कर्तुत लुकाउन ‘सिन्सियर’को अनेक चाल !

कर्तुत लुकाउन ‘सिन्सियर’को अनेक चाल !


✍ अनुशा थापा

सहकारीका सञ्चालकहरू कतिसम्म फट्याइँ गर्छन्, कसरी घुस खान्छन् र ऋणीलाई कसरी ‘मर्नु न बाँच्नु’को अवस्थामा पुऱ्याउँछन् भन्ने बुझ्न राजधानीको पुतलीसडकस्थित सिन्सियर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको गतिविधि नियाल्दा थाहा हुन्छ । त्यहाँको सञ्चालक समितिमा बस्नेहरूले ऋणीहरूलाई सडकछाप बनाइदिए । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कमाचार्यले हजारौँलाई बिल्लीबाठ बनाएका छन् ।

रातारात मालामाल बन्नका लागि सिन्सियरका यी हर्ताकर्ताले धेरैलाई विस्थापित पारे । ऐनकानुनमा हिँडेको दाबी गर्दै आएको सिन्सियरले स्थापनाकालदेखि नै ठगीधन्दा मच्चाउँदै आएको भुक्तभोगीहरूबाट जानकारी मिल्दछ । २३ वर्षअघिको राजेन्द्रभक्त, राजेश र मीराको अवस्था देखेकाहरू अहिले उनीहरूको शान-सौकत र ऐश्वर्य देख्दा आश्चर्यचकित बन्छन् । गाडी भाडा तिर्ने पैसा नभएर कंलकीबाट पुतलीसडक पैदल आउने राजेशको आज करोडौँको सम्पत्ति छ । ऋणीको घरपरिवार तहसनहस बनाउँदै आफूचाहिँ आलिशान महलमा बस्छन्, राजेश ।

उपत्यकामै जन्मिएका भएपनि पुर्ख्यौली सम्पत्ति नभएका राजेन्द्रभक्तले अर्बौंको सम्पत्ति जोडेका छन् । महाराजगञ्जमा आलिशान घर छ । करोडौँ मूल्य पर्ने गाडी चढेर हिँडछन् । मीराको हकमा भन्ने हो भने उनी पहिले सामान्य फार्मेसीमा काम गर्थिन् । मासिक १० हजार तलबमा काम गर्ने उनलाई राजेन्द्रभक्तले सिन्सियरमा ल्याएका हुन् । १५ वर्षअघि केही नभएकी मीराले पनि सिन्सियरमा आएपछि करोडौँको सम्पत्ति जोडिन् ।

एउटा सहकारी खोलेर यिनीहरू करोडपति/अर्बपति बन्न कसरी सफल भए त ? शुरुका दिनदेखि नै सिन्सियरले सोझासाधालाई आफ्नो जालोमा फसाउँदै आएको थियो । अधिकांश कर्जा लगानी थोत्रा ट्याक्सीमा गरेको सिन्सियरले ट्याक्सीचालकहरूलाई सोत्तर बनायो । सिन्सियरबाट ऋण लिएर ट्याक्सी व्यवसाय सञ्चालन गर्नेहरू कहीँकतैको बाँकी रहेनन् । १५ लाखको ट्याक्सी राखेर १० लाख कर्जा दिने सिन्सियरले त्यसबापत २५ हजार त घुस नै लिन्छ । सेवाशुल्क २० हजार रुपैयाँ लिने गरेको छ । कर्जा दिने बेलामा पाँचदेखि सात वर्षका लागि भनेर दिने तर वर्षैपिच्छे नवीकरण शुल्क भनेर दुई प्रतिशत लिने ! ब्याज पनि १८ देखि २२ प्रतिशत लिँदै आएको छ । ऋणीले किस्ताबापत तिरेको रकम जरिवाना र ब्याजमा भन्दै कटाइदिन्छन् । ऋणी किस्ता हालेको हाल्यै गर्छन् तर साँवा घट्दैन । यता, ऋण चुक्ता गर्ने बेलामा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । सहकारी विभागले सेवाशुल्कका नाममा जथाभावी पैसा उठाउन नपाउने नियम बनाएको छ ।

