सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने


सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने उक्त प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औँ दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्दैछ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । नेपालको खेल वैशाख ३० गते हुनेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठ, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, प्रशिक्षक, खेलाडीलगायतले सफलताको शुभकामना व्यक्त गरेका छन् ।