मलेखुमा मन्दी, व्यवसायी पलायन हुने अवस्थामा

मलेखुमा मन्दी, व्यवसायी पलायन हुने अवस्थामा


  • विकास रौनियार, मलेखु (धादिङ)

त्रिशुली नदीको माछाका लागि प्रसिद्ध धादिङको मलेखु बजार विगतमा चौविसै घण्टा चलायमान हुन्थ्यो । पृथ्वीराजमार्गसँगैको बजारमा भएकाले यहाँका होटल तथा खाजा घरहरुमा दिनरात यात्रुले खचाखच भरिन्थे । तर, पछिल्लो समय भने मलेखु बजार सुनसान बन्दै गएको छ । आर्थिक मन्दीको प्रभाव परेको यहाँका व्यवसायीको बताउँछन् ।

मलेखु बजार भन्नासाथै थरिथरिका माछा फ्राइ गरेर पेरुङ्गामा झुण्ड्याइराखेको दृश्य पृथ्वीराजमार्ग भएर यात्रा गरेका जोकोहीको मानसपटमा आइहाल्छ । अहिले पनि मलेखुमा माछा यसरी नै राखिएको छ । तर माछाको स्वाद लिन र कोशेली लैजानेहरुको संख्या भने ह्वात्तै घटेको छ ।

यो बजार त्रिशुलीको माछाका लागि प्रसिद्ध छ । यहाँका अधिकांश ग्राहक देशका विभिन्न भागबाट राजधानी भित्रने र बाहिरिनेहरु हुने गरका छन् । तिनै यात्रुको कारण दिनरात चलायमान देखिने यो बजार पछिल्लो समय सुनसान देखिन थालेको छ भने व्यापार नै उल्लेखनीय रुपमा घटेको व्यवसायीको भनाइ छ । देशकै अर्थतन्त्रमा छाइरहेको मन्दीको प्रभाव आफूहरुको व्यवसायमा पनि परेको व्यवसायीहरु बताउँछन् ।

व्यापार हुन छाडेपछि व्यवसायीहरु पलायन हुने अवस्था छ । पहिलेको तुलनामा २५ देखि ३० प्रतिशत मात्रै व्यापार भएपनि खर्च धान्न मुस्किल पर्दा आफूहरुलाई व्यवसायमा टिक्न नै मुश्किल परिरहेको व्यवसायी राममणी कँडेल बताउँछन् ।

यहाँका होटल व्यवसायी मात्रै नभएर सँगै रहेको तरकारी, फलफूल तथा गेडागुडीको बजारमा पनि मन्दी छाएको व्यवसायीको दुःखेसो छ । स्थानीय उत्पादन पाइने यो बजारमा लोकल मास तथा अन्य गेडागुडीको दाल पनि प्रसिद्ध छ । लोकल दाल नै बिक्न छाडेको व्यवसायीको भनाइ छ । कोरानाकालमा गरिएको लकडाउनयता शिथिल बन्दै गएको व्यवसाय पछिल्ला दिनहरुमा झनै खस्किएको भन्दै व्यवसायीहरु चिन्तित छन् ।

बैंकको व्याजदर बढि हुनु र सहज रुपमा कर्जा नपाइराखेका कारण पनि अर्थतन्त्रमा मन्दी देखिएको यहाँका व्यवसायीको विश्लेषण छ । अर्थतन्त्रमा आएको मन्दीपछि बजार विस्तारै चलायमान बन्दै जाने भएकाले धैर्यता राख्न उद्योग व्याणिज्य संघ धादिङ्गले आग्रह गरेको छ ।

सरकारले उचित कदम नचालेमा व्यवसाय अझै नकारात्मक बन्दै जाने र आफूहरु सटर बन्द गरेको हिँड्ने अवस्था आउने चिन्ता व्यवसायीको छ । यसतर्फ स्थानीय सरकार एवम् संघीय सरकारकै समेत ध्यान जान आवश्यक रहेको छ ।