तर, विभागको नियमलाई सिन्सियरले ‘धोती’ लगाइदिएको छ । राम्रो धितो छ भने ऋणीले ऋण तिरिसकेपछि पनि फुक्का गर्दैन । ट्याक्सीचालकहरू धेरै पढेलेखेका नहुने भएकाले उनीहरूलाई भुल्याएर सिन्सियरले फाइदा उठाउने गरेको छ । पैसा हिनामिना गर्न त सिन्सियरका हरेक कर्मचारी माहिर छन् । ठग्न र लुट्न त तिनीहरूलाई कसैले पनि भ्याउँदैन । ट्याक्सीमा मात्र होइन्, घरजग्गा, शेयरलगायत अन्य धितो राखेर कर्जा लिनेको अवस्था उही छ ।

सिन्सियरले किस्ता हिनामिना गरेको अधिक गुनासो छ । खाताबाटै बचत रकम गायब हुने गरेको बचतकर्ताहरू बताउँछन् । सेयर भिडाएर अन्त्यमा यसको पैसा पनि दिँदैन । बचतकर्ताको अकाल मृत्यु भयो भने उसका परिवारलाई बोलाएर उसको खातामा भएको रकम फिर्ता दिँदैन सिन्सियर ! तीन किस्ता नतिर्नेबित्तिकै धितो तानिहाल्छ । ऋणीले तीन किस्ताको रकम तिर्छु, लिलाम नगरिदिनु भन्दा पनि मान्दैनन् तीन हर्ताकर्ता । धितो बेचेर बढी आएको रकम पनि तिनीहरू नै पचाउँछन् ।

ऋणीले त्यहाँबाट एउटा सुको पनि पाउँदैन । ऋणीले रोकिएको किस्ता तिरेर ऋण अर्को सहकारी वा बैंकमा सार्छु भन्दा पनि सिन्सियरले दिँदैन । ऋण खाने व्यक्तिले अलिक ठुलो स्वर ग¥यो कि अफिसमै कुटाउने, गुण्डा बोलाएर टाउको फुटाउनेसम्मको हर्कत गर्छ । ऋणी कानुनको बाटो जान खोज्यो भने एउटा केस लगाएर प्रहरी हिरासतमा पुऱ्याइदिन्छ । जसरी हुन्छ ऋणीलाई फसाउँछ सिन्सियरले । सिन्सियरले तमसुक गराउँदाखेरि त्यहाँ उल्लेख भएका विषय पढेर नसुनाउने ऋणीहरूको भनाइ छ ।

ऋणीलाई तमसुकमा के लेखेको छ– पढेर सुनाउनुपर्छ । पढ्न पनि दिनुपर्छ । तमसुकमा भएको विषयवस्तुमा मञ्जुर भएमा मात्र ऋणीले दायाँबायाँको ल्याप्चे लगाउने हो । तर, सिन्सियरले त पढ्न पनि दिँदैन, पढेर पनि सुनाउँदैन । साथै, त्यतिबेलै फोटोकपी पेपर र नेपाली कागजमा हस्ताक्षर गर्न लगाउँछ, ल्याप्चे लाउन लगाउँछ, जुन सरासर गैरकानुनी हो । कुनै पनि व्यक्ति वा संस्थाले खाली कागजमा कसैको हस्ताक्षर वा ल्याप्चे लगाएर राख्न मिल्दैन । तर, सिन्सियरले यस्तै गर्छ । ऋणीले अलिकति मात्र चर्को स्वर गऱ्यो भने सिन्सियरले आफ्नो मनगढन्ते कहानी त्यहाँ लेख्छ अनि धितो खाइदिन्छ । ऋणी मालपोत र यातायात कार्यालय गएकै हुँदैनन्, धितो सिन्सियरको नाममा आइसक्छ । सरकारी कागजातहरू सरकारी कार्यालयको गेटबाहिर ल्याउन नपाउने कानुनमा उल्लेख छ । तर, सिन्सियरले मालपोत र यातायातका फाइलहरू आफ्नै संस्थामा ल्याउँछ । ऋणीलाई सिन्सियरमै हस्ताक्षर गर्न लगाइन्छ ।

