुला – नयाँ काममा हात हाल्ने समय आए पनि केही प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ, रसरागको भाव वृद्धि हुनेछ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । मिठो भोजन प्राप्ति होला । व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

वृश्चिक – चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । व्यक्तित्व र बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । पारिवारिक असमझदारी बनाउन विशेष मिहेनत गर्नुपर्ला । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – आजको दिन सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापारमा अप्रत्यासित लाभ मिल्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै प्रयत्न गर्नुपर्ला । इष्टमित्रको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – आजको दिन दिगो फाइदा हुने काम प्रारम्भ होला । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – समय अनुकुल छ । भाग्यबल बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । तपाईंको प्रतिभाको कदर हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।