सिन्सियरका कर्मचारीले कि मालपोत र यातायातका कर्मचारीलाई घुस खुवाएर ल्याउँछ कि चोरेर । सिन्सियरबाट ऋण खानेहरू सबै विस्थापित भए । कुनै जेलमा छन्, कोही पागल भए, कोही सडकछाप भए, कति देश नै छोडेर पलायन भए, कतिपय भूमिगत गए । कोही पनि उँभो लाग्न पाएनन् । सिन्सियरले धितो खाइदिँदा उनीहरूको सडकको बास भयो । करोडपतिहरू सडकपति बने । सोझासिधालाई घरबारविहीन बनाएर उनीहरू लुट्न सफल भए ।

जनता र राज्यलाई भुङ्ग्रोमा राखेर यिनीहरूले ठगे । अहिलेसम्म कानुनले छोएन, मिडियाले पनि देखेन । सिन्सियरमा तीन हर्ताकर्ताहरू खुलेआम भन्छन्, ‘यहाँ ठूला मान्छेहरूको पैसा छ । हामीलाई नेताको आड छ । सरकारी कर्मचारीहरूले पनि यहाँ रकम राखेका छन् । प्रहरीहरूको पैसा पनि यहीँ छ । हामीलाई कसैले हल्लाउन सक्दैन ।’ यिनीहरूले राजनीतिक आडमै लुटतन्त्र मच्चाएको स्पष्ट छ । उनीहरूको बोलीबाट यो कुरा प्रमाणित हुन्छ । सिन्सियरले हजारौँलाई पीडित बनाएको छ भन्ने त छरपष्ट भइसकेको छ ।

सिन्सियरका तीन हर्ताकर्ताले कसरी अंकुत सम्पत्ति कमाए, तिनलाई चिन्नेहरू हरेकलाई थाहा छ । सिन्सियरको ठगीधन्दाको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परिसकेको छ । सिन्सियरबाट पीडित बनेकाहरू यतिबेला हर्षित भएका छन् । न्याय पाइन्छ कि भन्ने आश उनीहरूमा पलाएको छ । राजेन्द्र, राजेश र मीरालाई कानुनको दायरामा ल्याउनुपर्ने माग पीडितहरूको छ । यता, उनीहरूले अवैधरूपले आर्जन गरेको सम्पत्तिसमेत राष्ट्रियकरण गर्नुपर्ने तिनको भनाइ छ ।

सिन्सियरका तीन हर्ताकर्ताको ठगीधन्दा बाहिर ल्याउन यतिबेला मिडियाकर्मीहरू पनि लागिपरेका छन् । सिन्सियरको कालो कर्तुत बाहिर आउँदै गर्दा बचतकर्ताहरू भने तनावमा परेका छन् । किनकि सिन्सियरको लगानी कहाँ छ ? सबैलाई थाहा भइसकेको छ । २००३, २००४ मोडलका ट्याक्सीमा लगानी गरेको सिन्सियरलाई आफ्नो कर्जा उठाउनसमेत हम्मेहम्मे परेको छ । जसका कारण बचतकर्ताहरूको रातको निद्रा र दिनको भोक हराएको छ ।

सरकारले विस्थापना गर्ने भनेको २० वर्षे पुरानो ट्याक्सीमा सिन्सियरको लाखौँ लगानी छ । बाटोमा चल्न नपाउने भएपछि ती ट्याक्सी कवाडीमा बेच्नुपर्ने हुन्छ । कवाडीमा बेच्दा बढीमा १५ हजार आउँछ । अनि सिन्सियरले कसरी आफ्नो लगानी उठाउँछ । सिन्सियरको लगानीबारे पत्तो पाइसकेका बचतकर्ताहरूलाई सिन्सियर धाउँदै ठिक्क भएको छ । आफ्नो बचत डुब्ने हो कि भन्ने तनावमा परेका छन्, उनीहरू । बचत गर्न छोडिसकेका बचतकर्ताहरूलाई पैसा निकाल्नकै हतारो परेको छ ।

आफ्नो यथार्थ बाहिर आएपछि सिन्सियरले प्रेस विज्ञप्ति निकाल्दै भन्यो, ‘हामी डुब्ने अवस्थामा छैनौँ ।’ तर ठगी लुकाउन जारी गरेको विज्ञप्तिमाथि कसले विश्वास गर्ने ? बचतकर्तालाई आफ्नो पैसा प्यारो छ, सिन्सियरको झुठ्ठा आश्वासन होइन । जनताको आँखा खुल्दा यस्ता ठगहरूको धन्दा बन्द हुन्छ भन्ने त स्पष्ट भइसकेको छ ।